अर्गानिक उत्पादनमा जुट्दै भोजपुरका किसान


भोजपुर । भोजपुरका किसान अर्गानिक तरकारी उत्पादनमा लागेका छन् । मानव स्वास्थ्यलाई ध्यानमा राख्दै विषादीरहित तरकारी उत्पादन गर्ने उद्धेश्यले उनीहरु अर्गानिक तरकारी खेतीमा लागेका हुन् । कृषि ज्ञान केन्द्र भोजपुरको आर्थिक तथा प्रविधिक सहयोगमा अरुण गाउँपालिकाका २१ परिवारमा अर्गानिक खेतीको थालनी गरिएको हो ।
स्याउला तथा गाई गोरुको मलमुत्रबाट तयार गरिएको कम्पोस्ट मलको प्रयोग गरी मौसमी तथा बेमौसमी तरकारी लगाउन उत्पादन गर्ने लक्ष्य रहेको अरुण गाउँपालिकाका कृषक शान्तीकुमार कार्कीले बताए ।
कार्कीले भने,‘ हामीले २१ वटा आधुनिक टनेल निर्माण गरेर अर्गानिक खेती थालेका छौँ । हामीलाई कृषि ज्ञान केन्द्रबाट आर्थिक र प्राविधिक सहयोग मिलेको छ । बजारमा देखिएको अर्गानिक तरकारीको मागलाई पुरा गर्ने गरी खेती गरेका छौँ ।’किसानहरुले तरकारीलाई विभिन्न किसिमका रोगबाट बचाउन गाईगोरु तथा पशुको मुत्रलाई विषादीको रूपमा प्रयोग गर्ने गरेका छन् ।
कम्पोस्ट मल खेतबारीमा हाल्दा उत्पादन पनि राम्रो हुने भएकाले यहाँका किसान पोलिहाउस तथा स्याउला सोत्तर कुहाएर कम्पोस्ट मल तयार पारी तरकारी बारीमा हाल्ने गरेको कृषक कार्कीले बताए ।मानिसको स्वास्थ्यलाई कुनै असर नपार्ने भएकाले आलु, टमाटर, मुला लगायत अन्य तरकारी उत्पादनमा समेत कम्पोस्ट मल प्रयोग गर्न थालेका हुन्।
विषादीको प्रयोगले गर्भवती महिला, बालबालिका र अन्यको स्वास्थ्यमा प्रतिकुल असर पार्नेभएपछि उनीहरु अर्गानिक तरकारी खेतीतर्फ उन्मुख भएका हुन्। तरकारीलाई विभिन्न किसिमका रोगबाट बचाउन कृषकले गाईगोरु तथा पशुको मुत्रलाई विषादीको रूपमा प्रयोग गर्छन्। उत्पादन बढाउन कम्पोस्ट र प्रांगारिक मलको प्रयोग बढी रहेको कृषकहरू बताउँछन्। तरकारी उत्पादनका लागि उपयुक्त हावापानी भएकाले प्राङगारीक खेती प्रर्वद्धन अभियान कार्यक्रम अन्तर्गत खेतीको थालनी भएको हो ।
रु. दश लाख लागतमा दुई ओटा कलस्टर बनाएर प्याउली र सिमटारमाका कृषक समुहमा परिक्षणको रुपमा थालनी गरिएको ज्ञान केन्द्र भोजपुरले जनाएको छ । रासायनिक मलको प्रयोगले माटोको उत्पादकत्व क्षमता घट्दै गइरहेको र बिषादीको प्रयोगले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेकाले अर्गानिक तरकारी उत्पादन गर्ने कार्यालयले लक्ष्य लिएको छ ।
कृषि ज्ञान केन्द्र भोजपुरका प्रमुख योगेन्द्रप्रसाद यादबले भने,‘ हामीले किसानलाई आधुनिक कृषि प्रणालीमा जोडी रहेका छौँ । अर्गानिक खेतीलाई प्रबद्र्धन गर्नको लागि जिल्लामा पहिलो पटक कार्यालय र किसानको साझेदारीमा खेतीको थालनी गरेका छौँ । यसले बजारमा रहेको अर्गानिक खाद्यबालीको मागलाई केहिहदसम्मका पुरा गर्नेमा हामी ढुक्क छौँ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार