षडानन्द नगरपालिकाः पर्यटन सम्भावना र चुनौती

  बाबुराम बास्तोला

पुर्वमा अरुण नदी, संखुवासभा जिल्ला, पश्चिममा साउनेडाडाँडा, उत्तरमा साल्पा सिलिछो गाउँपालिका अनि दक्षिणमा भोजपुर नगरपालिका र अरुण गाउँपालिकाले घेरिएको । १४ वटा वडाको कुल क्षेत्रफल २ सय ४१ वर्गकिलोमिटर । २०६८ सालको राष्ट्रिय जनगणना अनुसार, ३१ हजार ६ सय १० को मिश्रितजनसंख्या । पुर्वी पहाडी जिल्ला भोजपुरको सदरमुकाम भोजपुर बजारबाट १२ कोष उत्तरी क्षेत्रमा पर्ने दिङ्लाको नामले परिचित षडानन्द नगरपालिकाको संक्षिप्त पाश्र्वचित्र हो यो ।

षडानन्द नगरपालिकाबासिले धरानदेखि ढाकरमा भारी त खेपे नै । यातायातको रहर गर्दै विभिन्न आरोह र अवरोहहरुलाइ पार गर्दै गाडी नै पनि भित्राए । सडक सञ्जालमा नजोडिंदासम्म यहाँको पीडा साँच्चै बिर्सनलायक थियो । बुढापाकाले ढाकरमा धरानबाट नुनको भारि भोकेको पिडा सुन्दा युवापिढिलाई एकादेशको कथा जस्तो लाग्छ, त्यसैले पनि प्रष्ट हुन्छ कि यहाँको पिडा ।जिल्ला आफैमा बिकट, अझ झण्डै आधा क्षेत्र ओगट्ने उत्तरी क्षेत्र झनै बिकट । यिनै बिकटताका कारण यहाँको सास्ती र समस्या एकमात्र थिएन, अनेकथिए ।
अझैपनि दुर्गम नै भनिने षडानन्द नगरपालिकाले अब भने फड्को मार्दैछ । विकास, निर्माणलगायतका भौतिक पुर्वाधारमा मात्र होईन स्वास्थ्य, शिक्षा जस्ता मानव विकास सूचाकांकमा पनि षडानन्द नगरपालिकाले उल्लेख्य प्रगति हासिल गरिरहेकोछ । दिनानुदिन विकासमा अगाडि बढिरहेको षडानन्द नगरपालिकामा पर्यटन, जडीबुटी र राष्ट्रिय गौरवसँग जोडिने योजना÷आयोजनाका प्रशस्त सम्भावनाहरु छन् ।दिङ्ला सभ्यताका प्रवर्तक आवाल ब्रम्हाचारी षडानन्द अधिकारी हुन् ।

नेपालकै जनस्तरबाट संचालित पहिलो पाठशालाका संस्थापक समाज सुधारक शिक्षासेवी आवाल ब्रम्हाचारी षडानन्द अधिकारीले वि.सं. १९३२ मा षडानन्द संस्कृत पाठशाला संचालनपछि दिङ्लाको ऐतिहासिक महत्व बढेको थियो । नगरपालिका घोषणा भएपछि शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, विद्युत, उद्योग आदी विकासको प्रवल सम्भावना बढेर गएको छ । दिङ्ला क्षेत्र ऐतिहासिक थूम पनि हो । यहि षडानन्द नगरपालिकामा पर्यटनका प्रसस्तै सम्भावनाहरु रहेका छन् ।
धार्मिक पर्यटकहरुका लागि षडानन्द नगरपालिका गन्तव्य हुनसक्छ । यस क्षेत्रमाआबाल ब्रह्मचारी षडानन्द अधिकारीले स्थापना गरेको सिताराम, रामचन्द्रमन्दिर मुख्य धार्मिक स्थल हो ।

विषेशत यस मन्दिरमा वर्षमा दुईपटक मेला लाग्ने गरेको छ । बाला चर्तुदशी र राम नवमीमा हजारौँको संख्यामा भत्तजनहरु रामचन्द्र मन्दिरमा आउने गरेका छन् । त्यस्तै षडानन्द शालिक, कैलाश डाँडा, गणेश मन्दिर, जाल्पा मन्दिर, गुम्बा, पशुपति, पखुवादेवीथान, चण्डीथान, शिवालय, गडिगाउँ आदि यहाँका बेग्ला बेग्लै आस्था र विश्वास बोकेका शक्तिपीठहरु हुन् ।पखुवादेवीथानमा वर्षमा दुई पटक मेला समेत लाग्ने गरेको छ । पखुवादेवीथानमा नुहाएपछि पाप पखालिने, सन्तान नहुनेको सन्तान हुने विश्वास रहि आएको छ । त्यस्तै यहाँको मुख्य तथा आर्कषक गन्तव्यमा १०८ आबाल वह्मचारी षडानन्द अधिकारीको जन्मस्थल, क्रान्ति योदा योगमाया न्यौपानेको जन्मभुमि र योगमाया समाधीस्थल समेत रहेको छ । यस्ता शक्तिपिठहरुको उचित संरक्षण गर्न सक्नुपर्ने देखिएको छ । नगरपालिकामा भएका यस्ता शक्तिपिठहरुको हालसम्म अध्ययन अनुसन्धान हुन सकेको छैन ।
षडानन्द नगरपालिकाको सबैभन्दा हाचो ठाउँ ३ सय ३६ मिटर उचाईमा रहेको लम्सुवाघाट अरुण नदि र सबैभन्दा अग्लो ३ हजार १ सय १० मिटर उचाईमा अवस्थित रहेको साउने डाडाँ यहाँको पर्यटनको प्रमुख गन्तव्य हो । साउनेडाडा आसपासमा विभिन्न प्रकारका लालिगुराँसहरु, विभिन्न प्रकारका जडिबुटिहरु समेत प्रशस्त मात्रामा पाइने गरेको छ ।

साउनेडाडाँबाट मकालु हिमाल, सिलिचोङ डाडाँ, टेम्के डाडाँ लगायतका हिमाल तथा पहाडको समेत दृष्यावलोकन गर्न पाइन्छ । चर्चित मुन्धुम पदमार्ग समेत यहि क्षेत्रमा पर्छ । हिमालनजिकै पुगेर त्यसको सौन्दर्यमा रमाउने पर्यटकहरुका लागि डाँडैडाँडा थकानको महसुससमेत नहुने गरी हिँडिरहुँ लाग्ने यो पदमार्गबाट सगरमाथा, कञ्चनजंघा, मकालु, ल्होत्से, लगायतका ८ हजार मिटर अग्ला ६ वटा हिमाल देख्न सकिने र ३३ वटा हिमश्रृंखला र तराईको भूभाग अवलोकन गर्न सकिने अध्ययनहरुले देखाएका छन् ।
ठूला घाँसे मैदान, फराकिला चौरीखर्क तथा भेडीगोठको बीचबाट डाँडाको शीरैशीर दर्जनौँ प्रजातिका गुराँस, चाँप, कटुस, लोक्ता, विविध जडीबुटी तथा घना जंगल अवलोकनमा रम्न पाइने यस क्षेत्रको अर्को आकर्षण हो । साउने क्षेत्रमा पाइने विभिन्न प्रजातिका चराचुरुङ्गी, रेडपाण्डा, भीर माहुरी र विभिन्न जंगली जनावरहरुसँग पनि त्यत्तिकै लुकामारी खेल्न पाइन्छ ।
सगरमाथा चुचुरोमा पहिलो पाइला टेकेका तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले २०१० सालमा यही पदमार्गको एउटा अंशको रुट प्रयोग गरेका थिए भन्ने कथन समेत छ । मध्यपहाडी सडक सञ्जालसँग जोडिएको यो पदमार्ग ‘भर्जिन’ भएको तथा तुम्लिङटार विमानस्थलबाट दिङ्ला बजार हुदै र भोजपुरबाट हवाइमार्ग हुँदै सहजै पुग्न सकिने क्षेत्र भएकाले पर्यटकहरुलाई आवागमनमा थप सहज बन्ने निश्चित छ ।
विश्वको पाँचौ अग्लो संखुवासभामा अवस्थित मकालु हिमाल र अरुण उपत्यकासँग जोडिने पर्यटन यहाँको अर्को सम्भावना हो । मकालु आरोहण र यसको बेसक्याम्प भएर पदयात्रा गर्न बर्षेनी ठुलो संख्यामा पर्यटकहरु आउँछन् । नेपालमा राणाकाल हुदैदिङ्ला तथा मझुवाबेसिको चर्चा भएकोले पनि मकालु आधारशिविर जाने पर्यटकहरु षडानन्द नगरपालिका भित्रने गरेका छन् ।
विश्वकै होचो उपत्यका अरुण उपत्यकाको भाग समेत षडानन्द नगरपालिकामा पर्छ । त्यस्तै सबैभन्दा बढि चरा पाइने ठाउँ भनेर समेत चिनिएको अरुण उपत्यका षडानन्द नगरपालिकाको भर्जिन पर्यटकिय गन्तव्य हो ।
त्यति मात्रै होइन सप्तकोशीको सबैभन्दा ठुलो सहायक नदी अरुणमा पनि पर्यटनको ठुलो सम्भावना छ । ¥्याफ्टिङ, जेटबोट सञ्चालन हुनसके मनोरञ्जन र यातायात दुवै क्षेत्रमार्फत षडानन्द नगरपालिकाले फाईदा लिन सकिन्छ ।
षडानन्द नगरपालिकामा विश्वमा दुर्लभ मानिएको अशोक वृक्ष समेत रहेको छ । पर्यटकिय क्षेत्रको कुरा गर्दा जिल्लाको सबैभन्दा अग्लो छाँगे झरना यहाँको मुख्य गन्तव्य हो । छागे झरनालाई अझ व्यवस्थित बनाएर रक क्लाम्बिङ, दिङ्ला बजार बाट खार्तम्छा हुदै छाँगेसम्म छोटो दुरीको पदयात्रा तथा धार्मिक हिसाबले समेत गन्तव्य बनाउन सकिन्छ । छाँगे झरनाको शिरमा रहेको देवीथानमा परापुर्वकालदेखि पुजाआजा गरेको भन्ने कथन भएतापनि ठ्याक्कै कहिलेदेखि हो भन्ने इतिहास भने भेटिएको छैन ।
छाँगे संगसगै साउने डाडाँ यहाँको आर्कषणको केन्द्र बिन्दु हो । साउने डाडाँ तथा छागे झरनामा आजभोलि आन्तरिक तथा वाह्य पर्यटकको आर्कषण बढ्न थालेको छ । छोटो रुटको पदयात्राकै लागि पनि आन्तरिक पर्यटकहरु छागे झरना पुग्न थालेका छन् । केहि वर्ष अगाडिसम्म सुनसान जस्तै रहेको छाँगे झरनामा आजभोलि मानिसको उपस्थिति बाक्लिन थालेको षडानन्द नगरपालिका वडा नं ३ का वडा अध्यक्ष गणेश प्रसाद अधिकारीले बताए । झरनामा मनोरञ्जन संगै भिर माहुरिको समेत दृष्यावलोकन छाँगे पुगेपछि गर्न सकिन्छ ।
अलैंची उत्पादनमा अग्रणीमध्येको एक स्थान षडानन्द नगरपालिका हो ।यहाँरुद्राक्षकोसमेत वर्षेनी करोडौंको कारोबार हुने गरेको छ । यसका अतिरिक्तविभिन्न प्रकारका हावापानीमा चाँप, गुराँस, ढ्याग्रे सल्लो, आदि वनस्पति, चिराइतो, जट्टामसी, पाँचअम्ले, नागबेली आदि जस्ता जडिवुटि पाइन्छ । विभिन्न प्रकारका जडिबुटि संकलन गरेर यहाँका मानिसहरुले राम्रो आम्दानि गरिरहेका छन् । सानाठुला १० भन्दा बढि वित्तिय सस्थाहरुले कारोबार गरिरहेको उदाहरणले पनि यहाँको आर्थिक चहलपहल प्रष्ट पार्छ ।
जनावरमा मृग, स्याल, बनेल, बाघ, भालु, बादर तथा पशुपंक्षीमा डाँफे, मुनाल, सुगा, कालिज, काँडे भ्याँकुर आदी पाइन्छ । नगरपालिका क्षेत्रको भौगोलिक वनावट बेशीँ, खोज, समथर भू–भागदेखि हिमाली क्षेत्रले समेटेको छ । नगरपालिकाको तल्लो तटिय तथा मध्य क्षेत्रमा खाद्यान्नवालीको अलवा नगदेबालीको रुपमा रुद्राक्ष, सुन्तला, कागती र माथिल्लो भागमा अलैची, आलु, चिराइतो, सतुवा, पाँचअम्ले, अम्लिसो र जडिवुटीहरु प्रशस्त सम्भावना रहेको छ । नगरपालिका क्षेत्रभित्र बिभिन्न प्रकारका खनिजहरुको पनि प्रशस्त खानी रहको भनिएता पनि त्यसको उत्खनन तथा अध्ययन हुन सकेको छैन ।
पर्यटन विकासको प्रशस्त सम्भावना भएर पनि षडानन्द नगरपालिकामा बिभिन्न प्रकारका चुनौतीहरु रहेका छन् । केन्द्रसम्म राजनैतिक पहुँच व्यतिmमा मात्रै सिमित भएको यहाँका बासिन्दाहरुको मुख्य गुनासो रहिआएको छ । केन्द्रसंगको राजनैतिक पहुँचले व्यतिmलाई फाइदा पुगेतापनि स्थानलाई भने फाइदा नपुगेको यहाँका बासिन्दाको आकलन छ । रुदाक्ष र अलैचिलाईयहाँको मुख्य आम्दानिको स्रोतका रुपमा लिइदै आएको छ ।
नेपालको अर्थतन्त्रका प्रमुख आधार कृषि, ऊर्जा र पर्यटन हुन् । यसमा पनि पर्यटन क्षेत्र नेपालका लागि तुलनात्मक लाभ र प्रतिस्पर्धात्मक लाभयुक्त क्षेत्र हो । यि तिन वटै कुरा षडानन्द नगरपालिका क्षेत्रमा छ । षडानन्द नगरपालिकामा कृषिका लागि विभिन्न फाटिला जमिन पनि प्रशस्तै छन् । त्यस्तै उर्जाको लागि सम्भावना नभएका हैनन् । उर्जाको लागि चिर्खुवा, इर्खुवा आदि यहाँका महत्वपुर्ण खोलाहरु हुन् ।
जिल्लाको झण्डै आधा क्षेत्र ओगट्ने षडानन्द नगरपालिका क्षेत्रको समग्र विकासमाचुनौती पनि छ । सदरमुकाम भोजपुर उत्तरका क्षेत्र यातायात, विद्युत, सञ्चार र सूचनाको सुविधाबाट अझै बञ्चित छ । अलैंची, रुद्राक्षलगायतका जडीबुटीबाट बर्षेनी करोडौँ रुपैयाँ भित्रिने भएपनि त्यसको सही सदुपयोग हुन सकेको छैन ।सो रकमले स्थानीय श्रोतसाधनमा आधारित उद्योगधन्दा वा सानाठुला कारखाना सञ्चालन गर्न सके दीर्घकालीन लाभ लिन सकिनेतर्फ ध्यान नगएको उद्योगी व्यापारीहरुले नै बताउने गरेका छन् ।
यस्ता चुनौतीहरुको निवारण गर्नसके षडानन्द नगरपालिकाले अझ द्रुत गतिमा फड्को मार्ने निश्चित छ । तर सम्भावनाको विकास र चुनौतीहरुको समाधानका लागि नगरपालिकामा कुनै स्पष्ट मार्गचित्र भने बनेको पाईदैन ।सर्वसाधारणले आरोप लगाउने सरकारी ढिलासुस्ती, उदासीनता र झण्झटिलो प्रक्रिया यहाँ पनि विद्यमान छ । विकास निर्माण तथा स्थानीय नीति निर्माणमा अनावश्यक भागबण्डा र राजनीतिकरण पनि यहाँका समस्या हुन् ।
प्राकृतिक रूपमा प्राप्त षडानन्द नगरपालिका पर्यटकीय क्षेत्रको निर्माण गर्न ठूलो मानवीय परिश्रम खर्च भएको छैन । षडानन्द नगरपालिकामा यस्ता थुप्रै स्थान छन, जसका बारेमा स्वयम् नगरबासिलाई पनि जानकारी छैन । पर्यटकीय स्थलका रूपमा हामीले केवल काठमाडौं उपत्यका, पोखरा, चितवन, इलाम जस्ता सीमित स्थानलाई मात्र चिनेका छौं । षडानन्द नगरपालिका भित्रै पनियस्तै सुन्दर र राम्रा ठाउँ पनि छन् । ओझेलमा परेका त्यस्ता स्थानको बारेमा खोजी हुनु जरूरी छ । दिङ्ला बजारबाट छागे झरना हुदै साउनेडाडाँसम्म जाने पदमार्गको निमार्ण गर्न सके अझ सुनमा सुगन्थ थपिने छ ।
यहाँ रुद्राक्ष, अलैचि, चिराइतो, पाँचऔले, कुड्की, जटामसी, पाखानवेद, सतुवा, लौठसल्ला, इन्द्रेणी, विखम्वा, टिमुर, अमला, हर्रो, बर्रो, सुन्तला, कागती, अमिलो, अदुवा, जस्ता थुपै्र जडिबुटी संकलन तथा प्रशोधन गर्न सकेमा यस क्षेत्रका जनताको आर्थिकस्तर माथि उक्सिनुका साथै यस क्षेत्रका धेरै मानिसले रोजगारी पाउने र विदेशीनु पर्ने बाध्यता हटी यहाँको आर्थिक अवस्थामा आमूल परिर्वतन आउनेछ ।

षडानन्द नगरपालिकाले पर्यटन विकासमा फड्को मार्न नसक्नु मुख्य कारण अरुण नदि बनेको छ । खाँदबारी नगरपालिका क्षेत्रमा पर्ने मनकामना धाम क्षेत्रको सतिघाट र षडानन्द नगरपालिकामा पर्ने सतिघाट र लम्सुवा घाट सम्म कच्ची सडक पुगेको छ र झोलुङ्गे पुलबाट अरुण नदि पार गर्ने बित्तिकै पनि सडकको ट्रयाक खुलाईएको छ । अरुण नदी पार गरिसकेपछि पनि सडक छ तर कुनै सवारी साधन तार्न नसकेको कारण घन्टौं लगाएर हिडेपछि मात्र गन्तब्यमा पुगिन्छ । सङ्खुवासभाको तुम्लिङटार विमानस्थल संग सिधै सडक सम्पर्क नहुदाँ यहाँका नागरिक तथा पर्यटकहरुले सास्ति व्यहोदै आउनु परेको छ । सिमित मात्रामा भएका सवारी साधनले नयाँ अनुहार देख्ने वित्तिकै चर्को भाडा असुल्ने परम्पराले समेत पर्यटकहरुलाई असर गरेको स्पष्ट बुझ्न सकिन्छ । त्यसैले पनि नारामा भनिदै आएको ‘गाउँ गाउँमा सिंहदरवार’ निर्माणमा अरुण नदि नै बाधक भईरहेको छ ।
स्वास्थ्य, शिक्षा, सञ्चार लगायत विकासका पुर्वाधार निर्माणको लागि यातायात अनिवार्य छ तर अरुण नदीमा पुल नभएकै कारण सो को सम्भावना कम देखिएको छ । त्यहि समस्यालाई मध्यनजर गर्दै अरुण नदिमा षडानन्द नगरपालिकाले फेरि सञ्चालन गर्ने प्रकृया अन्तिम चरणमा पुर्याएको छ ।
स्थानीय तहको पुर्नसंरचना भएपछि विकासले गती लिने भनिएपनि नगरपालिकाको भौतिक संरचना निर्माणकै लागि समेत निर्माण सामग्रीहरु ढुवानी गर्न नसक्दा जनप्रतिनिधीहरु चिन्तीत छन् । यो नै षडानन्द नगरपालिकाको लागि मुख्य चुनौति रहेको छ । फेरि निमार्ण भएपछि त्यो चुनौति केहि हदसम्म भए पनि हट्नेमा जनप्रतिनिधि विश्वस्त छन् ।

पर्यटन प्रवद्धनमा नगरपालिकाको प्रयास
साविकका गाविसहरु नेपालेडाडा, कुदाककाउले, खार्तम्छा, किमालुङ, मुलपानी, केउरेनीपानी, तुङ्गेछा,साम्पाङ, देउराली र वोया गाविसलाई समेटेर २०७३ सालमा षडानन्द नगपालिका घोषणा भयो । नगरपालिका घोषणा भए पश्चात आर्थिक वर्ष २०७५÷०७६ र २०७६÷०७७ को निति कार्यक्रम तथा वजेटमा मात्रै पर्यटनको विषयले स्थान पाएको पाइन्छ । आर्थिक वर्ष २०७५÷०७६ को निति तथा कार्यक्रममा मार्फत पर्यटन सम्बन्धि केहि कुरा समेटिएको भए पनि बजेट मार्फत काम भने भएको पाइदैन । चालु आ.व. २०७६÷०७७ मा भने षडानन्द नगरपालिकाले पर्यटन प्रवद्धनको लागि केहि नमुना काम गर्ने लक्ष लिएको छ । जस अनुसार षडानन्द नगरपालिकामा प्रख्यात मानिएकोरुद्राक्षको स्टाच्यु निमार्णको लागि ६ लाख, वडा नं ६ मा सति ग्रिन पार्क निमार्णको लागि ५ लाख, पर्यटन गुरुयोजनाको लागि १५ लाख रुपैया र नगरपालिका वडा नं ३ मा यलम्बरको स्टाचु निमार्णकोे लागि ४ लाखविनियोज गरेको नगर उपप्रमुख मेरिका राईले जानकारी दिइन् ।

त्यस्तै वडा स्तरीय कार्यक्रमहरुमा पनि यो वर्ष पर्यटनले स्थान पाएको छ । वडा नं ३ मा शिवको स्टाचु खरिद तथा पार्क निमार्णको लागि २ लाख ३० हजार रुपैया विनियोजन गरेको छ । अन्य वडाहरुले समेत कुनै न कुनै माध्यमबाट पर्यटनको विषयमा बजेट विनियोजन गरेका छन् । षडानन्द नगरपालिकाले नगरभित्र पर्यटन प्रर्वद्धनका लागि गुरुयोजना तयारीसहितका कार्यक्रमलाई अघि सारेको नगरपालिका उपप्रमुख राईले बताइन् ।“नगरभित्र पर्यटन प्रबद्धनका लागि पर्यटन गुरुयोजना बनाउने लगायतका योजना छन् , गुरुयोजना बनाउनको लागि प्रस्ताव आह्वान गर्ने तयारीमा छौँ अन्य योजना कार्यन्वयनको चरणमा छौँ, नगरपालिका प्रमुख वीरवल राईको भनाई” ।नगरपालिकाको पर्यटन सम्बन्धिका योजनाले सरकारले मनाउन लागेको भ्रमण वर्षलाई समेत सहयोग पुग्ने प्रमुख राईको विश्वास छ ।

भ्रमण वर्षलाई सफल बनाउन नगरपालिकाले नगर स्तरबाट गर्नुपर्ने कार्यका विषयमा विषेश नगरसभामा छलफल गर्ने र कार्यान्वय गर्ने नगरपालिका प्रमुख र उपप्रमुखको भनाई छ । भ्रमण वर्षका लागि गर्न सकिने योजना तथा कार्यक्रमका विषयमा टुङगो नलाग्दा सम्म यो वर्ष छनौटमा परेका पर्यटन पुर्वाधारका योजनालाई चाडै सम्पन्न गर्ने गरी नगरपालिका अघि बढेको उनिहरुको भनाई छ ।
नगरपालिका क्षेत्रमा पर्यटन प्रवद्धन गर्नको लागि प्रदेश सरकारले पनि सहयोग गरेको छ । अघिल्लो आर्थिक वर्षमा दिङ्ला बजारमा अवस्थित रामचन्द्र मन्दिर व्यवस्थानको लागि रु ४० लाखविनियोजन भएको थियो । त्यो कार्य सम्पन्न भई सकेको छ । मन्दिरको प्राङगणको भुईमा ढुङगा विच्छाएपछि मन्दिरको रुपनै फेरिएको स्थानियहरुले बताउदै आएका छन् । त्यस्तै साउने डाडाँमा पर्यटकहरु बस्नको लागि भवन निमार्ण गरिएको छ । छिनछिनमा हुने मौसम परिर्वतन त्यहाँको मुख्य आर्कषक हो । त्यसैलाई मध्यनजर गर्दै आवश्यक बजेट विनियोजन गरि समिति समेत निमार्ण गरिसकिएको छ ।
छाँगे झरनाको प्रर्वद्धनको लागि गत वर्ष नगरपालिकाबाट १० लाखविनियोजन भएकोमा यस वर्ष प्रदेश सरकारले ५० लाख विनियोजन गरेको छ । त्यो ५० लाखको काम सकिदा छाँगे झरना आर्कषक हुने र पर्यटकको रोजाइमा पर्ने स्थानियको विश्वास छ ।
नगरपालिकाले पर्याप्त पुर्वाधार विकास र प्रचारसंगै पर्यटक आकर्षित गर्ने प्याकेज ल्याउनु जरुरी छ । निर्वाचन पछिको स्थायी सरकार, केहि मात्रामा भए पनि षडानन्द नगरपालिकामा विकसित भएका पर्यटकिय पुर्वाधार, शान्ति सुरक्षा, पर्यटकप्रति हामीले गर्ने सदभाव पनि त्यतिकै महत्वपुर्ण छ । पर्यटकलाई सुरक्षा, सौन्दर्य र सदभावले प्रभाव पार्न सक्नु पर्छ ।
नेपालको आर्थिक वृद्धिमा पछिल्ला वर्ष पर्यटन क्षेत्रको योगदान बढ्दै गएकाले यसलाई अर्थतन्त्रको एक खम्बाका रूपमा अगाडि बढाउनु आवश्यक देखिन्छ, षडानन्द नगरपालिकाले पनि यसैलाई अगाल्नु जरुरी छ जसरी विश्वका धेरै मुलुकको मुख्य आयस्रोत पर्यटन बनेको छ । चुनौति र संभावनालाई अवसरमा बदल्न सक्नु षडानन्द नगरपालिकाको अहिलेको प्रमुख जिम्मेवारी हो । अझ विदेशबाट आएका युवाहरुलाई पर्यटन प्रवद्धनका क्षेत्रमा लगानि गर्न उत्प्रेरित गर्न सकिन्छ । पर्यटनमा साना ठुला पुँजीबाट समेत व्यवसाय गर्न सकिन्छ । रोजगार गर्न सक्षम युवाहरुलाई पर्यटन क्षेत्रमा आवद्ध गराउनेतर्फ ध्यान पुर्याउन जरुरी छ । जसबाट सोचेअनुरुपको उद्देश्य हासिल गर्न सकिन्छ ।

दिङ्ला, भोजपुर ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार