भोजपुरको बालङ्खामा रैथाने ज्ञान महोत्सव हुने

विभिन्न १३ विषयमा बहस


भोजपुर । आधुनिक विकासका मोडलहरूका बारेमा निचोड निकाल्ने उद्देश्यका साथ आमचोक गाउँपालिकामा दुई दिने बृहत रैथाने ज्ञान महोत्सवको आयोजना हुने भएको छ । चैत ८ र ९ गते हुने महोत्सवमा विषयगत ज्ञाताका साथै राजनीतिक नेतृत्वको समेत सहभागिता रहने छ ।
गाउँपालिकाको केन्द्र बालङ्खामा हुने महोत्सवको आयोजना तायाजोङ मिडिया एन्ड प्रोडक्सन, किरात एकाडेमी र चिन्डो बुक्सले गरेको हो ।
प्रतिनिधिसभा सदस्य सुदन किरातीको प्रमुख आतिथ्यमा हुने महोत्सवमा खगेन्द्र सङ्ग्रौलाले किराती समाज, राजन मुकारुङले आख्यान र कवितामा रैथाने ज्ञान, युग पाठकले आधुनिक विकासको मोडल र रैथाने समुदाय, डा. पर्वतकुमार राईले असल शासन, कविता राईले रैथाने साहित्यमा महिलाको योगदानलगायतका विषयमा आफ्नो धारणा राख्ने छन् भने अन्य सहभागी अतिथि वक्ताहरूले विषयगतरूपमा रैथाने ज्ञानका विषयमा धारणा राख्ने छन् ।
महोत्सवमा स्थानीय सरकार र रैथाने विकासका बारेमा हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, अरुण गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर कार्की र आमचोक गाउँपालिकाका अध्यक्ष अशोक राईले पनि बोल्ने छन् । हरेक क्षेत्रका विषयमा हुने रैथाने विकाससँग जोडिएको यो ज्ञान महोत्सवले जिल्लाको विकासमा समेत टेवा पुग्ने आयोजकको दाबी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार