विद्युत् नियमित नहुँदा भोजपुरको जनजीवन प्रभावित

विद्युत नियति हुन तीन महिना लाग्छः प्राधिकरण


भोजपुर । जिल्लामा ३३ केभिए केन्द्रीय प्रसारण लाइन विद्युत् पटक–पटक अबरुद्ध हुँदा जनजीवन प्रभावित हुन थालेको छ । प्राधिकरणको विना सूचना पटक–पटक विद्युत् जाने–आउने हुन थालेपछि सेवाग्राही आक्रोशित समेत बनेका छन् ।
विद्युत् अबरुद्ध हुदाँ जिल्लास्थित सरकारी कार्यालय, तथा स्थानीय तहका सरकारी कार्यालय, वैंक तथा वित्तिय संस्था, ईलेक्ट्रोनिक पसल, कलकारखाना रेडियो स्टेसन प्रत्यक्ष मारमा परेका छन् । झ्याप्प आउने र जाने समस्याका कारण विद्युतिय उपकरणमा समेत ठूलो मात्रमा क्षति हुने गरेको सेवाग्राहीको बताउँछन् । दिनमा दुई दर्जन बढी समय विद्युत अवरोध हुने भएपनि सेवाग्राही समस्याको विषयमा अनविज्ञ रहेका छन् ।
जिल्लाबाट दुई ओटा जलविद्युत आयोजना सञ्चालनमा रहेका भएपनि त्यसको लाभ भोजपुरबासीले लिन नपाएको स्थानीय सागर कुमार राईले बताए । राईले भने,‘ महिनौबाट विद्युत्मा समस्या आईरहेको छ । विद्युत कतिबेला आउछ कति बेला जान्छ पत्तो छैन ।
लामो समयबाट विद्युत्मा यस्तो समस्या हुँदा पनि सरोकारवाला पक्ष मौन छन्। तत्काल यस समस्याको समाधानमा ध्यान जाओस् ।’ सेवा अनियमित हुनुमा विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रको चरम लापरवाही रहेको गणेशथान दुग्ध उद्योग भोजपुरका सञ्चालकअनिल बस्नेतले बताए ।‘सेवा अवरोध हुनुमा प्राधिकरणको लापरवाही देख्छु । लोडसेडिङ हो भने तालिका दिनुपर्यो । होइन भने यसरी जनतालाई दुःख दिन मिल्छ ?।’ बस्नेतले भने,‘ हामीले विद्युत् सितैमा बालेको त हैन नि, महशुल तिरेका छौँ । तर सेवा देख्दा अचम्म लाग्छ । विद्युत अवरोध हुँदा व्यावसायमा नै समस्या छ, विद्युतका कारण सेवाग्राही मारमा छन् खोइ यस तर्फ कार्यालयको ध्यान गएको ? महिनौबाट यस्तो समस्या छ अनि ।’ विद्युत दैनिक जसो समस्या आएपछि स्थानीयले सामाजिक सञ्जाल मार्फत विद्युत प्राधिकरणको सेवा प्रति प्रश्न उठाएका छन् । सदरमुकाममा समेत स्थानीयले विद्युत् सेवाको राम्रो उपभोग गर्न पाएका छैनन् ।

यता, ग्रामिण भेगमा विस्तार भएको विद्युत् सेवाको अवस्था झन् नाजुक रहेको टेम्केमैयुङ गाउँपालिका– ५ का स्थानीय एकराज विष्टले बताए। हप्तामा एक दिन पनि विद्युतको सेवा लिन नपाएको उनको गुनासो छ । विष्टले भने ‘ विद्युतको तार विस्तार भएको छ । नियमित रुपमा महशुल तिरेका छौँ । तर महिना दिनमा चार दिन पनि राम्रोसँग विजुली बाल्न पाएको अवस्था छैन् । कति वेला आउछ कति वेला जान्छ, पत्तो नै हुँदैन । प्राधिकरणलाई फोनबाट जानकारी गराउदा पनि वास्ता नै गर्दैनन् । अब यो समस्या कसलाई सुनाउनु आइहाल्यो भने बाल्ने हो नत्र यतिकै बस्न बाध्य छौँ ।’
विद्युतका कारण विद्याथीहरुको अनलाईन कक्षा लिनसमेत समस्या भएको छ । नियमित विद्युत सेवा अबरोध हुँदा उनी शिक्षा लिनबाट समेत बञ्चित भएको अभिभावकको गुनासो छ । यता शिक्षकहरुले पनि विद्यार्थीहरुलाई अनलाइन अध्यापन गराउन सकेका छैनन् ।
जन सेवा आधारभुत विद्यालय भोजपुरका शिक्षक नवराज लुईटेलले भने,‘ विद्युत् सेवा अबरोध हुँदा विद्यार्थीहरुले शिक्षासमेत लिन पाएका छैनन् । विद्युत् नभएपछि उनीहरुलाई कसरी अनलाईन अध्यायन गराउने हामीलाई पनि समस्या छ । विद्युत्लाई नियमित बनाउन सरोकारवाला पक्षको किन ध्यान नभएको होला रु दैनिक जस्तो भर्चुअल तालिम हुन्छ, त्यस्ता तालिम लिन पनि समस्या छ । यो समस्याको समाधानमा ध्यान दिन जरुरी छ ।’
विद्युत्का कारण मोबाइल चार्ज गर्नसमेत स्थानीय नागरिकलाई समस्या भएको छ । यता नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले भने बर्षात, हावाहुरी तथा ओभर लोडका कारण विद्युत्मा समस्या भएको जनाएको छ । स्थानीय हाइड्रोपावरबाट उत्पादन भएको विद्युत्लाई व्यवस्थापन गर्न समस्या भएको कारण विद्युत् अवरोध हुने गरेको कार्यालयको भनाइ छ ।
कार्यालय प्रमुख सुधिर कुमार रायले भने,‘ हाम्रो सिस्टमले लोड व्यवस्थापन गर्न नसक्दा विद्युत्मा समस्या छ । वर्षातको समय लाग्यो स्थानीयस्तरमा सञ्चालनमा रहेका पावर हाउसको उत्पादन क्षमता बढेको छ । उनीहरुले उत्पादन गरेको विद्युत्को व्यवस्थापन तथा खपत नहुँदा यो समस्या देखिएको छ । यसको निराकरणको लागि काम गरिरहेका छौँ । कुनै अवरोध विना निरन्तर काम भएमा तीन महिनासम्ममा यो समस्या समाधान हुन्छ ।’
जिल्लाको आन्तरिक खपत कम भएको कारण यहाँका पावर हाउसले उत्पादन गरेको विद्युत आन्तरिक रुपमा वितरण गर्न समस्या भएको कार्यालयले जनाएको छ । प्रमुख रायले भने,‘हाम्रो जिल्लामा सबै भन्दा बढी विद्युतको माग १ हजार किलोवाट छ । यहाँको दुई ओटा पावर हाउसवाट कम्तीमा पनि ५ मेघावाट र बढीमा १३ मेघावटसम्म विद्युत उत्पादन भइरहेको छ । हाम्रो विद्युत खपत कम भएको कारण यहाँको पावर हाउसले उत्पादन गरेको विद्युत् आन्तरिक रुपमा जिल्लामा वितरण गर्न पनि समस्या छ ।
थोरैमा पनि हाम्रो जिल्लाको खपत ३ मेघावट भएको भए आन्तरिक रुपमा पनि वितरण गर्न सकिन्थ्यो । त्यसले पनि हालको समस्या समाधान भूमिका खेल्ने थियो, त्यो पनि सम्भव भएन ।’ भोजपुुरमा १८ हजार अर्थात ५३ प्रतिशत नागरिक केन्द्रीय विद्युत् पहँुचमा रहेको कार्यालयले जनाएको छ । यहाँ हिले–भोजपुर ३३ केभी राष्ट्रिय प्रसारण लाइनअन्तर्गत १९ कात्तिक २०६७ देखि निर्माण सुरु भएको राष्ट्रिय प्रसारण लाइन निर्माण सम्पन्न भएसँगै विद्युत् सेवा विस्तार भएको हो ।
जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित टेम्केमैयुङ गाउँपालिकामा केन्द्रीय प्रशारणलाइन र स्थानीयस्तरमा उत्पादन भएको विद्युत् गरी गाउँपालिकामा ९७ प्रतिशत भन्दा बढी विद्युत्को पहँुच पुगेको गाउँपालिकाका प्रवक्ता सुनिल राईले जानकारी दिए ।
दक्षिणी क्षेत्रमा अवस्थित हतुवागढी गाउँपालिकाको करीब १० प्रतिशत भू–भागमा मात्र विद्युत् विस्तार भएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । भोजपुर नगरपालिकाको सबै वडामा नै विद्युत् पुगेको भएपनि केही वडाका सबै घरपरिवारमा पुग्न केहि समय लाग्ने भोजपुर नगरपालिका उप–प्रमुख ममिता राईले जानकारी दिइन् ।
यता, षडानन्द नगरपालिकाका करीब ७० प्रतिशत क्षेत्रमा विद्युत् विस्तार भइसकेको र अन्य क्षेत्रमा पनि विस्तारको काम भईरहेको नगरपालिकाले जनाएको छ । साल्पासिलिछो, आमचोक र अरुण गाउँपालिकाको केही वडामा विद्युत् विस्तार भए पनि पनि अधिकांश ठाउँमा विद्युत् पुग्न सकेको छैन। ती स्थानीय तहले पनि सबै ठाउँमा विद्युत् विस्तार गर्ने लक्ष्यका साथ योजना बनाएर काम अगाडि बढाएको बताउने गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार