भोजपुरमा मानवअधिकार उलङ्घनका घटनामा बृद्धि


भोजपुर। भोजपुरमा मानवअधिकार उलङ्घनका घटनामा बृद्धि भएको देखिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भोजपुरले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार यहाँ एक वर्षको अवधिमा एक सय ओटा मानवअधिकार हनन्का घटना भएका छन् ।

प्रतिवेदन अनुसार सन् २०२२ को जनवरीदेखी डिसेम्बरसम्म दुई ओटा हत्या, २० ओटा कुटपिट,६९ ओटा घरेलु हिंसा, आठ ओटा बलात्कार तथा बलात्कार प्रयास र एक ओटा मानवअधिकार उलङ्घनका घटना भएका छन् । गत वर्ष भन्दा यस वर्ष १७ ओटा बढी मानवअधिकार उलङ्घन घटना भएका छन् । गत वर्ष ८३ ओटामा मात्र घटना रहेको तथ्याङकले देखाएको छ ।

इन्सेक भोजपुरले मानवअधिकार वर्ष २०२३को वार्षिक पूर्व समिक्षा कार्यक्रम मार्फत जिल्लामा भएका मानवअधिकार उलङ्घनका घटना सार्वजनिक गरेको हो ।

समिक्षा कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख कमल थुलुङले मानवअधिकार उलङ्घनका हुन नदिन राज्यसँगै नागरिकहरुले पनि भूमिका खेल्नु पर्ने बताए।

त्यस्तै, भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले विभिन्न संघसस्था तथा राज्यले खेलेको भूमिकाले यस्ता घटना न्यूनिकरणमा केहि टेवा पुगेको भएपनि यो प्रयाप्त हुन नसकेको बताए । समाजमा झनै पनि विभिन्न खालका हिंसा हुने गरेकोले यस तर्फ ध्यान दिन आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

मानवअधिकार रक्षक सञ्जाल भोजपुरकी अध्यक्ष लिलामाया तामाङले पछिल्लो समयमा विभिन्न क्षेत्रबाट मानवअधिकार हनन् हुन नदिन भईरहेका प्रयासले समाजमा केहि सकारात्मक भावनाको विकास भएको बताईन।

नागरिक समाज भोजपुरका संयोजक प्रशुराम तिवारीले इन्सेकले देशभरि मानवअधिकारको रक्षाका लागि खेलेको भूमिका प्रशंसायोग्य रहेको बताउदै सरोकारवाला पक्षको नजर आवज विहिनहरु समक्ष पुग्नु पर्नेमा जोड दिए।

इन्सेक भोजपुरका प्रतिनिधि गणेश विष्टले छलफलमा सरोकारवाला पक्षले दिएका सुझावलाई मनन् गर्दै छुटेका कुरालाई आगामी वर्ष पुस्तका समेट्ने प्रतिवद्धता गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार