भोजपुरमा आचारसंहिता मिचेर सत्तागठबन्धनको चुनावी भेला


भोजपुरको पौवादुङमा गाउँपालिका ३, च्याङ्ग्रेस्थित चुनाव प्रचारप्रसार सामाग्रीसहितको सत्तागठबन्धनको चुनावी भेला । तश्विर, सामाजिक सञ्जालबाट साभार

भोजपुर । प्रतिनिधी तथा प्रदेशसभा सदस्य निर्वाचन मिति नजिकिँदै भोजपुरमा आचारसंहिताको उल्लंघन गर्दै दलहरु चुनावी गतिविधीमा देखिएका छन् । सत्तागठबन्धनका नेता तथा कार्यकर्ताहरु निर्वाचन आयोगले जारी गरेको आचारसंहिता मिचेर चुनावी भेला, कोणसभा तथा अगुवा कार्यकर्ता भेलामा लागेका हुन् ।
अगुवा कार्यकर्ता भेलाका क्रममा गठबन्धन दलहरुले चुनावी प्रचारका ब्यानर, तोरन, चुनाव चिन्हका सामाग्रीसहित चुनावी गतिविधी सुरु गरेका छन् । सामाजिक सञ्जालहरुमा गठबन्धनले चुनावी सामाग्रीसहित चुनावी समारोह गर्दै गरेको भेटिएको हो । निर्वाचन आयोगले कात्तिक १८ गते भन्दा अगाडि कुनै पनि चुनाव प्रचारप्रसारका सामाग्रीको प्रयोग र ठुला सभा नगराउन आचारसंहिता लागू गरेपनि भोजपुरमा विपरीत गतिविधि सुरु भएको हो ।
निर्वाचन आचारसंहिता विपरीत सत्तागठबन्धनले असोज २९ गते रामप्रसादराई गाउँपालिकाको बैकुण्ठेमा, ३० गते टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णमा र ३१ गते पौवादुङमा गाउँपालिकाको च्याङग्रेमा गरेको अगुवा कार्यकर्ता भेलामा चुनाव चिन्हसहित झण्डा, तोरन, फ्लेक्स प्रिन्ट ब्यानर र उम्मेदवार चढ्ने सवारीसाधनमा पनि चुनाव चिन्हसहितको झण्डा भेटिएको हो । कार्तिक १८ गतेबाट चुनावी गतिविधि गर्न आचारसंहिता रहेपनि चुनावी गतिविधी सुरु भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए । दलका उम्मेदवारहरुलाई निर्धारित मितिभन्दा अगाडि निर्वाचन आचारसंहिताको पालना गर्न पनि निर्देशन दिईएपनि उल्लघंन भएको उनले बताए ।
‘हामीले उहाँहरुले यसअघि नै सचेत गराएका थियौँ, उहाँहरुको हस्ताक्षरमा निर्वाचन आचारसंहिता लागू भएको छ, भेला गरिएपनि यसरी चुनाव सामाग्रीको प्रयोग गर्नुहुन्नथ्यो’ प्रजिअ घिमिरे भने, ‘यसमा हाम्रो ध्यानाकर्षण भएको छ, आवश्यक प्रक्रिया अगाडि बढाईनेछ’
यसपटक भोजपुरमा बाम तथा लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले) विच कडा चुनावी भिडन्त हुँदैछ । आसन्न चुनावमा प्रतिनिधीसभातर्फ गठबन्धनबाट सुदन किराती र नेकपा एमालेका शेरधन राई आमुन्नेसामुन्ने हुँदैछन् । यस्तै प्रदेशसभा सदस्य क्षेत्र नं १ तर्फ गठबन्धनका राजेन्द्रकुमार राई र नेकपा एमालेका हरिबहादुर राई तथा प्रदेशसभा सदस्य क्षेत्र नं. २ तर्फ गठबन्धनका विनोद वान्तावा र नेकपा एमाले खड्गबहादुर कार्कीविच कडा प्रतिस्पर्धा हुने देखिएको छ । भोजपुरमा कुल १ लाख २३ हजार तीनसय ७९ मतदाता रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार