हतुवागढी गाउँपालिकाको पहिलो निर्णयः ६५ वर्षभन्दा माथिकालाई निःशुल्क एम्बुलेन्स सेवा


भोजपुर । हतुवागढी गाउँपालिकाले गाउँपालिका क्षेत्र भित्रका ६५ वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधीको सपथ ग्रहणसंगै गाउँपालिकाले यस्तो निर्णय गरेको हो ।
गाउँपालिकाका सबै क्षेत्रका शारिरीक रुपमा अशक्त ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा पहुँचलाई सहज बनाउन गाउँपालिकाले गाउँपालिकाको केन्द्र घोडेटारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र घोरेटारसम्म निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको हो । भौगोलिक रुपले विकट गाउँपालिकाका दुर्गम क्षेत्रका ६५ वर्ष उमेर कटेका ज्येष्ठ नागरिकको स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राखेर उक्त निर्णय गरिएको गाउँपालिका नवनिर्वाचित अध्यक्ष प्रेमकुमार राईले बताए ।
‘शारिरीक र स्वास्थ्यको दृष्टिकोणले संवेदनशिल उमेरका ज्येष्ठ नागरिकको सहजताका लागि हाम्रो गाउँपालिकाले यो पहिलो निर्णय गरेको हो’ अध्यक्ष राईले भने, ‘दोश्रो कार्यकालको सुरुवाती पहिलो कदम नै निःशुल्क स्वास्थ्य सेवा पहुँचलाई सहज बनाउने तर्फ लागेका छौँ’
साथै गाउँपालिकाले रेफर गर्नुपर्ने किसीमका विरामीलाई हतुवागढी गाउँपालिका ९, हसनपुरको मचुवा, कोप्चे, चुहारसम्म नियमित एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेको छ । यस्तै गाउँपालिका क्षेत्रका गर्भवती महिलाहरुलाई स्वास्थ्य संस्थासम्म आउने र नियमित स्वास्थ्य परिक्षणपश्चात प्रशुति गराउने गर्भवती महिलालाई जनही ५ हजार रुपैँया पोषण सुधारस्वरुप नगद पनि प्रदान गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाको पहिलो प्राथमिकतामा दुर्गम भेगका नागरिकको स्वास्थ्य सेवालाई पहिलो प्राथमिकता दिईएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुमार शाक्यले बताए । भने, ‘नयाँ जनप्रतिनिधीको आवागमनसंगै गाउँपालिकाले गरेको यो पहिलो निर्णयले नागरिकमा उत्साह थपिएको छ, दुर्गम क्षेत्रमा स्वास्थ्य सेवालाई सहज बनाउनु नयाँ जनप्रतिनिधीको प्रभावकारी र पारदर्शी कदम हो’
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा ९ वडा रहेको उक्त गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेको तर्फबाट प्रेमकुमार राई र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र (गठबन्धन) की सुनिता राई निर्वाचित भएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार