काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल’बाट बाहिरिएकी उर्मिला कुसुण्डाको स्वरमा पहिलो गीत सार्वजनिक भएको छ । ‘द भ्वाइस अफ नेपालमा’ राम्रो प्रस्तुति दिएकी उर्मिलाको आवाजमा रहेको ‘चरि उड्यो भुरुरु’ बोलको गीत सार्वजनिक भएको हो ।
खगेन्द्र थामी ‘खुशी भाई’ को शब्द रचना तथा संगीत रहेको गीतमा मेल भ्वाइस पनि उनैको रहेको छ । गीतको एरेन्ज पदम राजन मगरले गरेका छन् भने अडियो मिक्सिङ मुकारुङ मुस्कानको रहेको छ ।
दाङ जिल्ला घर भएकी नव गायिका उर्मिला अल्पसंख्यक समुदायबाट प्रतिनिधित्व गर्छिन् भने यो समुदायबाट गीत रेकार्ड गराउने उनी नै पहिलो गायिका हुन् । अल्पसंख्यक समुदायको रुपमा सूचिकृत कुसुण्डा जातीको जनसंख्या जम्मा १ सय ७३ मात्रै रहेको छ । ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को नक आउट चरणबाट बाहिरिएकी उर्मिला अब भने व्यवसायिक गायनतर्फ मोडिएकी छिन् ।
त्यस्तै, यस गीतका गीतकार, गायक तथा संगीतकार खगेन्द्र थामी ‘खुशी भाई’ पनि अल्पसंख्यक समुदायबाट नै प्रतिनिधित्व गर्छन् । जुन समुदायको कुल जनसंख्या देशभर २८ हजारको हाराहारीमा रहेको छ । उदयपुर जिल्ला घर भएका गायक खुशी भाईले भने यसअघि पनि केही गीतहरु रेकर्ड गराई सकेका छन् ।
यी दुवै नव गायक गायिकाहरु निकै मिहेनती र लगनशील रहेकाले दुवैको सांगीतिक भविष्य निकै राम्रो रहेको गीतकार दावा तामाङ बताउँछन् । यस चरिउड्यो भुभुरु गीतमा पनि उर्मिला र खुशी भाईले गरेको मिहेनतले निक्कै मीठो गीत बनेकाले यसले राम्रो सफलता हासिल गर्ने गीतकार तामाङको विश्वास छ ।
भिडियाे लिंक