भोजपुर । बर्षेनी खानेपानी संकटले थलिने भोजपुरका दुर्गम भेगमा समस्या टर्न थालेको छ । लिफ्टिङ प्रविधिबाट घरघरमा खानेपानी आपूर्ति पुगेपछि खानेपानी समस्या हटेको छ । विशेषगरि खानेपानी समस्याले ग्रस्त रामप्रसादराई गाउँपालिका र हतुवागढी गाउँपालिका क्षेत्रमा लिफ्टिङ प्रविधिले सहज बनाएको छ ।
खानेपानी संकटका कारण सयौँ घरबस्ती बसाईँ गएको मानेभञ्ज्याङ, दलगाउँ, रानीबास, होम्ताङ जस्ता सुख्खा क्षेत्रमा लिफ्टिङ प्रविधिको खानेपानी आपूर्ति गरिएको हो । रामप्रसाद राई गाउँपालिकाको वडा नं. ५ मानेभञ्ज्याङ र वडा न. ४ दलगाउँमा खानेपानी समस्या हल गर्न करिब दुईवर्षअघि लिफ्टिङ योजना ल्याईएको थियो । सुख्खाका कारण त्यस क्षेत्रका खानेपानीका मुहान, कुवा र धाराहरु सुक्न थालेपछि जनजीवन एकदमै कष्टकर थियो । खानेपानी संकट टरेपछि गाउँ नै हराभरा हुने स्थानीय तिलाचन बलले बताए । नयाँ प्रविधिको लिफ्टिङबाट खानेपानी पुगेपछि वर्षौदेखिको खानेपानीको जोहो गर्ने सास्ती हटेको उनले सुनाए । खानेपानीको समस्या झेल्दै आएका मानेभञ्ज्याङबासीलाई लिफ्टिङबाट घरमै पानी आउन थालेपछि दैनिकी सहज भएको छ ।
१२ करोड ४० लाख लागतको उक्त खानेपानी आयोजनाले जनताको कष्टकर दैनिक जिवनयापन फेरिएको छ । यस प्रबिधिबाट पु¥याईएको उक्त खानेपानीले मानेभञ्याङका ४ सय २० घरधुरी लाभान्वित रहेको पिखुवा खोला मानेभञ्ज्याङ सोलार पम्पिङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष दिपक तामाङले बताए । ‘पानीको मुहान नभएका कारण एक गाग्रो पानी ल्याउन एक बिहान लगाउनु पथ्र्यो’ अध्यक्ष तामाङले भने, ‘अब आफ्नै घरघरमा खानेपानी पुगेकाले बाध्यता हटेको छ’ पिखुवा खोलादेखि ३२ सय मिटर माथि राखिएको लामाआल वितरण केन्द्रबाट बिहान ४ घण्टा र बेलुकी २ घण्टा वितरण भैरहेको छ ।
‘एक घर एक धारा’ अवधारणासहित गाउँपालिकाको पहल र संघिय सरकारको आर्थिक सहयोगमा उक्त लिफ्टिङ माध्यमबाट घरघरमा खानेपानी पु¥याएको हो । यस्तै गाउँपालिकाको वडा नं. ४ दलगाउँमा पनि यसैवर्ष १ करोड ३ लाख रुपैयाँको लागतमा लिफ्टिङ योजना सम्पन्न भएको छ । आयोजना अन्तर्गत १ सय ६ घरधुरी लाभान्वित भएको भुमेथान लिफ्टिङ खानेपानी आयोजना समितिका अध्यक्ष बलराम श्रेष्ठले बताए । स्थानीय सभुवा खोलादेखि ५ सय मिटर दुरीको सहेलेबाट खानेपानी वितरण गरिएको छ । २४ सै घण्टा धारामा पानी आउन थालेपछि गाउँले हर्षित बनेका छन् । खानेपानीको मुहान सुकेर पानीको ब्यबस्थापन गर्न नसक्दा घण्टौ लगाएर पानी लिन जानू पर्ने विगतको सास्ती हटेको अध्यक्ष श्रेष्ठको भनाई छ ।
मानेभञ्ज्याङ, दलगाउँ जस्तै खानेपानी संकटले थलिएको हतुवागढी गाउँपालिकाको वडा नं ४, खैराङमा पनि लिफ्टिङबाट खानेपानी ल्याउने काम भईरहेको गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । प्रभावित क्षेत्रमा खानेपानी मुहान व्यवस्थित नहुनु, श्रोत नहुनु र पानीको मुहान किन्नुपर्ने समस्याका कारण विगतमा खानेपानी ल्याउन समस्याको भएको अध्यक्ष राईको भनाई छ । वडा नं १ र २ रानीबासमा पर्ने स्थानीय कावाखोलाको पानीलाई ट्याङ्कीमा जम्मा गरेर वितरण गर्नेगरि लिफ्टिङ प्रविधिको काम थालिएको हतुवागढी लिफ्ट खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष बलबहादुर मगरले जनाए । कुल १६ करोड ५१ लाख लागतमा सम्पन्न हुने उक्त योजनाले करिब एक हजार घरधुरी लाभान्वित हुने समिति अध्यक्ष मगरको भनाइ छ । उक्त कावाखोलाबाट करिब ५ किलोमिटर माथि खानेपानीको ट्याङ्की निर्माण गरिएको छ ।
गाउँपालिकाकै वडा नं. ५ र ६ होम्ताङमा पनि २२ करोडको लागतमा निर्माण सम्पन्न गर्नेगरि लिफ्टिङ प्रविधिकै खानेपानीको प्राविधिक भौतिक पूर्वाधारको काम भईरहेको होम्ताङ पिखुवा लिफ्ट खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष बिजय राईले जानकारी दिए । पिखुवा खोलाबाट लिफ्टिङ गरि ल्याईने उक्त खानेपानी आयोजनाबाट झण्डै ११ सय घरधुरी लाभान्वित छन् । यसबाहेक आमचोक गाउँपालिकाका वडा नं ७ र ८ देवानटारमा सञ्चालित खरखरे खानेपानी आयोजना, हतुवागढी गाउँपालिका वडा नं. १० हसनपुरस्थित सापेनटार खानेपानी आयोजना लगायत १६ वटा खानेपानी आयोजनाहरुको कामहरु यसअघि नै सम्पन्न भईसकेका छन् ।