पहिला गाउँमा
साउने सक्रति आउनु
हप्ता-दश दिन अघि देखि
टोल टोलका किरातीहरुको
टुकडी भइ सक्रिय हुन्थे ।
ओल्लो गाउँ, पल्लो गाउँ
तल्लो गाउँ, माथ्लो गाउँ
सारा क्षेत्री-बाहुन टोल चाहारेर
राँगा, थारो भैंसीको जोहो हुन्थ्यो ।
असार मसन्तकै दिन
लाठ्ठेहरुले राँगा-भैंसी ढालेर
धार्नी, विसौली, आठपोल
मासु तौलिने जोख्ने सवालै नहुने
बरु घरलौरो गन्ती गरी
ढक्क भेजो भाग लगाएर
अरुबेला झैँ चोयामा खिलेर नि होइन
डोको-डोकामा मासु भित्रिन्थ्यो
घर घरमा
अनि भित्रिन्थ्यो साउने सक्रति
थ्याप्लो, ढिँडो होस् की जाउलो
अन्न भन्दा ज्यादा मासु
भक्कु खानु खाइन्थ्यो ।
कराङकुरुङको संकेतसँगै
बालिनाली छर्ने, रोप्ने
गोलमेल-मेलापात
एकसरो काम सकाएको
जीर्ण वर्षेज्यानलाई
खाएरै पिएरै तङराउने
साउने सक्रति नै त हो====।
कथा जस्तै यी सारा सुनाउनुहुने
हाम्रो घरकी कोमा
अहिले त माङ भइसक्नुभो
तर म बाँचिन्जेल त सम्झीरहन्छु
कोमा अनि कोमाको साउने सक्राति ।
आजकल
कोमा भन्दा दुइपुस्ता कान्छी
मेरै घरकी संगिनी
साउने सक्रतिकै दिन
हरियो चुरापोते, हरियै सारी-चोली
पहिरनमा सजिएर
मलाइ नै सचेत गराउँदैछिन्
साउनमा त मासु खानु हुन्न है
तब
घरमा त मासु पाक्ने कुरै रहेन
बाहिरफेर होटल उँधि
झुक्किएर खाइजानुहोला नि
बारबार सम्झाउँदैछिन्
अचम्म छ
हना
कसले भन्यो साउनमा
मासु खानु हुँदैन… भनेर ?
हो
पहिला जवाफ पाउँ
अनि बल्ल जाउँला बजार
तिमले भनेको
हरियो पेन्टी र ब्रा किन्न …
पौवादुङमा, भोजपुर