दुधकोशीले बगाएका भोजपुरमा कार्यरत प्रहरी हवल्दारको शव भेटियो, पोष्टमार्टम पछि धरानमा अन्त्येष्टी


भोजपुर । दुधकोशी नदीले बगाएर वेपत्ता भएका भोजपुरमा कार्यरत प्रहरी हवल्दार रोशन श्रेष्ठको धरानमा अन्त्येष्टी गरिएको छ । भाेजपुरको आमचोक गाउँपालिकास्थित ईलाका प्रहरी कार्यालय बालंखामा कार्यरत हवल्दार श्रेष्ठलाई जेठ १० गते दिउँसो करिब सवा २ बजे दुधकोशीले बगाएको थियो । उनको शव एक सातापछि हिजो (सोमबार) उदयपुरस्थित नदीको किनारमा फेला परेको थियो । मृतक श्रेष्ठको शवलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरेपछि धरान १५ स्थित मुक्ति घाटमा अन्त्येष्टी गरिएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार मृतक हवल्दार श्रेष्ठलाई प्रहरी सम्मानसहित अन्त्येष्टी गरिएको हो । ‘एक सातापछि हिजो शव फेला परेको थियो । वीपीमा पोष्टमार्टम गरेर आज प्रहरी सम्मानसहित धरानमा अन्त्येष्टी गरियो,’उनले भने ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार प्रहरी हवल्दार श्रेष्ठ कोभिड १९ रोकथाम तथा सुरक्षाको लागि रानीटार नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा खटिएका थिए । आमचोक गाउँपालिका १० मा पर्ने रानीटार नाकामा हवल्दार श्रेष्ठको कमाण्डमा २ जना प्रहरी र एक जना स्वास्थ्यकर्मी खटिएका थिए । सोही डिउटीको क्रममा उनलाई दुधकोशी नदीले जेठ १० गते बगाएर वेपत्ता बनाएको भोजपुरका प्रहरी प्रमुख डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए । ‘तत्काल ईलाका प्रहरी कार्यालय घोडेटार भोजपुरबाट प्रहरी निरीक्षक टोली खटाएर खोजतलास भइरहेको थियो, हिजो २ बजेतिर उदयपुरमा नदी किनारमा शव फेला पर्यो,’डिएसपी चन्दले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार