तपाई मुन्दुम पदमार्ग घुम्न जादै हुनुहुन्छ, यसरी जान सक्नुहुन्छ


काठमाडौं। ‘ओहो यो कस्तो जीवन सधैंको भागदौड, सधैंको हतारो
न छ समय उभिन कतै, न त बसेर हेर्नलाई’

डब्ल्यु एच डेभिसको कवितामा जस्तै बेफुर्सदिलो भएको छ समय । हतार–हतार कार्यालय । हतार–हतार घर । न यसो अडिने फुर्सद छ । न कतै घोरिएर हेर्ने समय । न नयाँ–नयाँ ठाउँ पुग्ने अवसर।

तर जिन्दगी हतारोमात्र कहाँ हो ?

जिन्दगी त आविष्कार हो । नयाँ–नयाँ गन्तव्यको पहिचान हो । नियमितताको क्रमभंग हो ।

कल्पना गर्नुस् त, पहाडको टुप्पोमा तपाईं हुनुहुन्छ । हातमा कफीको कप छ । अगाडि ठिंग उभिएको हिमाल । सामुन्ने हरियो चौर । चरिरहेका घोडाहरु । र, तपाईंको कपाल उडाउन आइपुग्ने चिसो हिमाली स्याँठ १

वाह १ यो पो जीवन । यस्तो पो जिन्दगी।

एकबारको जिन्दगीमा यो अनुभव किन नगर्ने ?

मिलाउनुहोस् समय । कस्नुहोस् झोला । लगाउनुहोस् जुत्ता । समाउनुहोस् छडी । हिमाल तपाईंलाई पर्खिरहेछ । पहाड तपाईंलाई कुरिरहेछ ।

र, तपाईंको गन्तव्य हुनसक्छ, मुन्धुम पदमार्ग ।

आजसम्म थोरै मात्र पर्यटक हिँडेका छन् यो बाटोमा । र, यही बाटो हिँडेर २०१० सालमा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारी सगरमाथा आरोहणमा लम्केका थिए ।
भोजपुर–खोटाङ सिमानाको तीन हजार १६५ मिटरको टेम्के डाँडा क्षेत्रबाट शुरू हुने यो पदमार्ग तीन हजार ३३३ मिटरको मैयुङ डाँडा, तीन हजार ७५० मिटरको साल्पापोखरी हुँदै चार हजार १५३ मिटरको सिलिचुङ डाँडामा गएर टुंगिन्छ।

भोजपुर, खोटाङ, सोलुखुम्बु र संखुवासभा जिल्लाको सीमा क्षेत्रमा फैलिएको यस पदमार्गलाई पूर्वी पहाडको नयाँ पर्यटकीय गन्तव्यस्थलको रुपमा हेरिएको छ।

डाँडैडाँडा थकानको महशुससमेत नहुनेगरी हिंडिरहु लाग्ने यो पदमार्गबाट आठ हजार मिटर अग्ला सगरमाथा, कञ्चनजंघा, मकालु, ल्होत्से, चोयू र सिसापाङ्मा गरी ६ वटा हिमाल, ३३ वटा हिमशृंखला र तराई अवलोकन गर्न सकिन्छ।

यतिमात्र होइन । बाटोमा तपाईं अनेकौं चौरीखर्क र भेडीगोठ भएर जानुहुनेछ । र पहाडको शिरैशिर तपाईंसँगै जंगल पनि हुनेछ । दर्जनौं प्रजातीका गुराँस, चाँप, कटुस र लोक्ताका यी जंगलले तपाईंलाई बाटोभर बतास हम्किरहने छन् । अनेकौं जडिबुटीले भरिएका यी जंगल स्थानीयका जीवनस्रोत हुन् ।

मैयुङको हाँसपोखरी पुग्दा अनेकौं चराचुरुङ्गीको चिरबिरले तपाईंलाई जीवनका सारा होहल्ला बिर्साइदिनेछन् । रेडपाण्डा, भीर माहुरी र जंगली जनावरसँग लुकामारी चलिरहनेछ।

यो पदमार्गको नामले यहाँको स्थानीय संस्कृति र सभ्यता बोकेको छ। ‘मुन्धुम’ किराँत सभ्यताको जीवन दर्शन समेटिएको ग्रन्थ हो।

यो पदमार्ग अधिकांश किराँत बस्ती भएर गएको छ। त्यसैले पदमार्गभरी किराँत जीवनशैली, संस्कार र संस्कृतिसँग साक्षात्कार भइरहने छ। त्यसैले पदमार्गको नाम नै ‘मुन्धुम’ राखिएको पदमार्ग प्रवर्द्धनका अभियन्ता गायक श्याम सामसोङ राई बताउँछन्।

धेरै भएको छैन यो पदमार्गको प्रचार हुन थालेको। नेपाल सरकारले आर्थिक वर्ष २०७५र०७६ मा नेपालको घुम्नैपर्ने एक सय पर्यटकीय गन्तब्यको सूचीमा समावेश गरेको छ।

तेन्जिङ–हिलारीले हिँडेको ६६ वर्षपछि पहिलो पटक असोजको अन्तिम हप्ता यो पदमार्ग घुम्न पर्यटकहरु आएका थिए।

भ्रमणमा आएका ७० वर्ष उमेर समूहमाथिका ७ जना अमेरिकी नागरिकलाई स्थानिय जनप्रतिनिधि, राजनीतिक दलका जिल्लास्थित नेता कार्यकर्ता र जनताले स्वागत गरे।

उनीहरू मुन्दुम पदमार्ग हुँदै सुनसरीको कोशी टप्पुसम्मको १४ दिनको भ्रमण तालिका लिएर घुम्न आएका थिए।

प्रचार–प्रसार बढ्दै जाँदा आन्तरिक पर्यटक पनि आउने क्रम बढेको स्थानीयवासीले बताएका छन्।

मेरापिक, आइसल्याण्ड पिक र होङकुचुली बेसक्याम्प हुँदै सगरमाथा जान यो पदमार्ग छोटो बाटो भएकाले पनि यसको प्रचार गरिनुपर्ने मैयुङ–टेम्के–साल्पा–सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष रमेशकुमार राईको भनाइ छ।

भोजपुरको साल्पासिलिछो गाउँपालिकासँग सीमाना जोडिएको थुलुङ दुधकोसी गाउँपालिका र महाकुलुङ गाउँपालिका हुँदै लुक्लासमेत जान सकिन्छ।

लगानी प्रयास
मैयुङ–टेम्के–साल्पा–सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रले मार्ग चित्र कोरेको यो पदमार्गको पूर्वाधार विकास र पर्यटकको सुविधाको लागि आवश्यक संरचना निर्माण गर्न स्थानीय, प्रदेश र संघीय सरकारले लगानी गरेका छन्।

पर्यटकीय गन्तब्य घोषणासँगै गत वर्ष टेम्केमैयुङ गाउँपालिकाले ५० लाख रूपैयाँ, पर्यटन मन्त्रालयले ५० लाख रूपैयाँ र पर्यटन बोर्डले १० लाख रूपैयाँ विनियोजन गरेको थियो। त्यसमा भोजपुरकै षडानन्द नगरपालिकाले १८ लाख रकम थप्यो।

त्यस रकमबाट पदमार्गको ५० किलोमिटर बाटो मर्मत कार्य, मैयुङको हाँसपोखरीमा पर्यटकहरूलाई बास बस्ने घरहरू बनाइएको छ। त्यस्तै पर्यटन बोर्डले दिएको रकमबाट ठाउँठाउँमा सूचना बोर्ड र पथप्रर्दशक चिन्हहरू राखिएको छ।

पर्यटकहरूलाई विश्राम स्थल, ओत लाग्ने ठाउँहरू बनाइएको छ। भोजपुर–खोटाङ सिमानाको चखेवा र केपिलासगढीको सावामा घरबास ९होमस्टे० पनि शुरू भइसकेको छ।

यस वर्ष प्रदेश १ सरकारले दुई करोड रूपैंया बजेट विनियोजन गरेको छ। सो रकमबाट खोटाङ केपिलास गढी गाउँपालिका र भोजपुरको साल्पासिलिछो गाउँपालिकाको सीमाक्षेत्रमा पर्यटकहरूको लागि बास घर, बाटो मर्मत, खानेपानीको व्यवस्थापन, साल्पापोखरीको पोखरीको संरक्षण र सिलिचुङ्ग क्षेत्रमा हेलिप्याड बनाउन प्रदेश सरकारलाई छलफलमा सुझाव दिएको पर्यटन प्रवर्द्धकहरूले बताएका छन्।

पदमार्गको झण्डै आधा भाग ओगटेको टेम्केमैयुङ गाउँपालिकाका प्रमुख ध्रुवराज राईले यस क्षेत्रको विकासको लागि गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार पारिसकेको र सबै सरकारी गैरसरकारी निकायसँग समन्वय गरेर अगाडी बढ्ने बताए।

पदमार्गको प्रवद्र्धन गर्दै पर्यटकहरूलाई आकर्षित गर्न उच्च पहाडी भागमा हुने शाहसिक प्रतियोगिता अल्ट्रा म्याराथन, स्काई रेस, हाइकिङ, माउन्टेन साइकिलिङ, घोडचढी, प्याराग्लाइडिङ गर्न ५ करोड ८५ लाखको बजेट प्रस्तावसँगै गुरुयोजना बनाइएको छ।

डाँडैडाँडा थकानको महशुससमेत नहुने गरि हिंडिरहँ लाग्ने यो पदमार्गबाट आठ हजार मिटर अग्ला सगरमाथा, कञ्चनजंघा, मकालु, ल्होत्से, चोयू र सिसापाङ्मा गरी ६ वटा हिमाल, ३३ वटा हिमशृंखला र तराई अवलोकन गर्न सकिन्छ।

मुन्दुम पदमार्ग कसरी जाने ?
मध्यपहाडी सडक सञ्जालसँग जोडिएको यस पदमार्गमा काठमाडौंबाट भोजपुर, खोटाङ र संखुवासभा हुँदै पुग्न सकिन्छ। त्यहाँसम्म पुग्न सडक र हवाई दुवै मार्गको विकल्प छ ।

करिब एक सय किलोमिटर दुरीको यो पदमार्ग छिचोलेर फर्कन ८ देखि १२ दिन लाग्छ। भर्खर शुरू पदमार्ग भएकोले खान र बस्नको पर्याप्त सुविधा नहुँदा पर्यटकहरूले व्यवस्थित यात्राको रुपमा तयारी गर्नुपर्छ ।

काठमाडौंपूर्वको प्रसिद्ध धार्मिकस्थल खोटाङको हलेंसी हुँदै भोजपुर–खोटाङको सिमाना चखेवा भञ्ज्याङबाट मुन्धुम पदमार्गको यात्रा शुरू गर्न सकिन्छ ।

त्यस्तै सिधै भोजपुर गएर सुन्तले, बाघखोर, पखुवा भञ्ज्याङ हुँदै मैयुङ डाँडा र संखुवासभाको तुम्लिङ्गटार विमानस्थलसम्म जहाजमा गएर भोजपुरको दिङ्ला हुँदै मैयुङ डाँडा पुग्न सकिन्छ।

मुन्दुम पदमार्ग

काठामाडौबाट पहिलो दिन जाने
यात्राको शुरु दिन काठमाडौंबाट सिन्धुली हुँदै मध्यपहाडी लोकमार्गबाट खोटाङको प्रसिद्ध धार्मिकस्थल हलेंसीसम्म नियमित बसमा जान सकिन्छ। त्यहाँ बस्नको लागि सुविधासम्पन्न लजहरू छन्।

दोस्रो दिन
हलेंसी मन्दिरमा दर्शन तथा आसपासको क्षेत्रको अवलोकनपश्चात् दिक्तेलमा बिहानको खाना खान पुग्न सकिन्छ। त्यहाँबाट करिब ५० किलोमिटरको कच्ची बाटो छिचोलेर भोजपुर–खोटाङको सीमा–चखेवा भञ्ज्याङ पुग्न सकिन्छ।

सडकको स्तरोन्नतीको काम भइरहेकाले वर्षायाममा केही असहज हुने भए पनि हिउँदमा सवारी आवागमनमा कुनै समस्या हुन्न। यसै दिन या भोलिपल्ट टेम्के डाँडाको अवलोकन गर्न सकिन्छ। तीन हजार १६५ मिटरको टेम्के डाँडाबाट भोजपुर, खोटाङ, ओखलढुङ्गा लगायतका पहाडी जिल्ला, तराईका फाँटहरू र बेलुकाको समयमा काठमाडौंको झिलिमिलीसमेत सहजै हेर्न सकिन्छ।
तेस्रो दिन
मुन्धुम पदमार्गको वास्तविक यात्रा आजदेखि शुरू हुन्छ। चखेवाबाट उकालो लागेपछि डाँडाको थाप्लोबाट हिमाल हेर्दै हिंड्न पाइन्छ । बाटोभरि बस्ती भेटिनेछैन । ठाउँठाउँमा गाईभैंसी, भेँडी गोठ र चौँरी गोठहरू भने छन्। यो दिनको बास धोत्रे देउरालीमा हुनेछ। यहाँ टी हाउस सञ्चालनमा छ।

चौथो दिन
आज धोत्रे देउरालीबाट मैयुङ डाँडासम्म पुग्ने दिन हो। तीन हजार ३३३ मिटरको मैयुङ डाँडास्थित हाँसपोखरीको मनमोहक दृश्य, लेकाली नागीमा चर्दै गरेका घोडा र विभिन्न प्रजातीका चराचुरुङ्गीहरूसँगको लुकामारीले पैदलयात्रीको थकान मेटाउन मद्दत गर्छ। मैयुङमा टेम्केमैयुङ गाउँपालिकाको पहलमा लज सञ्चालनको तयारी भइरहेको छ।
पाँचौ दिन
आज मैयुङबाट बिहानै हिंडेर बिहानको १० बजेतिर खाना खान ह्याकुले डाँडामा पुगिन्छ। खाना खाएर खोटाङको केपिलासगढी गाउँपालिकास्थित रावा धापमा बास बस्नुपर्छ।

छैटौं दिन
आजको दिनको यात्रा रावा धापबाट शुरू भएर निकास भञ्ज्याङ्गमा बिहानको खाना खाइ साल्पापोखरी बेस क्याम्पमा दिउँसो पुगिन्छ। यो दिन पोखरी आसपास अवलोकन गरेर बेस क्याम्पमै बास बस्नु उपयुक्त हुन्छ।

सातौं दिन
आज यात्राको अन्तिम दिन हो। यो दिन बिहानै साल्पा बेस क्याम्पबाट ४१५३ मिटरको सिलिचुङ्ग डाँडा चढेर फर्केर बेस क्याम्पमै बस्दा दिन बित्छ। साल्पा पोखरी क्षेत्रमा रहेका गुम्बा, बैशाखे र मंसीरे पूर्णिमा छेक किरातीहरूको साकेला नाच र विजुवा नाचजस्ता सांस्कृतिक परम्परा साक्षात्कार हुनेछ ।

आठौं दिन
आजबाट फर्कने क्रम शुरु हुन्छ । यो दिन साल्पाको बेस क्याम्पबाट ह्याकुले डाँडा ओरालो झदै रावा धापमा आएर बास बस्न सकिन्छ।
नवौं दिन
वाचिपा ९कुखुराको रौं डढाएर चामलसहित भुटेर बनाएको विशेष परिकार०, उसिनेको आलु र टिम्मुरको अचारको स्वाद लिंदै आजको बास सावा गाउँको मुन्धुम घरबासमा हुनेछ।

दशौं दिन
यात्राको दशौं दिन मैयुङ क्षेत्रबाट पखुवा भञ्ज्याङ, सुन्तले हुँदै भोजपुर सदरमुकाम भोजपुर बजार आएर बास बस्न सकिन्छ। भोजपुर सदरमुकाम, टक्सार बजारको ‘साईट सीन’ को लागि पनि यो दिन भ्याउन समय निस्किन्छ।

एघारौं दिन
आज यात्राको अन्तिम दिन भोजपुरबाट काठमाडौं सिधा हवाइ मार्गबाट फर्कन सकिन्छ। या हिले–भोजपुर नारदमुनी थुलुङ सहायक राजमार्गबाट धरान, विराटनगर हुँदै फर्कन सकिन्छ।
खर्च कति लाग्छ ?
भर्खरै पर्यटकसँगको पदयात्रामा सहभागी रमेशकुमारले यो यात्रामा भरिया, गाइड, भान्से पनि साथमै हुने भएकाले ८ जनामाथि पर्यटकहरू संलग्न यात्रामा काठमाडौंबाट गएर फर्कदासम्म प्रतिव्यक्ति एक हजार ५०० डलर खर्च हुने बताए।

हाँसपाेखरी

“दुई देखि आठ जनासम्मलाई भने अठार सय डलरसम्म लाग्न सक्छ, यो रकमले फर्कदा सुनसरीको कोशी टप्पु वन्यजन्तु संरक्षण क्षेत्रको अवलोकन खर्चसमेत पुग्छ” राईले भने “३ वर्षभित्र म्याट र स्लिपिङ्ग ब्याग लिएर मात्र आउँदा पनि घुमेर जान सकिने गरी पूर्वाधारको योजना बनिरहेको छ।”

नेपालीहरू समूह बनाएर पदमार्गस्थलमै खाना र बास रोज्ने हो भने भने दैनिक एक हजार रूपैयाँदेखि एक हजार ५०० रूपैयाँसम्म खर्च पर्याप्त हुन्छ। आफूलाई बाटोमा खान ड्राइ फूडहरू भने बोक्नुपर्ने पदमार्गका अर्का अभियन्ता पावीहाङ्ग राई बताउँछन्।
आवश्यक सामग्री
ट्रेकिङ्ग सुट, ट्रेकिङ्ग जुत्ता, डाउन ज्याकेट, पन्जा, चश्मा, पानी खाने बोतल, ट्रेकिङ स्टिक, स्लिपिङ्ग ब्याग, म्याट, टेण्ट, कान छोप्ने टोपी, हट वाटर ब्याग, थर्मस, प्राथमिक उपचारका सामान, छाता वा रेनकोट भित्री न्यानो कपडा, मोजा, स्वीटर, वीन्डस्वीटर, टर्च, क्यामेरा आदि। स्रोतः देखापढी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार