भोजपुर । रामप्रसादराइ गाउँपालिका–४ दलगाउमा वडाध्यक्ष बाबुकुमार राईको पहलमा ७० वर्षिया वृद्धा मनकुमारी राईको नयाँ घर बनेको छ ।
गत १० वर्षदेखि जिर्ण रहेको टहरोमा कष्टकर जीवन विताईरहेकी राईको नयाँ घर बनेको हो । राईको घर वडाध्यक्ष राई र समाजसेवी तथा व्यवसायी दलगाँउका बिक्रम राईले निर्माण गरि दिएका हुन् । बर्षातको समयमा चुहिने टहरोमा बस्दै आएकी बृद्धाको घर निर्माणमा जनप्रतिनिधी र स्थानियको सहभागिता रहेको वडा सदस्य एकराज भुजेलले बताए ।
घर निर्माणमा वडाध्यक्ष राई, कार्यपालिका सदस्य सविना तामाङ, वडा सदस्यहरू महेन्द्र बहादुर कार्की, एकराज भुजेल, हेमादेवी सार्की, अस्थायी प्रहरी चौकी दलगाउका असइ मोहन विक्रम कार्की, भुजेलीथान संरक्षण समितिका स्वयंसेवक र स्थानीय गरि ५६ जनाको सहभागिता रहेको भुजेलले जानकारी दिए । नयाँ घर पाए पछि बृद्धा राई खुसी भएकी छन् ।
उनले वडाध्यक्ष राईलाई नेपाली नागरिकता बनाई दिन समेत आग्रह गरेकी छन् । वडाध्यक्ष राइले राज्यबाट पाउने सेवा सुविधा उपलब्ध गराउन छिट्टै नागरिकता बनाई दिन सहयोग गर्ने प्रतिबद्धता जनाए । राई नेकपा माओबादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुुन् ।