कविता ‘दबाइएका स्वरहरू’

  बविन्द्र रसाइली

दैनिक जसो एक हुल मान्छेहरू
हातमा तरबार, खुकुरी, बन्दुक
अनि यस्तै हतियारहरू बोकेर सडकमा छन् ।

अनि मानव रुपी जङ्गल र तिनका ओडारहरूमा
खोजिरहेका छन् क्रूर त्याे जङ्गली जनवारहरूलाई ।
त्यसले दिन दाहाडै मान्छेलाई मान्छे जस्तो ठान्दैन
उ त बलात्कार गरेर पुरुषार्थ देखाउँछ ।
उ जातका नाम मा जिउँदै जलाउन माहिर छ !
उ त्यही जातका नाम मै झुन्डाउन आँटिलो छ !

दिदी तिमी राम्री नबन ल
फेरि गिद्धे नजरले छुट गर्दैन तिमीलाई !
दैनिक खोपीको कापी एउटा सहरको बहर पढिरहन्छ !
भन्छ कापीमा लेखिएको अक्षरमा आरनको गन्ध छैन
अनि कापीको लाज मज्जाले ढाकिने गरी सियो उनिएको छैन !
कापीका अक्षरहरू लाजले भुतुक्क छ !
कहाँ त्यहाँ कापी गाउँमा जान सक्छ !

मिल्दोजुल्दो अझ सम्म मिल्दो जुत्ता भेटिएको छैन
भन्दै टार्छन् ती १० देखि ४ बजे सम्म
बस्ने ढाडमा आड भएका मूर्तिहरू!

अनि तिमीलाई थाह छ ?
कपडा सिलाऊ तिमी नाङिनु छ !
खुकुरी बनाऊ तिमी दैनिक काटिनु छ !
बुट बनाऊ तिमी !
तिम्रै ढाडमा हरेक प्रहरमा झारिनु छ ।

ए एक हुल मान्छेहरू बन्द गर !
तिम्रा ती कागजका हतियारहरू !
अब तिम्रा अनि हाम्रा हातहरूले मागिरहेछ
इतिहासको जित निर्माण गर्ने वास्तविक हतियारहरू ।


                             अरुण गाउँपालिका, याकु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार