जता हेर्यो त्यत्तै देख्छु असत्यको खेती
सत्य कुरा गर्नेलाई रोक्छन् बाटो छेकी
कहिले सम्म यो संसारमा झुटले शासन गर्ने ?
सच्चाई र सौन्दर्यलाई अप्ठ्यारो मै पार्ने ?
नेपाली जनताले पटक पटक अधिकार प्राप्तीका लागि संघर्ष र बलिदान गर्दै आएको इतिहास हामी सामु छर्लङ्गै छ । संघर्ष सफल भएको तर अधिकार सुनिश्चित नभएको दुःखद विरासत् पनि हामी सामु छ । जनतालाई अधिकार दिलाउन थुप्रै व्यक्तिहरुले आफ्नो दुनो नसोझ्याईकन विभिन्न हिसाबले जनता केन्द्रित पहलहरु गर्दै आएका छन् । उनीहरुलाई इतिहासले सम्झने छ अथवा कुनै समय सन्दर्भमा व्यक्तिहरुले सम्झने गर्दछन् । सबै कुरा त्याग्न तयार हुने र जनताको अधिकारका लागि जीवन समर्पण गर्ने व्यक्तिहरु मध्ये जनताका गायक भनेर परिचित जिवन शर्मा एक ज्यूँदा उदाहरण हुन् जसले जनताका गीत गाएर, जनतालाई जागृत गराएर, जनतामा क्रान्तिको चेत विकास गराएर आफू र जनतालाई क्रान्तिमा होमे ।
वि.संं. २०१६ चैत्र २६ गते शुक्रबारका दिन पिता चन्द्रदत्त आचार्य र माता द्रौपदा देवीको कोखबाट बाग्लुङ जिल्ला स्थित पाइगाउँमा जन्मिएका जीवन शर्माको बाल्यकाल सुख मै वितेको थियो । जीवनको गति सँधै एकै प्रकारको कहाँ हुन्छ र ? विभिन्न समस्याका कारण गाँउका हुनेखाने परिवारका सदस्यहरु काम खोज्दै हिड्नु पर्ने अवस्थामा पुगे ।
बावुआमामा छोराछोरीलाई पढाउनुपर्छ भन्ने चेतना भएकाले उनले पढ्ने अवसर पाएका थिए । त्यसबेला सिमित मात्रामा विद्यालयहरु हुने भएकाले उनले दैनिक ४ घण्टा हिडेर २०३५ सालमा एस.एल.सी. को फलामे ढोका पार गरेका थिए । त्यो समयमा एस.एल.सी.पास हुन हम्मेहम्मे पथ्र्यो तर उनी ६८ प्रतिशत अङ्क ल्याएर उत्तीर्ण भएका थिए र एस.एल.सी.मा उत्कृष्ट नम्बर ल्याए पछि इन्जिनियर बन्ने सपना बोकेर उनी सपनाको सहर काठमाण्डौं छिरे । दुई बर्ष उनले पुल्चोक कलेजमा इलेक्टि«कल इन्जिनियरिङ पढेका थिए । त्यसबेला निरंकुश पञ्चायती व्यवस्थाका कारण गरिब नेपाली जनताले सुखको सास फेर्न पाएका थिएनन् । उनी सानैदेखि देशप्रति चासो राख्थे । अरु देशमा विकास भएको छ तर नेपालमा अपेक्षाकृत रुपमा किन भएन रु यस्ता प्रश्न उनका मन सँधै ठोकिन्थे अनी उनी देशलाई समृद्द बनाउने सपना देख्थे । तत्कालिन राज्य सत्ताको थिचोमिचोको कारण उनी बिद्रोही बन्न पुगे ।
उनी वि.संं. २०३६ सालमा पञ्चायत विरुद्द शुरुभएको आन्दोलनमा होमिए । उनको इन्जिनियर बन्ने सपना त्यहि टुट्यो । नेताको भाषणले भन्दा गीतले मान्छेलाई छिटो तान्ने भएकाले उनले काठमाडौं स्थित वेदना परिवारमा संगठित भएर निरङ्कुश पञ्चायत विरुद्ध गाउंगाउं, बस्तीबस्तीमा गीत गाउन सुरु गरे जसले हजारौं जनतालाई आन्दोलनमा शरीक हुन हौसला दियो। उनको गीत गाउनुको मूल उद्धेश्य सामन्तको जालो च्यात्नु थियो। तसर्थ उनी तत्कालिन सरकारको तारो बन्न पुगे त्यसपछि उनी भूमिगत भए।
भूमिगत भएपछि पनि उनले गायनलाई निरन्तरता दिए। उनले गाउं परिवेशं, पाखापखेरादेखि भारी बोकेर आफ्नो पेट पाल्ने भरिया, ललाईफकाई गरेर ठगिन पुगेकी चेलि, राज्यसत्तामा बसेर कालो धन थुपार्ने भ्रष्टाचारी आदि सबैका गीत गाएका छन् । “सिमली छायाँमा बसी,” “चाहिँदैन मलाई सिसाको महल,” “बम्बईको कोठरीमा हाम्री चेली रुन्छिन् रे” जस्ता उनका दर्जनौँ गीतहरु अत्यन्तै लोकप्रिय छन् । ग्रामिण परिवेशमा अझैपनि उनका गीतहरु गाएर घाँस दाउरा गर्ने मानिसहरु प्रशस्तै छन । उनले बर्षौै गणतन्त्रका गीत गाए त्यही गीतको माध्यमबाट थुप्रै व्यक्तिहरु सत्तामा पुगे तर यी जनवादी गायकको अवश्था यथावत रहेको छ । आफ्ना छोराको उपचार गर्न नसकेको खबर पनि मैले सुनेकी थिए । इन्जिनियर भएको भए उनलाई सम्पत्तिको कमि हुँदैन थियो होला तर काठमाण्डौ छिरेदेखि अहिलेसम्म उनको डेराकै बास छ । उनले चाहेका भए राजनीतिक नियुत्ति पाउँथे तर उनलाई कहिल्यै त्यो लोभ जागेन ।
गरिब नेपाली जनताकालागि लड्दा लड्दै धेरै व्यक्तिहरु धनी भए तर जीवन शर्मा एक त्यस्ता व्यक्ति हुन् जो अझै सर्बहाराका गीत गाएर सर्बहारा नै हुनुहुन्छ । मान्छेको जीवन र आदर्शमा आकाश पातालको भिन्नता रहेको छ तर ज्यादै थोरै मानिसको जीवनमा मात्र जीवन र आदर्शमा समानता हुन्छ त्यस्ता व्यक्तिको रुपमा म जीवन शर्मालाई लिन्छु ।
देशमा जनताको बलिदानका कारण गणतन्त्र त आयो तर जनताको जीवनस्तरमा अपेक्षाकृत सुधार आएन । देशमा राजतन्त्रको ठाउँमा गणतन्त्र आयो, हिन्दु राष्ट्रको ठाउँमा धर्म निरपेक्ष राष्ट्र भयो, जनतामा चेतनाको विकास भयो, जनताले ढुक्कले आफ्ना विचार प्रकट गर्न पाएका छन । तर जनताको कथाव्यथा, उनीहरुको कर्म, सहनुपरेको पिडा र शोषणको अवश्था यथावत नै छ वस् यसको रुपको मात्र भिन्नता छ । पहिले जनताहरु देशमै श्रम गर्थे अहिले खाडी मूलुकमा गएर श्रम गर्छन् ।
भर्खरै विवाह गरेकी आफ्नी श्रीमतिलाई रुँदै घरको आँगन अथवा एयरपोर्टमा आएर आँसु पुछ्दै परदेशिनु पर्ने युवाहरुको अवश्था पनि उस्तै छ । के हामी नेपाली जनताले सोचेको विकास यहि हो त ? हजारौं नेपाली जनताको त्याग र बलिदानका कारण आएको आमूल परिवर्तन यहि हो ? अब के हामीले यसैलाई परिवर्तन भन्ने ? अहिले विश्वमा मै हुं भन्ने राष्ट्र समेत कोरोनाको चपेटामा परेका छन् जसमा हाम्रो देश नेपाल दोस्रो नम्बरमा पर्छ ।
यस्तो विषम् परिस्थितीमा कसरी देशलाई कोरोना मुक्त बनाउन सकिन्छ भन्ने तिर लाग्नुको सट्टा राजनीतिज्ञहरु नेपाली जनतालाई राजनैतिक ब्यवस्थामा परिवर्तन ल्याउने झुटो आश्वासन् देखाई सत्ताको खेलमा रुमलिएका छन् । जबसम्म नेपाली जनताको जीवनशैलीमा परिवर्तन आउँदैन तबसम्म राजनैतिक ब्यवस्था परिवर्तनले तात्विक अर्थ दिंँदैन ।
श्रोतः विभिन्न अन्तवार्ता, गीत, पत्रपत्रिका
भोजपुर