भोजपुर । भोजपुरमा एमालेमा प्रवेश गर्नेको लहर चलेको छ । निर्वाचन घोषणा भएपश्चात मात्र यहाँ दुई हजार बढीले एमाले रोजेका छन् । एमालेप्रति जनताको मोह बढेसँगै काङ्ग्रेस तथा माओवादीबाट बहालवाला मानिसहरुले नै एमाले रोज्न थालेका छन् ।
यसै क्रममा माओवादीबाट निर्वाचित वडाध्यक्षले एमालेमा प्रवेश गरेका छन् । रामप्रसादराई गाउँपालिका– ८ का निर्वाचित वडाअध्यक्ष मनोज राई र दलित महिला सदस्य पातलिमाया सार्की एमालेमा प्रबेश गरेका हुन् ।
एमालेमा देश बनाउने नीति तथा कार्यक्रम रहेकोले आफु प्रवेश गरेको वडाध्यक्ष राईले बताए । वडाध्यक्ष राईले भने,‘ मान्छेहरु गठबन्धन गठबन्धन भनेर डुलेका छन् । खासमा गठबन्धनको सरकारले अहिले देशको यो अवस्था बनाएको छ । फेरी पनि यसरी नै हामीले सहयोग गर्ने हो भने देशको अवस्था यो भन्दा खराब बन्न सक्छ । माओवादीमा भविष्य नदेखेपछि मैले एमाले रोजे । सचेत र शिक्षित मान्छले एमालेलाई साथ दिन आवश्यक छ ।’
नव प्रवेशीहरुलाई एमाले स्थायी कमिटी सदस्य शेरधन राई र प्रदेश कमिटी सचिवाल सदस्य प्रेम कार्कीले स्वागत गरेका छन् । स्थानीय तहको निर्वाचन नजिकिएसँगै एमालेमा प्रवेश गर्नेको लहर एमाले भोजपुुरका अध्यक्ष शरण कुमार राईले बताए ।
माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष नै एमालेमा प्रवेश
माओवादी केन्द्रका वडा कमिटी अध्यक्षसहित विभिन्न पार्टी परित्याग गरि छ जना एमालेमा प्रवेश गरेका छन् । भोजपुर नगरापालिका वडा नं ८ वडा कमिटी अध्यक्ष सीताराम तामाङ एमालेमा प्रवेश गरेका हुन् । त्यस्तै नेपाली काङग्रेसका नगर कमिटी सदस्य प्रशुराम प्रधान, भक्त बहादुर प्रधान, नेपाली काङग्रेसका दलित संघ जिल्ला समिटि उपाध्यक्ष रामचन्द्र सुन्दास, नेपाली काङग्रेस वडा समिति सचिव कमला अधिकारी र नेपाली काङग्रेस क्रियाशिल सदस्य प्रेम कुमारी बस्नेत एमालेमा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई नेकपा एमाले स्थायी कमिटी सदस्य शेरधन राईले पार्टीमा स्वागत गरेका छन् ।