खोटाङ । खोटाङमा आफ्नै छोराले प्रहार गरेको धारिलो हतियारबाट बाबुको ज्यान गएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित बेँसीटोलका ३७ वर्षीय शुवर्ण राईले धारिलो हतियार प्रहार गरी ७५ वर्षीय बृद्ध बुवा चन्द्रबहादुरको हत्या गरेका हुन् ।
आइतबार बिहान ४ः०० बजेतिर गर्दन लगायत शरीरका विभिन्न ठाउँमा खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले जानकारी दिए । बृद्ध अमरप्रसादको घटनास्थलमै ज्यान गएको थियो ।
धारिलो हतियारले आक्रमण गरी बाबुको ज्यान लिने सुवर्णलाई सोल्माकै अल्छेढुंगाबाट प्रहरीले नियन्त्रणमा लिएको छ । अनुसन्धान भर्खरे सुरु भएकाले घटनाको कारण खुल्न नसकेको प्रवक्ता गजमेरको भनाई छ ।
पटके अपराध
यसअघि पनि उनी शुवर्णले २०७१ साल असार १७ गते राती भएको सुन र नगद लुटपाटमा घटनामा संलग्न भएको पुष्टि भएपनि जेल सजाय भुक्तानी गरीसकेका छन् । घरका मान्छेलाई आँखामा टर्चको प्रकाश लगाएर अलमल्याउँदै फिल्मी शैलीमा साकेला गाउँपालिका–२ रतन्छा पिनालाखाका हरिजङ राईको सुन र नगद लुट्पाट भएको घटनामा समेत उनैको संलग्नता रहेको थियो ।
घटनामा संलग्न चार जनामध्येका एक रहेका शुवर्णसहितको समूहलाई डाँका र हातहरियार मुद्धामा कैद सजाय सुनाइएको थियो । जेल जीवन बिताएर फर्किएका शुवर्णले फेरि आफ्नै बाबुको ज्यान लिएका हुन् ।