भोजपुर । भोजपुरमा आजबाट सुरु भएको सातौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको पहिलो खेलमा त्रिभुवन आर्मी फुटवल क्लवसंग जर्जीयन फुटवल क्लव पराजित भएको छ । आर्मीले शुन्यको विरुद्ध ४ गोल गरेपछि जर्जीयन फुटवल क्लव पराजित भएको हो ।
खेल सुरु भएको ७ मिनेटमा आर्मीका जर्सी नंं. ३५ का वसन्त जिम्वाले सुरुवाती गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । यस्तै खेलको ३४ औँ मिनेटमा जर्सी नं. ६ का सुरज बस्नेतले दोस्रो गोल गरे । यस्तै खेलको ५३ औँ मिनेटमा जर्सी नं. २७ का नरेन्द्र राईले गोल गरेका थिए भने खेलको ७५ औँ मिनेटमा जर्सी नं. १३ का पदम तामाङले गोल गर्दै टिमलाई विजयी गराएका थिए ।
व्यक्तिगत विधातर्फ म्यानअफ द म्याच बसन्त जिम्बा घोषित भएका छन् । भोजपुर रंगशालामा सुरु भएकोे प्रतियोगितामा ‘ए’ डिभिजनका दुई क्लबसहित आठ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधीसहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउने जिल्ला फुटबल संघ भोजपुरका अध्यक्ष प्रविण सुवालले बताए ।