प्रदेश १ का मन्त्री तथा प्रदेशसभाका उम्मेद्वार शेखरचन्द्र थापाको निधन


विराटनगर । मोरङ क्षेत्र नम्बर ३ (क) को प्रदेशसभाका उम्मेद्वार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको आज बिहान निधन भएको छ ।
नोबेल अस्पतालमा उपचार गराइरहेका थापा एक महिना अगाडिदेखि निमोनियाले ग्रसित थिए ।
नोबेल मेडिकल कलेजका डाइरेक्टर राजेश नेपालले दिएको जानकारी अनुसार उनको आज बिहान १० बजेर ४० मिनेटमा निधन भएको हो । उनको निधन भएसँगै मोरङ क्षेत्र नम्बर ३ (क) प्रदेशसभाको निर्वाचन स्थगित हुने भएको छ । थापा सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसबाट उम्मेद्वार बनेका थिए ।
असोज २३ गते उम्मेद्वारी दर्ता गराउँदा नै उनी बिरामी थिए । भोलिपल्ट असोज २४ गते उपचारकालागि नोबेल अस्पताल भर्ना भएका उनलाई त्यहाँ उपचार हुन नसकेपछि असोज २७ गते हेलिकप्टरबाट काठमाडौंस्थित ह्याम्स अस्पताल लगिएको थियो । उक्त अस्पतालमा १७ दिन आइसियु र ५ दिन वार्डमा राखेर उपचार गरिएको थापाका सहयोगी ज्ञानु कट्वालले बताए ।
थापालाई क्याप्सिका निमोनिया भएको थियो । उनलाई दुई दिन अगाडि बेड रेस्टको लागि भन्दै नोबेल अस्पताल ल्याइएको थियो । ५८ वर्षीय थापाको श्रीमती लक्ष्मी कार्की र छोरा सुलभ थापा छन् । २०५७ सालदेखि लगातार ८ वर्षसम्म गिरिजाप्रसाद कोइरालाको पर्सनल असिस्टेन भएर काम गरेका थापा हाल प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री थिए । उनलाई सो क्षेत्रमा सादगी र आदर्शवान नेताको रुपमा सर्वसाधरणले लिने गर्दछन् ।
२०७० सालको संविधानसभा निर्वाचनमा मोरङको सोही क्षेत्रबाट लडेका उनी तत्कालिन एमाले नेता चण्डी राईसँग पराजित भएका थिए । ०७४ सालमा काँग्रेसबाट उनी प्रदेशसभामा समानुपातिक कोटाबाट आएका सांसद बनेका थिए । प्रत्यक्ष निर्वाचन लडेर चुनाव जित्ने उनको इच्छा थियो । सोही अनुसार यसपटक मोरङ ३ (क) बाट उम्मेद्वारी दिएका थापाको इच्छा भने पूरा हुन सकेन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार