भोजपुर। जबर्जस्ती करणी उद्योगमा फरार रहेका दुई प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको छ । जवर्जस्ती करणी उद्योगअन्तर्गत दुईवटा घटनामा संलग्न भई फरार दुई प्रतिवादीलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी जीवन कुँवरले बताए । गत असार ३१ गते जिल्लाको दक्षिण आमचोक गाउँपालिका ९ दुम्मानाका ५२ वर्षीय श्यामकुमार मगरले २९ वर्षीया महिलालाई जबर्जस्ती करणी गरी फरार भएको भन्ने सूचनाका आधारमा उनलाई अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएको प्रहरी टोलीले खोजी गर्नेक्रममा आइतबार पक्राउ गरेको प्रहरी निरीक्षक कुवरले जानकारी बताए ।
यस्तै, गत असार १२ गते जिल्लाको पश्चिम टेम्केमैयुङ- गाउँपालिकाका १७ वर्षीय व्यक्तिले अन्दाजी नौ बर्षकी बालिकालाई जबर्जस्ती करणी गरी फरार रहेकोमा निजलाई खोजतलास गर्नेक्रममा जिल्ला प्रहरी कार्यालय खोटाङसंगको समन्वयमा खोटाङबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुसन्धान चालिएको प्रहरी निरीक्षक कवरले जानकारी दिए । दुवै घटनामा संलग्न प्रतिवादीलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखी आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।