भोजपुर । भोजपुरको आगलागी पिडितलाई उद्योग वाणिज्य संघ दिङ्ला शाखाले राहत स्वरुप आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । वाणिज्य संघले आगलागी पिडितलाई सहयोग गर्न अभियात मार्फत संकलन गरेको रु ९० हजार आर्थिक सहयोग पिडित परिवारहरुलाई हस्तान्तरण गरेको छ ।
बैशाख २२ गते बुधबार एक्कासी भोजपुरको षडानन्द नगरपालिका विहिबारे बजारमा खेममणी तामाङको घरबाट सुरु भएको आगो षडानन्द नगरपालका वडा नं. १४ बोया विहिबारे बजारमा रहेका ४ घर जलेर पुर्ण रुपमा नष्ट भएको थियो । आगलागी बाट करिब २ करोड ६० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको । संघले संकलन अभियान मार्फत उठाएको रु ९० हजार आर्थिक सहयोग घटनाको प्रकृति र क्षति अनुसार वितरण गरिएको हो । क्षति भएको सबै पुरा गर्न नसकेपनि विपतको समयमा मलमको लागि राहत संकलन गरि वितरण गरिएको वाणिज्य संघका अध्यक्ष रमेश श्रेष्ठले बताएका छन् ।
संघले उपलब्ध गराएको राहत प्रति धन्यवाद व्यक्त गर्दै अन्य संघ संस्था र सम्बन्धित निकायहरुले पनि राहत उपलब्ध गराए पिडितहरुलाई सहज हुने विपत राहत व्यवस्थापन समितिका संयोजक मान बहादुर तामाङले अनुरोध गरेका छन् ।
आगलागीले आफ्नो उठिवास हुने सम्मको क्षति भएको छ । आगलागीले हरि बहादुर तामाङको भाँडा पसल नष्ट हुँदा करिब ९२ लाख तामाङ एक्लैको क्षति भएको छ । सबै मिलेर राहत उपलब्ध गराए आफु उस्किन सक्ने भएकोले सबैबाट सहयोग अपेक्षा रहेको गोले बताउँछन् ।
बुधबार करिब ७ ः १५ तिर खेममणी तामाङको घरबाट सुरु भएको आगोले ४ घर जलेर पुर्ण नष्ट भएको थियो भने खेममणी तामाङको साँडे दुई बर्षको छोरी रेश्माको मृत्यू भएको थियो । तामाङको पसलबाट सुरु भएको आगोले आफ्नैे घर र पसल, डम्बर तामाङको २ वटा घर तथा सोहि घरमा रहेको हरि गोले तामाङको किराना पसल, अर्जुन तामाङको एक घर तथा होटल र सोहि घरमा रहेको सुर्य तामाङको कपडा पसल र टेलर्स समेत जलेर पुर्ण रूपमा नष्ट भएकोछ । आगलागीबाट खेममणी तामाङ र उनका पत्नि मिना तामाङ घाईते भएका थिए उनिहरुको हाल धरान स्थित विपि कोईराला विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।