भोजपुर । सदरमुकामस्थित टुँडिखेलमा ०३० सालयता नै सानाठुला खेलकुद हुन्थे । जिल्लास्तरीय फुटबल र विद्यालयस्तरका विभिन्न एथ्लेटिक्स खेलहरु आयोजना गरिन्थ्यो । ०६९ सालमा गोल्डकप पनि आयोजना भयो । उक्त गोल्डकप यता जिल्लामा कुनै ठुला प्रतियोगिता आयोजना भएनन् । स्तरीय खेलमैदान र बजेट अभावले खेलकुदबाट प्रतिभावान खेलाडी उत्पादन पनि हुन सकेको छैन । स्थानीय सरकार बनेपछि सोहि टुँडिखेलमा खेलकुद गतिविधी मौलाएका छन् ।
भोजपुर नगरपालिकाले पनि सोहि टुँडिखेलमा विभिन्न समयमा खेलकुद आयोजना गर्छ । तर सामान्य प्रतियोगितामै लाखौँ बजेट खर्चिएपनि अपक्षित प्रतिफल आउन सकेन । खेलाडीको क्षमता अभिबृद्धि गराउने र व्यवस्थित खेलमैदान स्तरोन्नतीमा कसैको चासो छैन । गत मंसिरमा भोजपुर नगरपालिकाले मोफसलकै ठुलो धनराशीको फुटबल प्रतियोगिता आयोजना गरायो । जसमा नगरपालिकाले ०७६÷७७ को आफ्नो नीति तथा कार्यक्रमबाट शिर्षक छुटयएरै ‘मेयर कप पुरुष फुटबल’ शिर्षकमा १७ लाख र ‘मेयर कप महिला फुटबल’ शिर्षकको ३ लाख गरी २० लाख बजेट छुट्यायो ।
तर लगानी र प्रतियोगिताबाट कुनै राम्रो प्रतिफल आएन । प्रतियोगितामा सहभागी टिमले जिल्ला बाहिरका व्यावसायिक खेलाडीहरु खेलाएको खुल्यो । उपलब्धिविहिन प्रतियोगिता फजुल खर्च बन्यो । नगरपालिकाको प्रतियोगिताको नाममा खर्चिएको लाखौँ बजेटको दुरुपयोग भएकोमा स्थानीयबासीले टिकाटिप्पणी समेत गरे । साना खेलकुद प्रतियोगितामै लाखौँ खर्चेर बाहिरबाट खेलाडी किन्ने र खेल खेलाउनाले स्थानीयस्तरका खेलाडीमा वितृष्णा जागेको युवा सरोकारवाला बताउँछन् । पहुँचका आधारमा खेलाडी किनेर प्रतियोगिता गराउँदा आफ्नो क्षेत्रका खेलाडीहरु पछाडी छोडिने स्थानीय युवा खेलाडी विन्जल रानाले बताए । जसकारण युवा खेलाडी पलायन हुने अवस्था बढेर जाने उनले बताए ।
नगरपालिकाले बर्षभरी ३० लाखसम्मको खेलकुद गतिविधी आयोजना गर्छ । यसरी खर्च हुने खेलकुद गतिविधिबाट दीर्घकालीन फाइदा देखिदैन । प्रतियोगिता व्यावसायिकताका लागि नभएर मनोरञ्जनका लागि आयोजना हुने गरेका छन् । प्रतियोगिताको सट्टा स्थानीय तहले खेलकुदमा छुट्याउने बजेटले तालिम दिने, प्रशिक्षक राख्ने, २ देखि ४ महिनाको क्याम्प राखेर खेलाडीलाई प्रशिक्षण गराउन सके आफ्नै स्तरमा राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्न सकिने फुटबल प्रशिक्षक विनम श्रेष्ठ बताए । भन्छन्, ‘प्रतियोगिताको ठाउँमा स्थानीय तहले प्रशिक्षक राखेर राम्ररी क्याम्पिङ गराउने हो भने जिल्लाबाट राम्रो खेलाडी उत्पादन हुन सक्छन् ।’
स्थानीय तहहरुले खेलकुद प्रबद्र्धन गर्ने भन्दै बर्षेनी विकासे बजेट ल्याउने गरेको छ । लाखौँको बजेटबाट खेलकुद मैदान, कभर्डहल बनाउन होडबाजी चलेको छ । पूर्वी पौवादुङ्मा गाउँपालिकाले क्रमागत योजनाअन्र्तगत ५५ लाख र प्रदेश १ सरकारको एक करोड ३५ लाख बजेटमा मिरा राई रंगशाला स्तरोन्नतीको काम बढाएको छ । गाउँपालिकाले रंगशालालाई अन्र्तराष्ट्रियस्तरको बनाउने भन्दै गत आर्थिकवर्ष ५६ करोडको डिपिआर समेत तयार ग¥यो । दुर्गममै पहिलोपटक ल्याईएको यस्तो महत्वकांक्षी योजनाले जिल्ला नै तरंगीत बनायो ।
विभिन्न दिवस र अवसरमा स्थानीय तहले मनोरञ्जनात्मक खेल खेलाएर लाखौँ बजेट सिद्याउने प्रवृति बढ्दो छ । ठुला धनराशीका खेलकुद गरेपनि अपेक्षा अनुसारको खेलाडी उत्पादन नहुँदा बजेटको दुरुपयोग बढेको हो । खेलकुदमा देखिएको अनावश्यक बजेटले उपलब्धीमूलक प्रतिफल नपाएको युवा सरोकारवाला बताउँछन् । खेलकुद विकासका लागि भनेर अनावश्यक प्रतियोगिता गराउन लाखौँ धनराशी खर्चिने प्रवृतिले स्थानीय तहको खेलकुदमा बेथिती बढेको उनीहरुको गुनासो छ । स्थानीय युवा प्रकाशसिं राईले भने, ‘खेलकुद भन्यो, पैसा छुट्यायो, खेलायो, सकायो, उपलब्धी छैन, मात्र मनोरञ्जन गराउने बजेट भएको छ’
प्रदेश सरकारले पनि खेलकुद पूर्वाधारमा भनेर करोडौँ बजेट लगाएको छ । प्रदेशले भोजपुर रंगशाला निर्माणका लागि १४ करोड ५ लाख, षडानन्द नगरपालिकाको दिङ्ला रंगशालालाई क्रमागत योजनाअन्र्तगतको ६ करोड, पौवादुङ्मा गाउँपालिकाको मिरा राई रंगशालामा १ करोड ३५ लाख, टेम्केमैयुङ गाउँपालिकाको छिनामखु खेलकुद मैदान निर्माणमा ५० लाख, हतुवागढी गाउँपालिकाको हतुवागढी क्षेत्रीय रंगशाला निर्माण गर्न २५ लाख बजेट विनियोजन गरेको छ ।
खेलकुद पूर्वाधार निर्माण गर्ने बाहनामा बर्षेनी करोडौँ लगानी भएपनि युवा खेलाडी लक्षित नीति बनाउन नसक्दा भएका खेलाडी पनि पलायन हुन थालेका छन् । स्थानीय तहले आफ्नो हैसियत अनुरुपको नीति तथा कार्यक्रममा खेलकुद विकासमा लगानी गर्न सके उपलब्धीमूलक हुने स्थानीय नविन प्रधान बताउँछन् । भन्छन्, ‘खेलकुद आयोजना अन्र्तराष्ट्रियस्तरको, उपलब्धी गाउँलेस्तरको, सामान्य खेलकुद प्रतियोगितामै लाखौँ सिदिन्छ, कसरी हुन्छ खेलाडी उत्पादन’
स्थानीय तहले गराउने खेलकुदमा खेलकुद रणनीति राम्रो नहुँदा लगानी गर्ने बजेट अनुरुपको खेलकुदमा टेवा पुग्न नसकेको जिल्ला फुटबल संघ भोजपुरका अध्यक्ष प्रविण सुवाल बताउँछन् । एकेडेमिक रुपको नीति बनाउन नसक्नुले पनि अपेक्षा गरिए अनुसारका खेलाडी उत्पादन हुन नसकेको उनले बताए ।
स्थानीय तहले पनि आफ्नै क्षेत्रमा राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्ने किसीमको योजनाहरु अघि बढाएको बताएको छ । भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले रातारात परिवर्तन नहुने हुँदा प्रतियोगितामा गरेको लगानीको भविष्यमा राम्रो प्रतिफल आउनेमा आशावादी बन्न आग्रह गरे । खेलाडीलाई बढावा दिएर लाने किसीमको नीति बनाउन बजेट कम हुने गरेको मेयर आले बताउँछन् । राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्न सोहि बमोजिमको आर्थिक नीति, व्यावस्थापकीय नीति र दिगो खेलकुद विकासको नीति बनाएर लाग्नुपर्ने उनको बुझाई छ ।
खेलकुद शिर्षकमा छुट्याईएको बजेट विभिन्न प्रतियोगितात्मक खेलहरु आयोजना गरेर सक्ने प्रवृतिले खेलाडी र दर्शकलाई मनोरञ्जन मात्र दिन सकेको छ । खेलाडीको क्षमता अभिबृद्धि र सिप सिकाई प्रगती शुन्य भएकाले उत्पादनमूलक क्षेत्रमा खेलाडीलाई प्रोत्साहन गर्न नसकिएको अर्का फुटबल प्रशिक्षक राजु श्रेष्ठ बताउँछन् ।
खेलकुदका प्रतियोगिताहरू सञ्चालन हुनु सकारात्मक भएपनि यसलाई बृहत् योजना बनाएर सम्भावित खेलको प्रशिक्षक नियुक्त गरी नियमित प्रशिक्षण आवश्यक रहेको जानकार बताउँछन् । खेलकुदलाई प्रोत्साहन र व्यवसायीकरण गर्दै खेलाडी उत्पादन गर्न नियमित प्रतियोगिता हुनु आवश्यक भएको जिल्ला फुटबल संघ भोजपुरका अध्यक्ष प्रवीण सुवालले बताए । नियमित प्रतियोगिताले खेलाडीभित्र भएका प्रतिभा बाहिर आउने उनी ठम्याउँछन् ।
नयाँ आर्थिकवर्ष सुरु भएसंगै सबै स्थानीय तहमा नगर तथा गाउँ परिषद सम्पन्न गरिएका छन् । महामारीको रुपमा फैलिएको कोरोनाका कारण यो पटक तहहरुले कोरोनालाई प्राथमिकतामा राख्लै योजना र बजेट शिर्षक बनाईएको छ । लकडाउनमा पनि तहहरुले विकासे आयोजनाहरु अगाडी सारेका छन् । बजेट आकार घटेर आएकाले धेरै तहहरुले केहि योजनाहरु कटौती गरेर स्वास्थ्य र राहतमा लगाएका छन् ।