भोजपुर । साल्पासिलिछो गाउँपालिकाको अध्यक्षमा बागी उठेका दौलथ कुलुङ राई माओवादी केन्द्र प्रवेश गरेका छन् । एमालेबाट टिकट नपाएपछि उनी माओवादीका स्थानीय नेताकै उक्साहटमा स्वतन्त्र उठेको गाउँपालिकाका एक माओवादी नेताले बताए ।
ती नेताका अनुसार यसपटक टिकट नपाउँने छनक बुझेपछि चुनावलगत्तै माओवादीमा प्रवेश गर्ने सहमतिसहित उनले बागी उम्मेदवारी दिएका थिए ।
माओवादीको माथिल्लो तहसम्मै कुरा भएर उहाँलाई स्वतन्त्रमा अघि सारिएको हो । लगभग उहाँको जिम्मेवारीका लागि पनि कुरो टुंगिसकेको छ । चुनावको भोलि पर्सिपल्टै यहाँहरूले थाहा पाउँनुहुनेछू, ती नेताले भने ।
दौलथ ७४ को निर्वाचनमा पनि अध्यक्षको आकांक्षी थिए । यसपटक टिकटका लागि पक्कापक्कीजस्तै भए पनि उनीमाथि विचाराधीन बैंकिङ कसुरको मुद्दाले जिल्लाका नेताहरू नकारात्मक देखिएको स्रोतले बताएको छ । ओखलढुंगा सुनकोशी गाउँपालिका-५ का विनोद खत्रीले हालेको बैकिङ कसुर सम्बन्धीको मुद्दामा उनलाई उच्च अदालत पाटनले ५ दिन कैदसहित १६ लाख ५२ हजार जरिबाना तोकी जाहेरवालालाई भराउन भनेको छ ।
दौलथले यो फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेका छन् । बैकिङ कसुरसम्बन्धीको सरकारवादी र उनी प्रतिवादी भएको मुद्दाको फैसला भइनसकेकोले टिकट नपाएको बताइएको छ ।
मुद्दाका कारण राष्ट्र बैंकले उनको सबै व्यक्तिगत खाता र साल्पा कन्स्ट्रक्सन प्रा। लिको खाता बन्द गरेको छ । गाउँकार्यपालिकाका निवर्तमान सदस्यसमेत रहेका उनले कांग्रेस नेता तथा वडाअध्यक्ष विक्रम बन, संघीय समाजवादीका नेता बीरकुमार राईसँग मिलेर साल्पा कस्न्ट्रकसन प्रा।लि नामक निर्माण कम्पनी खेलको थिए ।
गाउँको सडक निर्माणसम्बन्धी कारोबारमा बैंकिङ कसुरमा उनी २४ दिन प्रहरी हिरासतमा परेका थिए । गाउँपालिकाको डोजर खरिद समितिको अध्यक्ष बनेका उनीविरुद्ध डोजर किन्दा अनियमितता गरेको आरोपमा उजुरी पनि परेको थियो ।
दौलथलाई नेकपा एमालेले कारबाही गरिसकेको छ । पार्टी निर्णयविपरीत उम्मेदवारी दिएको भन्दै एमाले जिल्ला कमिटीले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको अध्यक्ष शरणकुमार राईले विज्ञप्तिमार्फत सार्वजनिक गरेका थिए ।
त्यहाँ शान्तिबहादुर अधिकारीलाई एमालेले अघि सारेको छ ।