भोजपुर । देश यतिबेला निर्वाचनमय बनेको छ । दलका उम्मेदवारहरुले विभिन्न खाले योजनासहितका घोषणा पत्र लिएर निर्वाचनमा होमिएका छन् । उम्मेदवारी दिनेमा अधिकांश पुराना अनुहारका छन् । देश संघियतामा गएर जनप्रतिनिधिहरु चयन भएको पाँच वर्ष पुरा भएको छ । तर जनताले चाहे जस्तो विकास नभएको स्थानीयको गुनासो छ ।
२०७४ सालमा भएको निर्वाचनमा भोजपुर नगरपालिकालाई उज्यालो नगर बनाउने उम्मेदवारहरुले घोषणा गरेका थिए । तर अहिले पनि भोजपुर नगरपालिकाका सबै क्षेत्रमा विद्युत् विस्तार हुन सकेको छैन् । अहिले पनि यहाँका वडा २ हेलौछाको चङ्खुले, फलाटे, घारा लगाएत ठाउँका स्थानीय विद्युत्को पहुँच भन्दा बाहिर रहेका छन् । त्यस्तै वडा नं ३ गुप्तेश्वरको रमिते टोल, मुुलखर्क, माझखर्क ध्वजेटोल लगाएतका ठाउँका स्थानीय अहिले पनि विद्युतकाे पहुँच भन्दा बाहिर छन् ।
वडा नं –१० भैंसीपंखाका अधिकांश स्थानीयले अहिले पनि विद्युत उपभोग गर्न पाएका छैनन् । तत्कालिन भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले सक्षम रुपमा नेतृत्व गर्न नसक्दा पाँच वर्षमा पनि विद्युत् विस्तार हुन नसकेको स्थानीयबासीको भनाइ छ ।
‘भोजपुर नगरपालिका बत्तीमुनी अध्यारो जस्तो भएको छ । खासमा यहाँको नेतृत्वले जनतामा सम्मानजनक व्यवहार गरेका छैनन् । आफुलाई भोट दिएको नदिएको आधारमा फरक व्यवहार गर्छन् । हामीले अहिलेसम्म विद्युत्को उपभोग गर्न पाएका छैनौँ,‘ भोजपुर नगरपालिका ३ गुप्तेश्वरका स्थानीयबासी सुमन राईले भने, ‘भौगोलिक रुपमा विकट रहेको टेम्केमैयुङ गाउँपालिकामा सक्षम नेतृत्वको कारण प्रदेश १ कै उज्यालो स्थानीय तह घोषणा भइसकेको छ । तर २०७४ सालमा नै ६० प्रतिशत भन्दा बढी स्थानमा विद्युत् बलेको भोजपुर नगरपालिकाको अवस्था अहिले पनि यस्तो छ । यस्ता जनप्रतिनिधिबाट हामीले के आशा गर्ने ? कुशल नेतृत्व छान्न नसक्दाको परिमाण भोग्दै छौँ ।’