लिभिङ विथ आइसिटीको आयोजनामा तेस्रो संस्करणको ‘नेटगियर आइसिटी अवार्ड २०१८’ सम्पन्न भएको छ । ‘सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ मूल नारासहित शुक्रबार राजधानीमा भएको एक समारोहमा विभिन्न ७ विधामा आइसिटी अवार्ड प्रदान गरियो । विभिन्न विधामा सर्वोत्कृष्ट भएका विजयीहरुलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटासहित विशिष्ट अतिथिहरुले सम्मान गरेका थिए ।
सोअवसरमा बोल्दै मन्त्री बास्कोटाले सरकारले आइसिटी क्षेत्रका लागि आवश्यक नीति र पूर्वाधारको वातावरण तयार पारिरहेको बताए । समाज सरलबाट जटिलतर्फ जाने चर्चा गर्दै उनले मानिसको जीवन सहजताका लागि नयाँ प्रविधिको विकास भइरहेको बताए । ‘नेपालको आइसिटी क्षेत्रमा पनि केही हुँदैछ भन्ने प्रमाण आइसिटी अवार्डले दिएको छ । यो क्षेत्रमा सम्भावनाको खोजी गर्दै नयाँ पुस्तालाई भविष्य छ भनेर चिनाउन र हरेक चुनौतीलाई सबैले मिलेर सामना गर्न आवश्यक छ ‘
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव केदारबहादुर अधिकारी, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका सचिव कृष्णराज बिसी, पूर्वमन्त्री गणेश साह, नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेल लगायतले विकासमा आइसिटीको प्रयोग, सम्भावना र अवार्डले प्रदान गरेको उत्साहको विषयमा मन्तव्य राखेका थिए ।
विभिन्न विधाका विजयीहरुलाई मन्त्री बास्कोटासहित विभिन्न मन्त्रालयका सचिव, नेपालका सरकारका विभिन्न विभागका प्रमुख , आइटी क्षेत्रका उद्योगी एवं व्यवसायी, बैंकिङ तथा इन्सुरेन्स, शिक्षण तथा टेलिकम क्षेत्रका प्रमुखहरु सहित ४ सय ५० बढिकोे उपस्थिती रहेको थियो ।
आइसिटी अवार्ड सूचना प्रविधि क्षेत्रका विकास र विस्तारमा उत्कृष्टतको खोजी गर्ने अभियान भएको अवार्ड समितीका अध्यक्ष राजन लम्सालले बताए । प्रविधिको क्षेत्रमा अग्रजलाइ सम्मान र नयँालाई प्रोत्साहनको प्लाटर्फम विकास गरिएको लम्सालले कार्यक्रममा जानकारी दिए ।
कसलाई कुन अवार्ड ?
आइसिटी अवार्डमा कुल ७ विधा रहेका थिए । यसअन्तर्गत आइसिटी स्टार्टअप अवार्ड, आइसिटी प्रडक्ट अवार्ड, आइसिटी पायोनियर अवार्ड, आइसिटी आन्ट्रप्रनर अवार्ड, आइसिटी डायस्पोरा अवार्ड, डिजिटल गभर्नेन्स अवार्ड, आइसिटी मिडिया रिकग्निसन अवार्ड रहेका थिए ।
साथै स्टार्टअप र प्रडक्ट अवार्डमा एक कम्पनीलाई जुरी स्पेशल मेन्सन अवार्ड पनि प्रदान गरिएको थियो । सबै विधामा १ सय २० को अनलाइन आवेदन आएको थियो । १० जनाको जुरी समुहले १ महिनासम्म अध्ययन, अन्तवार्ता, पि्रजेन्टेशन, कार्यालय भ्रमण, अनलाइन भोटिङ लगायतको छनौट प्रकृयाबाट उत्कृष्ट छानिएको जुरी संयोजक हेमपाल श्रेष्ठले जानकारी दिए ।
आइसिटी मिडिया रिकग्निसन अवार्ड साउद र न्यौपानेलाई
त्यसैगरी आइसिटी मिडिया रिकग्निसन अवार्ड पत्रकारद्वय सन्तोष न्यौपाने र गोपाल साउदलाई प्रदान गरिएको छ । साउद नयाँपत्रिका दैनिकमा कार्यरत छन् भने न्यौपाने नागरिक दैनिकमा कार्यरत छन् ।