भोजपुरमा व्यक्तिगत रिसिबीका कारण वडाध्यक्षले गरे बृद्धमाथि निर्मम कुटपिट


भोजपुर । सामान्य विवादमा भोजपुरमा एकजना वडाध्यक्षले बृद्धमाथि निर्मम कुटपिट गरेका छन् । भोजपुर नगरपालिका वडा नं १ का वडाध्यक्ष जिरामणि राईले स्थानीय ६२ वर्षिय लोकबहादुर राईलाई मरणासन्न हुनेगरि कुटपिट गरेका हुन् ।
शुक्रबार विहान भोजपुर नगरपालिका १, डाँडाबोखिमको मिलडाँडास्थित सामान्य विवादमा वडाध्यक्ष राईले श्रीमतीसंग मिलेर कुटपिट गरेका थिए । राईले घरायसी विवादमा लोकबहादुरलाई रगताम्मे हुनेगरि कुटपिट गरेका हुन् । राई गत स्थानीय तहको चुनावमा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
छोरा सुगेन राईले चलाएको २० हजार रुपैँया ऋण नतिरेको भन्दै वडाध्यक्ष राई र उनकी श्रीमती बृन्दा राई मिलेर निर्मम कुटपिट गरेको लोकबहादुरका भाई मच्छिन्द्र राईले बताए । निर्मम कुटपिटबाट लोकबहादुरको देब्रेपट्टिको कानको जाली फुटेको पारिवारीक श्रोतले जनाएको छ । ज्यान मार्ने धम्कीसहित वडाध्यक्ष राईले आफुलाई कुटपिट गरेको पिडित लोकबहादुरले बताए ।
‘छोराले चलाएको ऋण तिर्न ढिला भएको भन्दै श्रीमतीसंग मिलेर ढुंगाले कञ्चटमा प्रहार गरे’ पिडित राईले भने । घटनापछि घाईते राईलाई शनिबार उपचारका लागि जिल्ला अस्पताल ल्याईएपनि अस्पतालले अवस्था गम्भिर भएका कारण उपचार गराउन बाहिर लैजान निर्देशन दिएपश्चात रिफर गरेको थियो । उनको टाउको र कानमा गम्भिर चोट लागेको छ ।
यता घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी सरोज घिमिरेले कुटपिटको विषयमा अनुसन्धान भईरहेको र दुई पक्षलाई राखेर मात्रै कानुनी कारबाही अगाढी बढाईने बताए ।
प्रहरीले जाहेरी लिन मानेन
घटनापछि पिडित परिवारले जिल्ला प्रहरीमा उजुरी दिन खोजेपनि प्रहरीले चुनावपछि आउनु भन्दै जाहेरी लिन नमानेको पिडितको गुनासो छ । चुनावको चटारो भन्दै पिडितको जाहेरी लिन नमानेको पिडित लोकबहादुरले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार