विराटनगर । प्रहरी जवान पदको परीक्षामा नक्कली परीक्षार्थी भेटिएका छन् । प्रदेश १ प्रहरी तालिम केन्द्र रानी, विराटनगरमा सञ्चालित प्रहरी जवान पदको परीक्षामा नक्कली परीक्षार्थी भेटिएका हुन् ।
परीक्षामा सहभागी भएका एक नक्कली परीक्षार्थीसहित ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । यसरी, पक्राउ पर्नेमा भोजपुरको पौवादुङ्मा गाउँपालिका–६ का २३ वर्षीय सूर्य राई, सोही स्थानका १९ वर्षीय सागर राई र २२ वर्षीय सङ्गम राई, धनकुटा साँगुरीगढी गाउँपालिका–८ का १९ वर्षीय सरोज राई र सोही स्थानका २७ वर्षीय राजकुमार राई र धनकुटाको शहिदभूमि गाउँपालिका–३ का २१ वर्षीय खपाङ राई रहेका छन् ।
प्रारम्भिक अनुसन्धानको क्रममा सूर्य राईले प्रहरी जवान पदमा नयाँ भर्ना गराइदिन्छु भनेर सङ्गम राईबाट नगद एक लाख १८ हजार लिएका थिए । यस्तै, सागर राईबाट नगद एक लाख १८ हजार र सरोज राईबाट दुई लाख लिएका थिए ।
उक्त कार्यमा उनीहरूसहित ६ जनाको संलग्नता रहेको पाइएपछि प्रदेश १ प्रहरी तालिम केन्द्र रानी विराटनगरले पक्राउ गरेर आवश्यक कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको थियो ।
मोरङ प्रहरीले शिक्षा ऐन २०२८ को दफा १७ को १ (क) बमोजिम परीक्षासम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय मोरङबाट दिन पाँच दिनको म्याद लिई थप अनुसन्धान कार्य भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।