चेखभको कथाः प्रेमका कुरा


भोलिपल्ट बिहानको खानामा पाई थियो, क्रे माछा थियो र खसीको मासुको कटलेट थियो । हामीले खाना खाइरहेको बेला भान्से निकानोर आयो र पाहुनाहरू साँझको खानामा के खान चाहन्छन् भनेर सोध्यो । मध्यम कदको मान्छे, उसको अनुहार पाउरोटीजस्तो भुक्क फुलेको थियो । आँखा चिम्सा, जुँघा चिटिक्क पारेर काटेको । दाह्री भने काटेको भन्दा पनि जरैबाट उखेलेको जस्तो देखिन्थ्यो । अलेहिनले मलाई भन्यो, त्यो सुन्दरी पेलागया यही भान्सेलाई माया गर्छे । ऊ रक्स्याहा थियो र उग्र व्यवहार गथ्र्यो । त्यसैले पेलागया ऊसँग बिहे गर्नचाहिँ इच्छुक थिइन, तर ऊसँगै “त्यसै” बस्ने भन्नेमा चाहिँ ऊ राजी थिई । निकानोर भने कट्टर थियो, र उसको धार्मिक आस्थाले यसरी अनैतिक रूपमा परस्त्रीसँग बस्न दिँदैनथ्यो । ऊ बिहे गरौँ भन्थ्यो, र बिहे नगरी कुनै पनि नैतिक सीमा नाघ्न राजी हुँदैनथ्यो । विशेषगरी रक्सी खाएको बेला । त्यसैले पनि ऊ पेलागयालाई होच्याउँथ्यो र हातपात पनि गथ्र्यो । उसलाई मातेको देखेपछि पेलागया भने माथि बुइँगलमा लुकेर स्याँस्या गर्थी र यस्तो परिस्थितिमा अलेहिन र उसका नौकरहरू घरैमा तैनाथ बस्ने, र परिआएको खण्डमा उनको सुरक्षाका लागि तयार रहन्थे ।

हामी प्रेमको बारेमा कुरा गर्न थाल्यौँ ।

०००

“प्रेमको जन्म नै कसरी भयो ?” अलेहिनले सुरु गर्‍याे ।

ऊ भन्दै गयो, “यो पेलागयाले अध्यात्मिक र बाहिरी दुवै गुणमा आफू सुहाउँदो कसैसँग किन बिहे नगरेकी होली? ऊ किन निकानोरजस्तो कुरूप थुतुनोसँग माया गरेकी होली? हामी सबै निकानोरलाई ‘थुतुनो’ भन्छौँ । प्रेममा व्यक्तिगत खुसीको प्रश्न कत्तिको महत्वपूर्ण हो? यो सबै कुरा त हामीलाई थाहै छ । यसमा जसलाई जे लाग्छ, त्यस्तै धारणा राखे भैगो । आजसम्म प्रेमका बारेमा एउटामात्रै अकाट्य सत्य भनिएको छः कि प्रेम एउटा महान रहस्य हो ।

जबजब म सहर जान्थेँ, म हरेकचोटि उनका आँखामा मेरो आगमनको प्रतीक्षा देख्थेँ । हामी दुवैले एक अर्काप्रतिको माया अभिव्यक्त गरेनौँ । बरु लजाउँदै, डाहा गर्दै त्यसलाई लुकाइरह्यौँ, छुपाइरह्यौँ । हाम्रो गोपनीयताको पर्दाफास गर्न सक्ने सबै कुराको डर थियो हामीलाई

प्रेमका बारेमा भनिएका अथवा लेखिएका अन्य सबै कुरा कुनै निचोड होइनन्, केवल प्रश्नहरूमात्रै हुन्, जसको उत्तर आजसम्म पनि भेटिएको छैन । एउटा सन्दर्भमा उपयुक्त लागेको व्याख्या अर्को सन्दर्भमा बेमेल होइदिन्छ, र मेरो विचारमा, सबैभन्दा सुन्दर समाधान भनेको प्रेमका फरक फरक प्रसङ्गलाई विशिष्ट मानेर हेर्नुपर्छ र समान्यीकरण गर्ने प्रयास नै गर्नुहुन्न । चिकित्सकहरूले भन्ने गरेझैँ प्रत्येक अवस्थालाई छुट्टै मानेर हेर्नुपर्छ ।”

“सत्य कुरा,” भन्दै बर्किनले सहमति जनायो ।

“हामी पढेलेखेको वर्गका रसियालीहरू अनुत्तरित रहेका यी प्रश्नका बारेमा पनि अलिकति विभेद राख्छौँ । प्रेमलाई प्रायः कविताजस्तो बनाइदिन्छौँ, गुलाफ र जुरेलीको गीतले सजाइदिन्छौँ । हामी रसियालीहरू प्रेमलाई यस्तै यस्तै क्षणिक प्रश्नले सजाइदिन्छाैं, र यीमध्यै सबैभन्दा कम रोचक कुराको पक्षमा पनि उभिन्छौँ ।’

“मस्कोमा, जब म विद्यार्थी थिएँ, मेरी एक सुन्दर सँगिनी थिइन् । जबजब म उनलाई अँगालोमा लिन्थेँ, उनी अरु नै केही सोचिरहकी हुन्थिन्ः घरको हेरचाह गरेवापत् मासिक कति पैसा थपिदिने हो, अथवा बजारमा मासुको मूल्य कति भएको हुँदो हो, आदि ! यसरी, जब हामी प्रेममा हुन्छौँ, हामी आफैँलाई प्रश्न सोधेर थाक्दैनौँः यो सम्मानजनक छ कि अपमानजनक, यो बौद्धिकतापूर्ण हो कि मूर्खतापूर्ण हो, यस प्रेमले कहाँ पुर्‍याउने हो, आदि । मलाई पनि थाह छैन यो राम्रो चीज हो वा खराब, तर मलाई पक्का थाह छ कि यो असन्तोषजनक छ, तथा दिक्कलाग्दो छ ।”

कुरा सन्दा लाग्थ्यो, अलेहिन कुनै कथा भन्न गइरहेको छ । एक्लो जीवन बाँच्नेहरूसँग सदैव मुटुभित्र कुनै न कुनै कथा गान्निएको हुन्छ, जो उनीहरू मौका पाउँदा सुनाउन चाहन्छन् । सहरमा अविवाहित पुरुषहरू स्नानघर अथवा रेष्टुराँ जान्छन् गफ गर्ने उद्देश्यले, र कहिलेकाहीँ स्नानघर र रेष्टुराँका परिचारकलाई चाखलाग्दा कुरा सुनाउँछन् । गाउँमा, नियमैले नै भनौँ, उनीहरू मनको बह पाहुनाहरूसँग खोल्छन् ।

यस बेला झ्यालबाट बाहिर हेर्दा धूमिल देखिन्थ्यो आकाश, रुखहरू सबै वर्षात्को पानीमा भिजेका थिए । यस्तो मौसममा बाहिर कतै जाने कुरै भएन । हामीसँग कथा सुन्नु र सुनाउनुबाहेक कुनै अर्को काम भएन हातमा ।

अलेहिनले कथा अगाडि बढायो ।

०००

म सोफिनोमा बस्दै आएको छु, र लामो समयदेखि खेतीपाती गर्दै आएको छु । मैले विश्वविद्यालय छोडेकै समयदेखि यसो गरेको हुँ । पढाइका हिसाबले म साह्रै अल्छे होइन, सुविधाका हिसाबले अलि पढन्ते पनि हुँ ।

जब म पढेर गाउँ फर्किएँ, जमिनमा परेको बन्धकीको ठूलो ऋण थियो हाम्रो टाउकोमा । मेरो पढाइको खर्च जुटाउनका लागि बुवाले ऋण लिनुभएको रहेछ । त्यसैले, मैले अब सहर नजाने, र यतै काम गरेर ऋण तिर्ने निधो गरेँ । यस्तै मनस्थिति बनाएर म काममा लागेँ, यद्यपि मभित्र गुनासो ठ्याम्मै नभएको भने होइन । यहाँको जमिनमा उब्जनी खासै हुँदैन । बालीमा घाटा नखाने हो भने आफैँले श्रम लगानी गर्नुपर्छ । हाँजिराका खेतालासँगै आफू पनि जमिनमा खटिनुपर्छ । अर्को कुनै मध्यमार्ग छैन । तर तिनताका म आफैँचाहिँ यो हदसम्म गइनँ । छिमेकी गाउँका सारा खेताला जम्मा पारेँ, जसमा महिला र पुरुष दुवै सामेल थिए । युद्धस्तरमा काम चल्यो । नफोरेको एउटै डल्लो छोडिएन । मैले आफैँ पनि हलो जोतेँ, बीउ छरेँ, बाली उठाएँ । यसो गर्दा दिक्क पनि लाग्यो, र रिसले मुर्मुरिँए पनि — गाउँको बिरालोजस्तो, जो भोकाएको छ, तर खानलाई करेसाबारीमा काँक्राबाहेक केही भेट्दैन ।

जीउ दुख्थ्यो । हिँड्दाहिँड्दै निदाउँथेँ । सुरुमा त मलाई लागेको थियो, मेरो परिस्कृत सहरिया जीवनशैलीसँग म यो गाउँले जीवनलाई सहजै समायोजन गर्न सक्छु । यसो गर्नका लागि कुनै प्रकारको बाहिरी सन्तुलन कायम गरे पुग्छजस्तो लाग्थ्यो । घरमा मैले आफ्नो लागि माथिल्लो तलाको सबैभन्दा सुविधासम्पन्न कोठा रोजेँ । बिहानबेलुकाको भोजनपछि कफी र मदिरा त्यहीँ ल्याउन अह्राए कामदारहरूलाई । सुत्तुअघि सधैँ येस्निक एभ्रोपीका भन्ने पत्रिका पढ्ने बानी बसालेँ ।

एक दिन हाम्रा पादरी, फादर इभान आएछन् र मेरो लागि राखिदिएको सबै मदिरा एकै बसाइमा पिइदिएछन् । र, येस्निक एभ्रोपीको मैले पढ्दैगरेको अङ्क लगेर छोरीलाई दिएछन्, । यो बाली उठाउने व्यस्त बेलाको कुरा हो । यसरी माथिल्लो कोठामा साहेब बनेर सुत्ने मेरो उपक्रम विफल भयो । म अन्ततः जमिनमा फर्किएँ, गाइगोठमै सुत्न थालेँ, खेतमा, अथवा बनपालेको झुपडीमा । अब त कसरी पढ्न सक्नु? बिस्तारै बिस्तारै म माथिबाट तल जमिनमै ओर्लिएँ, नोकरहरूकै भान्सामा खान थालेँ । मेरो पुरानो विलासमा अब बुबाकै समयदेखि हामीसँगै बस्दैआएका केही नोकरबाहेक केही पनि बाँकी रहेन । यसरी बाँकी रहेका नोकरहरूलाई निकाल्नु पनि दुःखद हुने थियो ।

गाउँ फर्केको पहिलो वर्ष नै मलाई शान्ति परिषद्को मानार्थ न्यायाधीशमा नियुक्त गरियो । मलाई परिषद्का सत्रहरूमा तथा सर्किट न्यायालयका बहसहरूमा भाग लिन सहर गइरहनुपथ्र्यो । मलाई पनि हावा–पानी फेरिने हुनाले रमाइलो लाग्थ्यो । गाउँमै अविच्छिन्न रूपमा दुईतीन महिनासम्म बसिरहनु, त्यो पनि हिउँदको समयमा, दिक्क लाग्न थाल्थ्यो । मलाई कालो कोटको न्यास्रो बेस्सरि लाग्न थाल्थ्यो । सर्किट अदालतमा फ्रक–कोट लगाएका र ड्रेस–कोट लगाएका तमाम अधिवक्ता भेटिन्थे, र कुरा गर्नलाई म कोही न कोही फेला पारिहाल्थेँ । लामो समयदेखि गाडामा सुतेर र कामदारको भान्सामा खाएर आएको मान्छेलाई सुकिला लुगा लाउनु, आर्म चेयरमा बस्नु, सफा जुत्ता लगाउनु, साङ्ली भएको इस्टकोट लगाउनु—एउटा छुट्टै आनन्दको विषय थियो ।

सहर पुग्दा मैले न्यायो स्वागत पाएँ । केहीसाथी बनाएँ । मेरा साथीभाइमध्ये सबैभन्दा नजिक, र साँच्चै भन्ने हो भने सबैभन्दा कुरा मिल्ने लुगानोविच भए, जो सर्किट कोर्टका उपाध्यक्ष थिए । उनलाई तिमी दुईजना पनि चिन्छौ नि, क्या गजबको व्यक्तित्व छ उनको । एकपल्ट यस्तो भयो कि आगजनीको एउटा मुद्दाको सुनवाइ दुई दिनसम्म चल्यो । हामी थकित भयौँ । लुगानोविचले मलाई हेरे र भने, “यसो गरौँ । खाना खान मकहाँ नै आउनुस् ।”

यो अनपेक्षित कुरा थियो । मैले लुगानोविचलाई अलिअलिमात्रै चिनेको थिएँ, त्यो पनि कार्यालयीय हिसाबले । उनको घर त म कहिल्यै गएको थिइनँ ।

म होटलमा गएँ, लुगा फेरेँ, र खाना खान उनका घर गएँ । त्यहाँ, सौभाग्यले मैले उनकी श्रीमती अन्ना एलेक्जेभ्नालाई भेट्ने सौभाग्य पाएँ । त्यो बेला उनी अझै जवान थिइन् । सायद बाइसभन्दा बढी थिएन उनको उमेर । उनको पहिलो बच्चो भर्खरै छ महिनाको भएको थियो । तर यो भयो उनको विगतको कुरा । हाल उनमा त्यस्तो विलक्षण कुरा के थियो, त्यसको व्याख्या गर्न मलाई निकै गाह्राे भइरहेको छ । उनमा केही त थियो, जसले मलाई अति नै आकर्षित गर्‍याे । तर भोजनको बेला मैले त्यो रहस्य थाह पाएँ । उनमा मैले एक सुन्दर महिला देखेँ, जो सतगुणी थिइन्, बौद्धिक थिइन्, र सारै फरासिली । उनीजस्ती महिला मैले कहिल्यै भेटेको थिइनँ विगतमा । पहिलो भेटमै मलाई उनी नजिकको कोही, पहिल्यैदेखि चिनेजानेको कोहीजस्तो लाग्यो । त्यो अनुहार, ती संवेदनापूर्ण र तीक्ष्ण आँखा, मैले पहिल्यै, बाल्यकालमै देखे जस्तो, जाने जस्तो—मेरी आमाको कुनै घर्रामा रहेको अल्बमभित्रको कुनै तस्बिरमा देखेजस्तो ।

त्यस आगजनीको मुद्दामा हाम्रो अदालतले गुण्डागर्दी गरेबापत चारजना यहुदीलाई सजाय सुनाएको थियो । मेरो दिमागमा यो निर्णय आधारहीन छ भन्ने त लागिरहेको थियो । साँझ खाना खाँदा म निकै उत्साहित थिएँ, तर केही संकुचित पनि । खै मैले के भनेछु, अन्नाले टाउको हल्लाउँदै उनको लोग्नेलाई भनिन्, “दिमित्री, यो कस्तो निर्णय गरेको तिमीहरूले?”

हुन त लुगानोविच एक सत्चरित्रका पुरुष हुन्—ती सज्जनमध्येका एक, जो यो सोच्छन् कि एकपल्ट अभियुक्त मानेर अदालतमा उभ्याइएको मान्छे दोषी नै हुन्छ, र अदालतले सुनाएको सजायका विषयमा शङ्का गर्नका लागि कानुनी, त्यो पनि लिखित माध्यम चाहिन्छ, साँझको खानामा गफ गरेर अथवा निजी कुराकारी गरेर हुँदैन ।

“त्यस ठाउँमा आगो लाएको तिमीले र मैले होइन क्यारे,” उनले विनम्रतापूर्वक भने । “सजाय हामीले पाएका छैनौँ । हामी जेल गएको छैनौँ ।”

लोग्नेस्वास्नीले नै मलाई खूब ख्वाउने र प्याउने कोशिस गरे । ससाना कुरामा, कफी बनाउने काममा, आधा बोल्दै एकअर्कालाई बुझ्ने कुरामा उनीहरूको अभ्यास देखेर मैेले बुझेँ, उनी दुईबीच गज्जबको सुझबुझ र सहजता थियो, र पाहुनाका बारेमा दुवैजना खुसी थिए । खाना खाइसकेपछि पियानो बजाएर दुवैजनाले युगल गीत गाए । त्यसपछि रात छिपियो, र म होटल फर्किएँ । यो वसन्तको सुरुवातकै समयको कुरा थियो ।

सहरबाट गाउँ फर्केपछि मैले पूरै बर्खा सोफिनोमै बिताएँ, बिना कुनै छुट्टी । सरहको त सम्झना गर्ने पनि फुर्सद भएन मसँग । तर हरेक दिन ती कान्तिमति, सुनौलो कपाल भएकी महिलाको सम्झना भने आइ नै रह्यो । हुन त मैले उनका बारेमा सोच्न खोजेर यस्तो भएको होइन, तर पनि उनको हलुङ्गो छाया नै मेरो मुटुमाथि बसेको जस्तो लागिरह्यो ।

शरद ऋतु लागेपछि सहरमा कसैको सहयोगार्थ एउटा नाटक मञ्चन हुने भएछ । म पनि गएँ नाटक हेर्न । मध्यान्तरमा गोभर्नर बसेको ठाउँतिर यसो आँखा डुलाएँ । त्यहाँ अन्नालाई पनि देखेँ, गभर्नरकी श्रीमतीसँगै बसेकी । उनको अनुहारमा उही उद्वेगपूर्ण कान्ति, उही सौन्दर्य र उही माधुर्य थियो । आँखा उत्ति नै प्रेमिल, र मनमा उस्तै निकटताको भाव । हामी केहीबेर सँगसँगै बस्यौँ, र बाहिर प्रवेशद्वारनिर निस्कियौँ ।

“अलि कमजोर हुनुभएछ,” उनले भनिन् । “बिरामी हुनुभाथ्यो र?”

“अँ ।काँधमा बाथ छ । बर्खामा त सुत्नै सक्दिनँ ।”

“अलि थकित देखिनुभाछ । अस्ति हाम्रा घर खाना खाना आउँदा त रातोपिरो देखिनुभाथ्यो — अझ जवान र आत्मविश्वासपूर्ण । कति ऊर्जाशील हुनुहुन्थ्यो, र कति गफ पनि गर्नुभयो । सारै रमाइलो । मैले साँच्चै भन्नुपर्छ, मेरो त मनै जित्नुभाथ्यो । खै के कारणले हो, बर्खाभरि मैले सम्झिरहेँ तपाईंलाई । आज पनि यो नाटक हेर्न आउनलाई तयार भइरहँदा तपाईंलाई पो कतै भेटिहाल्छु कि भनेर कल्पना गरेकी थिएँ ।” यति भनेर उनी मुसुक्क मुस्कुराइन् ।

“तर तपाईं आज थकित देखिनुभाछ,” उनले फेरि भनिन् । “अलि बूढो पनि ।”

भोलिपल्ट पनि मैले लुगानोविचकैमा खाना खाएँ । खानापछि उनीहरू गाडीमा आफ्नो बर्खे घरतिर लागे, आर्काे यामको तयारीका लागि । म पनि उनीहरूसँगै गएँ । पछि उनीहरूसँगै सहर पनि फर्किएँ । मध्यरातमा, पूरै घरेलु वातावरणमा उनीहरूसँगै चिया पिएँ । आगो बलिरह्यो । ती जवान आमा, आफ्नी सानी छोरी मज्जाले सुतिरहेकी छ कि छैन भनेर हेर्न पटकपटक गइरहिन् ।

यसपछि, जबजब म सहर गएँ, म उनीहरूका घरको बाटो काट्नै छोडेँ । उनीहरू मसँग बानी परे, म उनीहरूसँग । नियमै भयोः म खबरै नगरी जाने, मानौँ, म त्यसै घरको एउटा सदस्य हुँ ।

“को आको छ?” भनेर सोध्ने गथ्र्यो टाढाको कुनै कोठाबाट आउने एउटा मधुर र प्रेमपूर्ण आवाज ।

“ए, पाभेल कन्स्टेन्टिनोविच हुनुहुँदोरहेछ,” भनेर भन्थी कुनै नोकरनी अथवा सुसारे ।

अनि अन्ना, मलाई भेट्न कौतुहलपूर्ण अनुहार लिएर आउँथिन्, र सधैँ सोध्थिन्, “किन यत्तिका दिनपछि आउनुभाके? केही भएको थियो र?”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार