षडानन्द नगरपालिकामा सुत्केरीलाई खाद्य सामाग्री


भोजपुर । षडानन्द नगरपालिका–६ ले वडाका सुत्केरीलाई ७५ हजार वरावरको पोषणयुक्त खाद्यन्न वितरण गरेको छ । सुत्केरी पोषण कार्यक्रम अन्तर्गत ३३ जना सुत्केरी आमाहरुलाई घ्यू, चना, केराउ, तोरीको तेल, हर्लेक्स लगायतका खाद्य सामाग्री वितरण गरिएको हो ।
दिङ्गला आर्यूवेद औषधालयले पनि सुत्केरी आमाहरुलाई तागतिलो बनाउने र दुध आउने औषधि प्रदान गरेको वडा सचिव उपेन्द्र भट्टले जानकारी दिए। कार्यक्रममा स्वास्थ्य चौकी केउरेनीपानीका प्रमुख सुसिल कुमार राई र दिङ्गला आर्यूवेद औषधालयका प्रमुख प्रमोद प्रसाद शाहले पोषण सम्बन्धि जानकारी दिएका थिए ।

सुत्केरीलाई पोषणयुक्त खानेकुराको वारेमा सचेतना गराउनुका साथै स्वास्थ्य संस्थामा सुत्केरी गराउनको लागि प्रोत्साहन गर्नको निमित्त यो कार्यक्रम आयोजना गरिएको वडाध्यक्ष सुजन राईले जानकारी दिए ।
वडाले यसै वर्ष ज्येष्ठ नागरिक तथा अपाङ्ग सम्मान कार्यक्रम, दलित लक्षित कार्यक्रम अन्तर्गत मुढा वनाउने तालिम, महिलाहरुलाई ढाका वुनाई तालिम, स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री वितरण, कृषकलाई फौजी किराको विषादी वितरण लगायतका लोकप्रीय कार्यक्रम सञ्चालन गरेको छ । वडाले वडामा स्वारोजगार प्रवर्धन गर्नको लागि शीपमुलक र आयमुलक कार्यक्रम सञ्चालन गरेको राईले वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार