भोजपुर । भोजपुरमा जारीे सातौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको दोस्रो खेलमा राजारानी फुटवल क्लब धनकुटालाई हराउदै खोटाङ भगवती क्लव सेमीफाईनलमा प्रवेश गरेको छ । खोटाङले एक गोलको विरुद्ध दुई गोल गरेपछि राजारानी फुटबल क्लब धनकुटा पराजित भएको हो ।
खेल सुरु भएको ५९ औँ मिनेटमा खोटाङका जर्सी नं. ९ का खेलाडी मार्टीनले पहिलो गोल गरेसंगै खेलको रौनक बढेको थियो । खोटाङले १ गोल गरेपछि धनकुटाको खेलाडी जर्सी नं. २३ का सुनील खड्काले ६९ मिनेटमा जवाफी गोल फर्काएका थिए । जवाफी गोलसंगै खेल आक्रमक बनेपछि खोटाङका खेलाडी मार्टीनले खेलको ८१ औँ मिनेटमा अर्को गोल थप्न सफल भएका थिए । मार्टिनको दोस्रो गोल नै जीतमा परिनत भएको थियो । यस्तै व्यक्तिगत विधातर्फ म्यानअफ द म्याच खोटाङका मार्टीन घोषित भए । हिजो भएको खेलमा आर्मीसंग जर्जीयन फुटबल क्लव भारत पराजीत भएको थियो भने भोली समहेश युवा क्लब, सिराहा र डाँगीहाट युथ क्लव मोरङ विच खेल हुनेछ । भोजपुर रंगशालामा सुरु भएकोे प्रतियोगितामा ‘ए’ डिभिजनका दुई क्लबसहित आठ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधीसहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउने जिल्ला फुटबल संघ भोजपुरका अध्यक्ष प्रविण सुवालले बताए ।