मृगेन्द्र शम्शेरले अनुमति दिएको भोजपुरको ऐतिहासिक पुस्तकालय इतिहास बन्दै

सरोकारवाला निकाय भने मौन


भोजपुर । भवनको अभावमा दुर्गम पहाडी जिल्ला भोजपुर सदरमुकाममा स्थापना भएको ऐतिहासिक श्रीराम अमर शहीद पुस्तकालय अहिले बन्द अवस्थामा छ । २०७२ सालको भुकम्प भन्दा अगाडीसम्म संचालन र केही गतिबिधी गर्दे आएको पुस्तकालय घर जीर्ण भए पछि पुरै बन्द अवस्थामा पुगेको हो ।

तत्कालिन राणा शासनकालमा स्थानिय जागरुक युवाहरु नारदमणी थुलुङ, विचारी चन्द्र प्रसाद, इन्द्रप्रसाद श्रेष्ठ, जगदीश सापकोटा लगायतका युवाहरुद्धारा पुस्तक संकलन गरि मर्यादा पुरुषोत्तम भगवान श्रीरामको नामबाट संचालन गरिएको श्रीराम पुस्तकालयलाई शासकहरुको नीति नियममा संचालित हुने गरी तत्कालिन मेजर जरनल मृगेन्द्र शम्शेर जंगबहादुर राणाबाट २००५ सालमा अनुमति प्राप्त भएको थियो ।

अनुमति प्राप्त भएसँगै श्रीराम पुस्तकालय संचालनमा आएको हो । राणा बिरोधी आन्दोलनमा ज्यान गुमाएका वीर अमर शहीदहरुको सम्झनामा वि।सं। २०१० सालमा भोजपुर सदरमुकाममा नै श्री अमर शहीद पुस्तकालय नामको अर्को पुस्तकालय समेत स्थापना भएको थियो । पछि आएको पुस्तकालयलाई तत्कालिन वडा हाकिमले २०१२ साल माघ २२ गते धार्मिक तरिकाबाट पुस्तकालय संचालन गर्न अनुमति दिएको पुस्तकालय संचालक समितिका अध्यक्ष सिरोज श्रेष्ठ बताउनुहुन्छ ।

पुस्तकहरुको अभाव, आर्थिक समस्या, स्थान अभाव जस्ता कारणले गर्दा दुबै पुस्तकालयलाई अगाडी बढाउन र संचालन गर्न नसकिए पछि २०२३ साल माघ १६ गते श्रीराम पुस्तकालय र श्रीअमर शहीद पुस्तकालयलाई संयुक्त गरि श्रीराम अमर शहीद पुस्तकालय भोजपुरको नामबाट संचालनमा ल्याईएको पुस्तकालयका संरक्षक समेत रहनु भएका स्थानिय बुद्धिजिवी शेरबहादुर मोक्तानले बताउनु भयो । मोक्तानले भन्नुभयो, “सदरमुकाम मै संचालनमा रहेको यो जिल्ला कै पुरानो र ऐतिहासिक पुस्तकालय हो, तर अहिले आएर यसलाई पुन संचालन गर्नका लागि कतैबाट पनि साथ सहयोग आएन, भवन पुन निर्माण गर्न सकिएमा यसको इतिहास कायम राख्न सकिन्छ ।”

हाल यो पुस्तकालय सात आना दुई पैसा जग्गामा बनेको ३ तल्ले आफ्नै घरमा छ । तत्कालिन पुस्तकालयका संस्थापक सदस्य युवाहरुले चाड पर्वहरुमा देउँसी, भैली, लाखे जात्राहरु प्रर्दशन तथा विभिन्न अवसहरुमा नाटक एकाङ्कीहरु प्रदर्शन मञ्चन गरेर बचत गरि तथा तत्कालिन जिल्ला पञ्ंचायतबाट आर्थिक सहयोग प्राप्त गरि कुल १ लाख १४ हजार रुपैयाको लागतमा २०४० साल भाद्र महिनामा भोजपुर सदरमुकाममा आफनै घर निर्माण भएको थियो ।

त्यस बेला पुस्तकालय संचालनका लागि घर निर्माण कार्यमा युवाहरुले स्वेच्छाले श्रमदान गरि माटो बोक्ने, ढुङ्गा बोक्ने, गाह्रो लगाउनेलाई मद्यत गर्ने, हिलो मुछ्ने वोक्ने जस्ता काम गरेकोले पुस्तकालय प्रति सवैको सकारात्मक भावना र सोच देखिएको मोक्तानले बताउनुभयो ।

पुस्तकालयले भोजपुर जिल्लाको शैक्षिक, बौद्धिक, साहित्यिक, सामाजिक, खेलकुद, साँस्कृतिक लगायत अन्य विविध क्षेत्रहरुमा समेत गतिबिधी संचालन गर्दे आई रहेको थियो । जिल्ला प्रशासन कार्यालय, भोजपुरमा संस्था दर्ता ऐन २०३४ अनुसार २०३८ साल श्रावण ६ गते २ नम्वरमा दर्ता भएको यस पुस्तकालयले समाज कल्याण परिषदमा समाज कल्याण ऐन २०४९ अन्तर्गत दर्ता भएर प्रमाण पत्र समेत प्राप्त गरेको पुस्तकालय संचालक समितिका पूर्व सचिव बिनम श्रेष्ठले जानकारी दिनु भयो ।

पुस्तकालयबाट २०२८÷०२९ सालमा नाटक प्रदर्शनको लागि “कलाकुञ्ज सांस्कृतिक समूह” स्थापना भएको थियो । जसले आफै नाटक लेख्ने, मन्चन निर्देशन गर्ने काम गरि प्रत्येक शुक्रबार जनसेवा निमावि, सामुदायिक भवनहरुमा नाटक प्रदर्शन गर्ने गरेको थियो । केही नाटक र नाटकका सम्वादहरु देखि आत्तिएर तत्कालिन शासकहरुले नाटकका कलाकार, निर्देशकहरुलाई हिरासतको चिसो छिडिमा समेत राखेको पाइन्छ । उनीहरुले तुवालोले ढाकेको बस्ति, छ औले मान्छे, सतित्व, दोबाटो, पर्दाभित्रको रहस्य जस्ता चर्चित नाटकहरुलाई सदरमुकाममा मात्रै सिमित नराखी गाउँ–गाउँमा समेत प्रदर्शन गरेका थिए ।

२०५७ सालमा नेपाल राजकिय प्रज्ञा प्रतिष्ठानको आयोजनामा विराटनगरमा भएको “पूर्वाञ्चल क्षेत्रिय गीत संगीत महोत्सव” मा यसै पुस्तकालयले समग्र भोजपुर जिल्लाको प्रतिनिधित्व गर्दै भाग लिन सफल भएको थियो ।

श्रीराम अमर शहीद पुस्तकालयले बौद्धिक तथा प्राज्ञिक क्षेत्रका स्रष्टा र सर्जकहरुलाई सम्मान प्रदान गर्दै आएको छ । साहित्यकार मेघराज नेपाल “मन्जुल”, विप्लव ढकाल, शैलेन्द्र साकार, विष्णुविभु घिमिरे, नेपाली भाषामा स्नाकोत्तर जापानी नागरिक हारोहितो नोजुलाई अभिनन्दन तथा भोजपुर साहित्य, कला, संगीत महोत्सवको अवसरमा हिरन्य भोजपुरे, उर्मिला भोजपुरे, श्रवण मुकारुङ, शैदेन्द्र साकार, बुलु मुकारुङ, भुपाल राई, मुकारुङ गोविन्द, भिषण मुकारुङ, श्याम तमोट, पारश मुकारुङ, खेमराज गुरु«, आभा मुकारुङ, शेर बहादुर मोक्तान, गीता कार्की, दिपा राई जस्ता नेपालका मूर्धन्य कवि तथा कवयत्री, साहित्यकार, गीतकार, गायक गायिका तथा संगीतकारहरुलाई एकै थलो पुस्तकालय हातामा सम्मान प्रदान गरेको थियो । जो अधिकांश भोजपुरे हुन् र तिनीहरुको सम्बन्ध यस पुस्तकालयसँग कुनै न कुनै तवरले जोडिएको छ ।

पुस्तकालय संचालक समितिका पूर्वसचिव श्रेष्ठका अनुसार पुस्तकालयले विगतमा वीरेन्द्र शुभजन्मोत्सव विषेशांकहरु तथा पिखुवाको सुसेली लगायत थप अरु केही फुटकर साहित्यिक पुस्तकहरु समेत प्रकाशन गरि सकेको छ । भानुजयन्ती, मोती जयन्ती, लक्ष्मी जयन्ती, शहिद दिवस तथा पुस्तकालय बार्षिकोत्सब लगायतका अवसरहरुमा साहित्यिक भेला, कविता गोष्ठीहरुलाई पुस्तकालयले संचालन गर्दे आई रहेको थियो ।

पुस्तकालयले सामाजिक एवं साँस्कृतिक क्षेत्रमा समेत सहभागिता जनाएको छ । साँस्कृतिक पर्वहरुको जगेर्ना गर्न तथा परम्परा कायम राख्न प्रत्येक वर्ष नागपन्चमी देखि सुरु हुने लाखेजात्रा पर्वमा लाखे नाच, गाई जात्रा, कृष्णअष्टमी जात्रा, रथ यात्राहरुको प्रदर्शन र नेपाल सम्वत, ल्होसार चण्डीनाचको आयोजना सहयोग तथा सहभागिता गर्ने गरेको छ । सदरमुकाममा संचालन गरिएको पुस्तकालयले खेलकुद क्षेत्रमा पनि सहयोग गरेको बताउँदै भोजपुर जिल्ला फुटवल संघका अध्यक्ष प्रबिण सुवाल भन्नुहुन्छ, “खेलकुद क्षेत्रलाई पनि पुस्तकालयले आफ्नो तर्फबाट विविध तवरले टेवा पु¥याउँदै आएको थियो, तर अहिले पुस्तकालय संचालनमा नआउनु, घर समेत पुननिर्माण हुन नसक्दा समस्या देखिएको छ ।”

स्थानिय मात्र नभएर विद्यालय स्तरका अतिरिक्त क्याम्पसका विद्यार्थीहरु पनि पुस्तकालयबाट प्रत्यक्ष लाभान्वित बनेको बताउँर्दै स्थानिय राजेन्द्र प्रधानले प्रमाण पत्र तह, स्नातक तहका विभिन्न विषय र लेखकहरुका पुस्तकहरु समेत बिगतमा पुस्तकालयमा पाइने गरेको बताउनुभयो । प्रधानले भन्नुभयो, भयो, “अन्त नपाइने पुस्तकहरु समेत यस पुस्तकालयमा पढन पाइन्थ्यो, कितावका लागि कार्ड बनाएर निश्चित तोकिएको समयमा अध्ययन गरेर फिर्ता गर्ने समेत ब्यवस्था थियो ।”

यसका अलावा पुस्तकालयमा साहित्य, व्याकरण, उपन्यास नेपाली हिन्दी, कथा, कविता नाटक, निबन्ध, इतिहासका पुस्तकहरु छन साथै नेपाल राजकिय प्रज्ञा प्रतिष्ठानका पुस्तकहरु, हास्य, विभिन्न ठाउँबाट प्राप्त पुस्तकहरु, भूगोल, अर्थशास्त्र, अंग्रेजी विधाका पुस्तकहरु, रेफरेन्स पुस्तकहरु समेत गरि करिब ६ हजार थान पुस्तकहरु छन् । पुस्तकालय राष्ट्रिय तथा स्थानिय स्तरमा मासिक, पाक्षिक, साप्ताहिक हिमाल, नेपाल, मुना, मधुपर्क, नागरीक, समाचार–पत्र, स्कलरसिप–अंग्रेजी पत्रिकाहरु तथा दैनिक साप्ताहिक पत्र पत्रिकाहरु गोरखापत्र, कान्तिपुर, कान्तिपुर साप्ताहिक, साप्ताहिक, साप्ताहिक विमर्श, जनआस्था, दृष्टि, जस्ता पत्रपत्रिकाहरु समेत नियमितरुपमा आउने गर्दथे ।

तर अहिले आएर घर पुन निर्माण हुन नसक्दा पुस्तकालय नियमित संचालनमा समस्या भएको पदाधिकारीहरुको भनाई रहेको छ । संचालक समितिका अध्यक्ष श्रेष्ठले भुकम्पका कारण क्षति पुगेको पुस्तकालयको घर पुन निर्माण हुन नसक्दा नियमित संचालनमा समस्या भएको बताउनुभयो । श्रेष्ठ भन्नुहुन्छ, “पुस्तकालयको नाममा सदरमुकाममा पक्की घर बनाउन आर्थिक श्रोत जुटाउन नै समस्या छ, हामीले पुन निर्माणका लागि सरोकारवाला र स्थानिय निकायहरुमा भने पटक पटक पहल त गर्दे आएका नै छौ, तर सहयोग कतैबाट पाउन सकिएको छैन ।” पुर्णरुपमा पुन निर्माण हुन नसके पनि हामीले केही सामान्य मर्मत भने गरेका छौ, तर पुस्तकालय नै पुन संचालन गर्न भने सकिदैन श्रेष्ठको भनाई छ ।

पुस्तकालयमा ई लाइब्रेरी संचालनका लागि काठमाण्डौमा रहेको पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइराला संरक्षक रहेको ईश्वर मन्दिरले २ थान कम्प्युटर समेत पुस्तकालयलाई सहयोग गरेको थियो । पुस्तकालय संचालनमा धेरै बर्ष काम गरेर हाल काठमाण्डौ कार्य क्षेत्र बनाउनु भएका पत्रकार तथा हाल ईश्वर मन्दिरका महासचिव संकेत कोइराला सदरमुकाममा रहेको ऐतिहासिक पुस्तकालयमा पुस्तक र पत्रपत्रिका हेर्न आउनेको भिड सम्झदै भन्नुहुन्छ, बिहान र बेलुका खुल्ने पुस्तकालयमा हामीले नियमित पुस्तक लिन आउनेहरुका लागि कार्ड मार्फत पुस्तक दिने ब्यवस्था मिलाएका थियौ । पुस्तकालयका पुस्तकहरु लगेर अध्ययन गर्ने साधारण सदस्यहरुको संख्या मात्र करिव ४ सय थियो ।

भोजपुर घर भएका पूर्व अर्थमन्त्री शंकर प्रसाद कोइराला राणा शासन कालमा संचालनमा आएको पुस्तकालय संरक्षणमा सवैले ध्यान दिन जरुरी रहेको बताउनुहुन्छ । मैले सदरमुकाममा रहेको ऐतिहासिक पुस्तकालय पुननिर्माणका बिषयमा सम्वन्धित निकायहरुमा पहल प्रयत्न गर्दे आई रहेको छु । हामीले स्थानिय तह र सरोकारवालाका बिचमा पुस्तकालयको भवन पुन निर्माणका लागि छलफल तथा अन्तरक्रिया बढाउन पनि जरुरी छ, कोइरालाले भन्नु भयो ।

भुकम्पका कारण क्षति पुगेको पुस्तकालय पुन निर्माणका लागि भुकम्प पुन निर्माण प्राधिकरणले संस्थाका नाममा रहेका भवनहरुलाई पुन निर्माण गर्ने लिष्टमा नराखिदिएका कारण समस्या भएको थियो । पुस्तकालयको पुन निर्माणका लागि लाखौ रकम आवश्यक पर्छ, सो जुटाउन समस्या देखिएको छ, जसले गर्दा इतिहास नै मेटिने संचावना देखियो, स्थानीय नविन सुवालले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार