भोजपुरको समृद्धि कोर्न रामप्रसादराईको आँगनबाट प्रेम कार्कीको ईन्ट्री


भोजपुर। नेपालको एक स्वतन्त्र क्रान्तिकारी वीर योद्धा राम प्रसाद राई जन्माएको पवित्र भूमि हो, भोजपुर । उनै महान राम प्रसाद जन्मिएको रामप्रसादराई गाउँपालिका बासिखोराबाट भोजपुरको दक्षिणी मार्गचित्र बदल्ने प्रयासले अघि बढेका छन्, प्रेम कार्की । मंसिर ४ मा तय भएको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन नजिकिदो अवस्थामा छ । भोजपुरको दुर्गम परिदृश्यलाई सुगमतातिर परिणत गर्ने दृढ संकल्पका साथ कार्की यतिबेला चुनावी मैदानमा छन् । यसपटक प्रदेशसभा २ मा एमालेको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका कार्की समृद्धिको उचाईलाई बढाउने नेतृत्वमा छन् ।
प्रजातन्त्र ल्याउन भएको २००७ सालको क्रान्तिका क्रान्तिकारी योद्धा जन्माउने रामप्रसादराईको विरासत बोकेको गाउँबाट कार्की यसपटक उम्मेदवार बनेका हुन । देशको पहिलो पार्टी नेकपा एमाले ६४ सालको निर्वाचनबाहेक अन्य निर्वाचन सधै जित्दै आएको क्षेत्रबाट कार्कीलाई उम्मेदवारी बनाएको हो । एमालेले यस अघि निर्वाचित पुर्व मुख्य मन्त्रि शेरधन राईको प्रतिनिधिसभामा उम्मेदवार बनाएपछि कार्कीले अवशर पाएका हुन । नेकपा एमाले प्रदेश कमिटि सचिवालय सदस्य समेत रहेका कार्की यसअघि राजनीति र समाजसेवामा क्रियाशिल थिए । एमालेको लालकिल्ला मानिने भोजपुरमा कार्कीलाई यसपटक उम्मेदवार बनाउनुलाई निकै चासो र अर्थपूर्ण रुपमा हेरिएको छ ।
निर्वाचनको चटारोसंगै चुनावी घरदैलोका क्रममा कार्की दक्षिणी हतुवागढीको घोडेटारमा भेटिँदा नेता कार्यकर्ता संगै मतदाताको घरदैलोमा पुगिरहेका थिए । पहिलोपटक निर्वाचनमा होमिएका कार्कीेको प्रतिस्प्रर्धा गठबन्धनका साझा उम्मेदवार नेपाली काग्रेसका जिल्ला सभापति विनोद बान्तावासंग हुदैछ । अन्य पनि उम्मेदवार रहेको प्रदेशसभा २ को निर्वाचनमा प्रेम र विनोदकै मुख्य प्रतिस्पर्धा छ ।
रामप्रसादराई गाउँपालिकाको सामान्य परिवारमा हुर्केका कार्की एक शालिन, बुलन्द, परिवर्तनशिल, प्रखर विचारधाराका प्रभावशाली वक्ताका गनिन्छन् । सामाजिक काममा सधैँ अग्रणी भूमिकामा देखिने कार्कीलाई पार्टीले टिकट दिएपछि चुनावी मैदानबाट समृद्धिको आकांक्षा बोकेर अघि बढेका छन् । “मलाई पार्टीले विश्वास गरेर टिकट दिएको छ पहिलो जित मेरो त्यहि नै हो अव मंसिर ४ मा जनताको मतबाट अनुमोदन हुन मात्र बाँकि छ” कार्की भन्छन “म एमालेको मतका साथै अन्य पार्टीका साथिहरुको शुभेच्छा र सहयोगले चुनाव जित्दैछु ।”
वि.स. २०२७ सालमा रामप्रसादराई गाउँपालिका ८, बासिखोरा वाक्चाखामा जन्मिएका कार्की गाउँबस्तीको यथार्थ समस्यासंग प्रत्यक्ष जानकार भएको उम्मेदवारको रुपमा आफुलाई चिनाउँछन । थर कार्की भएपनि बान्तावा राई भाषामा समेत राम्रो दख्खल राख्ने कार्कीलाई आम किरातीहरुले पनि नजिक ठान्छन्, उनलाई । ‘‘म भुईमान्छेहरुको प्रतिनिधि भएको कारण मेरो एजेन्डा पनि भुईमान्छेको जिवनस्तर उकास्ने नै हुनेछन् । खानेपानी, विद्युत ,यातायात, शिक्षा, पर्यटन र सञ्चार क्षेत्रमा मेरो विशेस भुमिका हुनेछ । समृद्ध भोजपुर र सुखी भोजपुरेको लागि अहिले भैरहेको विकासको जगमा टेकेर मेरो भुमिका हुनेछ ।’’ अहिले पनि जनताको माया र विश्वासले मेरो काँधमाथि जिम्मेवारी थपिसकेको कार्की सुनाउँछन् । ‘‘अब मेरो बाकि सारा जिवन वहाँहरुको सेवा विताउनुको विकल्प छैन । सबै समुदाय साइनो र सम्बन्ध सहित मिलेर बसेको गाउँ घर नै मेरा लागि आज पे्ररणा र भर बनेको छ ।’’ कार्की भन्छन् ।
‘‘विकासका हिसाबले अन्यभन्दा पछि परेको भोजपुरको दक्षिणी क्षेत्रलाई सामाजिक र भौतिक रुपमा सम्पन्न गराउने मेरो संकल्प छ । विशेषगरि बाह्रैमास चल्ने सडक, पुलको पहुँच, घरघरमा विजुलीबत्ती, सञ्चारका साधन, घरघरमा सुलभ खानेपानीको व्यवस्था गराउने मेरो सपना छ ।’’ उनी भन्छन्, ‘‘यसबाहेक युवापिँढी र महिला जनशक्तिलाई सिपमूलक काममा रोजगारी र तालिम दिन, गुणस्तरीय विद्यालयीय शिक्षालाई प्रबद्र्धन गर्न, ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाभत्तालाई ग्राहयता दिन म प्रतिबद्ध छु । त्यसैले जनताको अमूल्य भोटको अपेक्षा लिएको छु ।’’
मिहिन ढंगबाट निर्वाचनमा होमिएका कार्कीले निर्वाचन जित्नेमा ढुक्क रहेको बताए । एकता प्रक्रिया संगै नेकपा हुदै एमालेमा रहेका कार्कीले पुर्व माओवादी साथिहरुले पनि आफ्नो उम्मेदवार नभएको कारण आफुलाई मत आउने बताए । अन्य पार्टीको साथिहरुको पनि मलाई सहयोग र सदभाव छ जसले मलाई निर्वाचन जित्न सहज बनेको छ । गठबन्धनका उम्मेदवार प्राविधिक हिसावले मात्र अगाडि भएको कार्कीको दावि छ । काग्रेसले २ नम्बरका आफ्नो निर्वाचन क्षेत्रका सबै ठाउँमा पुगिसका कार्कीले बाकि जिवन जनताको सेवामा नै विताउने प्रण गर्छन । आम्चोक गाउँपालिकाको बयाङ्ग बजारमा भेटिएका मतदाता बिमल बस्नेतले भने “एमालेले यसपटक उम्मेदवार छनौटमा सुझबुझ देखाएको पाइयो क्षेत्र र समुदाय समेत समेटेर दिएको उम्मेदवारीले पनि आशा जगाएको छ ।”
कार्कीसंगै चुनावी मैदानमा होमिएका नेपाली कांग्रेसका जिल्ला सभापति विनोद बान्तावा पनि निर्वाचन जित्नेमा ढुक्क छन् । स्थानिय तहको मत परिमाणलाई आधार मान्ने हो भने गठबन्धन चार हजार भन्दा बढि मतका साथ अगाडि देखिन्छन् । प्रेम कार्कीले जितका लागि २५ सय भन्दाबढि मत गठबन्धन दलबाट लिनु पर्ने हुन्छ । जसपाको उम्मेदवार आशकुमार राईले काट्ने मत परिमाणले पनि कार्कीको जितलाई भर गर्ने नै छ । हेरौ मतदाताको हातमा रहेको प्रेमको भविष्य के हुनेछ । जनताले प्रेम गर्नेछन् कि घृणा त्यो चाहि मंसिर ४ को जिम्मा ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार