भोजपुर एमाले अध्यक्षमा शरणकुमार राई


भोजपुर । नेकपा एमाले भोजपुरमा सर्वसम्मत पदाधिकारी चयन गरिएको छ । अध्यक्षका लागि निर्वाचनको संभावना प्रबल रहेकोमा नेताहरूको पटक-पटकको कसरतबाट सहमतिमा नेतृत्व छानिएको हो ।

अध्यक्षमा शरणकुमार राई सर्वसम्मत भएका छन् । माधव नेपालले पार्टी विभाजन गरेकोमा असन्तुष्टि जनाउँदै राई एमालेमै बसेका थिए । उनी एमालेमा रहँदा स्थानीय तहका केही जनप्रतिनिधि र गाउँपालिका प्रमुखसहित ठूलो हिस्सा नेकपा एसमा जानबाट रोक्किएको थियो । २०७५ जेठ २ को संरचनाअनुसार जिल्ला कमिटी सचिव रहेका राई एमाले विवादको क्रममा माधव नेपालले बनाएको समानान्तर कमिटीका अध्यक्ष थिए ।

१० बुँदे कार्यान्वयनको क्रममा एमालेमै रहेका उनलाई गत असोज ५ गते जिम्मेवारी हेरफेर गर्दै उपाध्यक्ष बनाइएको थियो । मक्कर खड्कालाई सचिवको जिम्मेवारी दिइएको थियो । अर्का दाबेदार मक्कर खड्कालाई उपाध्यक्षमा सहमति गराइएको छ । सर्वसम्मत भएका अन्य पदाधिकारीमध्ये सचिवमा किरण राई, सहसचिवमा ध्यानबहादुर राउत र धर्म किराती छन् ।

को हुन् अध्यक्ष राई?
नेकपा एमाले अध्यक्षमा निर्वाचित शरण कुमार राईले वि.स. २०४९ सालमा अन्नपूर्ण माविको अनेरास्ववियूको प्रारम्भिक कमिटीको सचिवबाट राजनीतिक यात्रा सुरु गरे । युवा नेतृत्वमा सधैँ अगाडी राई वि.सं. २०५४ सालदेखि लगातार ३ पटक अनेरास्ववियूको जिल्ला अध्यक्ष बने । यस्तै वि.सं. २०५७ सालदेखि वि.सं. २०६१ सालसम्म २ कार्यकाल अखिलको केन्द्रिय कमिटी सदस्य रहे । यस्तै राई वि.सं. २०६७ सालदेखि पार्टीको जिल्ला उपसचिव बने ।
त्यस्तै वि.सं. २०७० सालमा एमालेको सातौँ जिल्ला अधिवेशनबाट राई पार्टी जिल्ला सचिवमा पदोन्नती भए । पछि तात्कालिन नेकपा एमाले र नेकपा माओवादी एकिकरणपछि राईले नेकपाको जिल्ला कार्यालय सदस्य एवम् संगठन विभाग प्रमुखको पदको जिम्मेवारी सम्हाले ।
ग्रामीण विकासमा स्नातकोत्तर गरेका राई राजनीतिक हिसाबले जिल्लाको सबैभन्दा सक्रिय कार्यकर्ताभित्र पर्छन् । चोटिला वक्तव्यका सुत्राधार, उर्जाशिल जोसजाँगर, शालिन विचारधारा र मिलनसार स्वाभावका राई वर्तमान राजनीतिक विश्लेषक पनि हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार