भोजपुर गोल्डकपको उपाधि रुपन्देहीको पोल्टामा (फाेटाे फिचर)

विजेताले नगद ५ लाख र उपविजेताले नगद तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे


भोजपुर । भोजपुर गोल्ड कपको उपधि गोर्खा ब्वाइज रुपन्देहीले जितेको छ । भारतको अमुक्ता परिवार, पश्चिम बङ्गाललाई हराउँदै भोजपुर गोल्डकपको उपाधि आफ्नो पोल्टामा पार्नमा पारेको हो । सोमबार सम्पन्न भएको फाइनल खेलमा पश्चिम बङ्गाललाई ५–० गोलले हराउँदे रुपन्देही पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकपको विजेता बन्न सफल भएको हो ।
अघिल्ला खेलहरूमा राम्रो प्रतिस्पर्धा गरेको अमुक्ता परिवारले फाइनल खेलमा भने उत्कृष्ट प्रदर्शन गर्न सकेन । सदरमुकामको स्थानीय टुँडिखेलमा खचाखच दर्शकबीच भएको खेलमा रुपन्देहीका तर्फबाट फोफनाले खेलको ३८ औँ र ४४ औँ मिनेटमा दुई गोल गरे भने यानिकले खेलको ५२ औँ र ७० औँ मिनेटमा दुई गोल गरेका थिए । यस्तै, खेलको ६४औ मिनेटमा जर्सी न. १५ का सुसन तामाङले १ गोल गरेका थिए ।
फाइनल खेलको म्यान अफ द म्याच रुपन्देहीका खेलाडी फोफना भए । विजेता बनेसँगै रुपन्देहीले नगद ५ लाख र उपविजेता पश्चिम बङ्गालले नगद ३ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन् । प्रतियोगिताको उदयमान खेलाडी भोजपुरका प्रवीण राई, उत्कृष्ट गोलरक्षक रुपन्देहीका देव लिम्बू भएका भने अन्य विधामा पनि रुपन्देहीका उत्कृष्ट रक्षक एबोडे, उत्कृष्ट मिडफिल्डर सुनिल खडका, उत्कृष्ट प्रशिक्षक जग्गुनाथ खडका, सर्वाधिक गोलकर्ता यानिक र अमुक्ता परिवारका सौरभ तामाङ बने । गोर्खा ब्वाइज रुपन्देहीका सुशील यादव नै सर्वोत्कृष्ट खेलाडी बन्न पुगे ।
भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा सञ्चालन भएको प्रतियोगितामा अमुक्ता परिवार, पश्चिम बङ्गाल भारत, आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ, सगरमाथा युथ क्लब मोरङ, राष्ट्रिय जागृती क्लब सुनसरी, भगवती स्पोर्ट्स क्लब खोटाङ, बसाहा क्लब उदयपुर, सतासीधाम स्पोर्टिङ क्लब झापा र गोर्खा ब्वाइज रुपन्देही गरी आठ टिमले सहभागिता जनाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार