तिज, कोरोना र झरी

  बाबुराम बास्तोला

कोरोना भाइरस (कोभिड–१९) का कारण मुलुक यति बेला आक्रान्त छ । देशका पुरै भागमा सायद कारोना नभएको ठाउँ छैन होला । यस्तो अवस्थामा नेपाली नारीहरूले तिज पर्व मनाउँदै छन् । कोरोनाले गर्दा यस वर्ष तिजको रौनक पहिलाजस्तो छैन । कोभिडको असर हुँदैन थियो भने आजको दिन तिजको रौनक नै अर्कै हुने थियो । यस बर्षको तिज पनि कोभिड १९ अर्थात विश्वव्यापी रूपमा फैलिएको कोरोना भाईरसबाट टाढा हुन सकेन । देश लकडाउन देखि निषेधाज्ञा सम्म केन्द्र देखि स्थानिय तह सम्मको अवस्था दयनिय छ । कोरोना नियन्त्रणमा सहयोग पुराउन भन्दै स्थानिय प्रशासनहरू हुलहुज्जत नहुन र आ–आफ्नै घरमा नै चाडपर्व मनाउन अनुरोध गरिरहेका छन् । विगतका वर्षमा षडानन्द नगरपालिका अन्तरगत दिङ्ला बजार लगायत आसपासका बजारहरुमा महिला दिदि बहिनीहरु सामुहिक रुपमा भेला भएर नाच्ने गाउने गरेको पाइन्थ्यो । दिङ्ला स्थित भलिवल खेल मैदानमा विशेष कार्यक्रम नै हुन्थ्यो । तर यस वर्ष भने सुनसान भएको छ । त्यसको कारण हो कोरोना र झरी । यस वर्ष कोरोना मात्रै नभएर झरीले समेत तिजलाई प्रभाव पारेको छ । विगतका वर्षहरुमा टन्टलापुर घाममा तिजको गितमा महिला दिदि बहिनीहरुले नाच्दा सायदै बजार नै रनघन हुन्थ्यो तर यस वर्ष निरन्तरको झरी र कोरोनाले न घर बाहिर निस्कन दियो न त नाच्न नै न सामुहिक रुपमा भेला भएर दुख सुखका कुरा साट्न नै ।
विगतमा तिजको रहर आयो बरी लै जस्ता भाकाहरुमा दिदिबहिनीहरु नाचिरहेका देखिन्थे तिजको दिन । तिजको ब्रत बस्ने दिन तल्लो घर माथिल्लो पल्लो घर वा वल्लो घर वा गाउ बजारमा टाढा टाढा बाट माइत आएका चेलिवेटी वा माइत जान नपाएका दिदिबहिनी जम्मा भइ गित गाएर नाज्दा कति रमाइलो हुन्थ्यो । आफ्ना पिरब्यथा, सुखदुखका अनुभवहरु, साटासाट गर्दै नाचेको देख्दा जो कोहिको मन कसो फुरुङ्ग हुदैन थियो होला ।
गाउका चेलीहरु माइती सम्झेर बर्ष दिनमा बाबाआमा भेट्न आउने, आफ्ना पुराना समकालिन साथी सगी भेट्ने, तिजका रमाइला गित गाउने नाच्ने गर्दा गाउ नै उल्लासमय हुन्थ्यो । बर्षभरीका दुखसुख माइती सग साट्ने, दुइदिन भए नि रमाइलोसग समय काट्ने अवसर हुन्थ्यो तीज । तर यस वर्ष कोरोना र झरीले न माइत आएन नै दियो न माइत जान नै न त भेला भएर नाच्न नै दियो ।
नेपाली नारीहरूको महान् धार्मिक पर्वका रूपमा लिइने हरितालिका व्रतमा पतिको लामो आयुको कामना गरी निराहार व्रत बसेर रातभर आफ्नो अटल सौभाग्यको प्रतीकस्वरूप दियो, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्ण पात्र गरेर व्रत तोड्ने परम्परा छ। नेपाली नारीहरुको माहान पर्व हो तिज । नेपालमा यस पर्वलाई विशेष तामझामका साथ मनाईदै आईएको छ । तिजले आपसमा सहिष्णु सस्कृतिको विकाश गर्न मद्यत गर्छ । खासगरि माईति र घर वा दाजुभाई र दिदिबहिनीहरुका विचमा आपसमा मित्रता र विशेष प्रकारको सम्बन्धको व्याख्या गरेको पाईन्छ ।
यस पर्वले दाजुभाई दिदीबहिनीहरुको मित्रता अकाट्य भएको देखाउन खोजेको छ । अर्कोतिर स्थानियस्तरमा विभिन्न सास्कृतिक प्रस्तुतिमा आम महिला दिदीवहिनीहरुले आफ्ना बर्षभरिका पिडा व्यथाहरु ओकल्ने र समुदायभरका महिलाहरुका विचमा सुमधुर सम्बन्धको विकाश गर्न मद्यत पुगेको छ ।
कोरोनाबाट बच्न सामाजिक दुरीर भौतिक दुरी कायम गर्नुपर्ने हुन्छ । नाच्ने गाउने भिडभाड नाच्नेगाउने त निकै टाढाको बिषय भएको छ । हुनत कोरोनाले प्रविधि संग सबै मानिसलाई नजिक पनि बनाएको छ । तिजमा माइतीघर गएमात्रै बाबाआमा, दाजुभाइ, दिदिबहिनीसंग भेटघाट हुने कुराकानी गर्न पाउने भन्ने अवस्थाको लगभग अन्त्य भइसकेको छ । अहिले टेलिफोन, इन्टरनेट तथा विभिन्न सामाजिक सञ्जालका माध्यमबाट सञ्चार सम्पर्क स्थापित हुन्छन् ।
नेपालसहित विश्वभर नै कोरोनाको खतरा कायम नै रहेको हुँदा हाम्रा परम्परा तथा सांस्कृतिक मूल्य मान्यता जोगाउन पनि हामी सजग रहन आवश्यक देखिएको छ । तर, महामारीलाई परास्त गर्नका लागि हाम्रा चाडपर्व त्याग्नुको सट्टामा वैकल्पिक उपायहरु अपनाउन सकिन्छ ।
यसको अर्थ परम्परानै नमान्ने भन्ने होइन, तिज मनाउनको लागि धेरै भीडभाड गरेर तडकभडक देखाएर मात्रै मनाउन सकिने होइन, सुरक्षित तरिकाले सामान्य रुपमा पनि तिज मनाउन सकिन्छ ।
कोरोनाको भयावह अवस्थामा गुज्रिएका हामीले चाडपर्वको महिमा महत्वलाई अगाडि सार्दै संयमता गुमायौं भने यसको नतिजा भयावह हुन सक्छ । अहिले प्रविधिले हामी सबैलाई एकैठाउँमा बनाइदिएको छ । विश्वको जुनकुनामा भएपनि हामी मिनेट भर एक अर्कालाई देख्न सक्छौ, आफ्नो कुरा राख्न सक्छौ । भौतिक उपस्थिति विना पनि एक अर्काका भावनाहरु साटासाट गर्न सक्छौं । यो मेरो आफन्त हो, यो मेरो साथिभाई हो भनेर संयमता गुमायौ भने हामी कोरोनाको संक्रमणबाट जोगिन सक्दैनौं ।
कोरोनाको कहरले यसपालीको तीजमा रहर मारेर बस्नुपर्ने अवस्था छ । प्रत्येक मानिस तर्सित छ। विश्व नै तरङित छ । यि सबै हुदाहुदै पनि फेरी बाच्नु छ यहा, नाच्नु छ, जिवन र जगतलाइ अगाडि बढाउनुपर्ने छ । पुनस् आममानिसको जिन्दगीलाइ चलयमान बनाउनु छ । तसर्थ कोराना परास्तको अभियानमा हामी सबै सरिक हौं।

२०७८ हरितालिका तीजको हार्दिक मङ्गलमय शुभकामना !!

दिङ्ला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार