नेकपा एमाले भोजपुरको नेतृत्व भोटिङबाट, को–को छन् दाबेदार ?

कस्ले मार्ला वाजी ?


भोजपुर । देशका ६१ जिल्लामा एकैसाथ सुरू भएको नेकपा एमालेको जिल्ला अधिवेशनको रौनक भोजपुरमा पनि छाएको छ । नेकपा एमाले भोजपुरको नेतृत्वको लागि मतदान हुने भएको छ । नेतृत्वका लागि दाबेदारहरूको रस्साकस्सी बढेपछि जिल्लाको नेतृत्व चयन भोटिङबाट हुने सम्भावना बढेको हो ।
नेताहरूले आन्तरिक सहमतिबाट जिल्ला कमिटी बनाउन जोड गरेपनि आकांक्षी र प्रतिनिधिको मनोविज्ञान अधिवेशनलाई मतदानतिरै धकिलिने सम्भावना देखिएको हो । नेकपा एमाले भोजपुरको अध्यक्ष पदका लागि प्रमुख दाबेदारी उम्मेदवारीमा शरणकुमार राई र मकर खड्का देखिएका छन् ।
जिल्ला कमिटी उपाध्यक्ष समेत रहेका राई २०७५ जेठ २ को संरचनामा उनी एमाले जिल्ला कमिटी सचिव थिए । गत असोज ५ गतेको बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्दै जिम्मेवारी हेरफेर गर्ने क्रममा राईलाई उपाध्यक्ष बनाईएको थियो ।
माधव नेपालले पार्टी फुटाउँदा विभाजनप्रति असन्तुष्टि जनाउँदै राईलगायतका केही नेता एमालेमै बसेपछि स्थानीय तहका प्रमुखसम्मका जनप्रतिनिधि र कार्यकर्ताको ठूलो हिस्सा नेकपा एकिकृत समाजवादीमा जानबाट रोक्किएको थियो । संगठन निर्माण, युवा परिचालन र पार्टीको रणनीतिक गतिविधिमा जिल्लामा राई अब्बल मानिन्छन् ।
‘पार्टीमा कहिलेदेखि को कसरी खटिरहेको छ भन्ने मूल्यांकन हुनुपर्छ । बढ्दो चुनौतीबीच भोजपुरमा एमालेको दरिलो उपस्थितिको लागि मेरो दाबी हो । स्थानीयदेखि संघसम्मको चुनाव आउँदैछ । सबै भूगोलबाट समानुपातिकरूपमा क्षमतावान व्यक्तिहरूको प्रतिनिधित्व भयो भने मात्र एमालेलाई नम्बर एक पार्टी बनाउँन सक्छौं’, अध्यक्षका राईले भने ।
अध्यक्षका अर्का आकांक्षी मक्कर खड्का अहिले जिल्ला कमिटि सचिव छन् । जेठ २ को कार्यान्वयनको क्रममा राईलाई उपाध्यक्ष बनाइएपछि सचिवको जिम्मेवारी खड्कालाई दिइएको छ । अखिलका नेता खड्काले विद्यार्थी राजनीतिमा लामो अनुभवसँगै जिल्ला कमिटीमा रहेर काम गरिरहेका छन् । खड्का नेतृत्वमा नयाँ पुस्ताको एजेण्डासहित प्रतिनिधिमाझ भोट मागिरहेका छन् ।
‘अरु साथीहरूको पनि दाबी सुन्दैछु । पार्टीमा जस्तोसुकै संकट आउँदा पनि सतिसालजत्तिकै काँध थापेर बसेको हुनाले अध्यक्षको लागि मेरो आकांक्षा स्वाभाविक हो । म पछाडि फर्किने सम्भावना छैन ‘, खड्काले भने । तर, हिजो माधव पक्षमा लागेर एमालेको विरोध गरेको भन्दै राईलाई छेक्ने रणनीतिका साथ एउटा समूह लागेको प्रतिनिधिमाझ चर्चा छ । मक्करलाई अघि सारेर राईसँग भिडाउने र अन्तिममा सहमतिको नाममा प्रेम राईलाई नै दोहो¥याउने दाउ भएको विश्लेषणका साथ सहमतिको संभावना क्षण हुँदै गएको हो ।
वर्तमान अध्यक्ष प्रेमकुमार राई अहिलेसम्म मौन छन् । तर, दोहो¥याउने वा जिल्ला नेतृत्वबाट विश्राम लिने भन्ने अहिले भन्न नसक्ने उनले बताए । राईले नेताबीच छलफल गर्ने भन्दै आफ्नो दाबीको सम्भावनालाई नकार्न नसक्ने घुमाउरो जवाफ दिए । उनी हतुवागढी गाउँपालिकाका प्रमुख पनि हुन् ।
राईले ९० सदस्यीय जिल्ला कमिटी चयन सहमतिबाटै हुने दाबी गरेका छन् । तर, सहमतिको नाममा कसैमाथि अन्याय नगर्ने उनले बताए । ‘नेतृत्वमा आउँन साथीहरूले जुन इच्छा देखाउनुभएको छ । यो स्वाभाविक हो । सबैजना एकसेएक हुनुन्छ’, अध्यक्ष राईले भने, ‘तर, म अध्यक्ष भए सबै कुरा भइहाल्छ भन्ने तरिकाले जानुहुँदैन । भोलि स्थानीय निर्वाचनहरू आउँदैछ त्यो बेलाका चुनौती र अवसरलाई पनि केलाउनुपर्छ । हामी सल्लाह गर्छौं । जसरी भए पनि छान्नु त प¥यो ।’ नेतृत्व चयनमा नेकपा एमाले स्थायी कमिटि सदस्य समेत रहेका शेरधन राई पनि मौन देखिन्छन् ।

अधिवेशनका लागि करिब १३ सय प्रतिनिधि
भोजपुरमा करिब १३ सय प्रतिनिधि छन् । अधिकांश प्रतिनिधि युवाको काँधमा नेतृत्व आउँनुपर्ने पक्षमा छन् । साल्पासिलिछो गाउँपालिकाका लिला घले आउँदो चुनावमा एमालेलाई अब्बल देखाउन जिल्लाको सबै भूगोल, कार्यकर्ताको भावना र संगठन निर्माण र परिचालनमा सशक्त भइ रातविरात खट्नसक्ने मान्छेको आवश्यकता औंल्याउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार