विराटनगर । भारतबाट लागुऔषध ब्राउन सुगर लिएर नेपाल फर्किरहेका भोजपुरका एक युवक सुनसरीमा पक्राउ परेका छन् । पक्राउ परेका तेजेन्द्र कार्कीले नेपालमा तीन क्विन्टलभन्दा बढी गाँजा लोड गरिएको गाडी छाडेर भारत गएका थिए ।
भोजपुरको अरुण गाउँपालिका–५ निवासी २६ वर्षीय तेजेन्द्र कार्कीलाई मंगलबार बिहान सुनसरीको कोशी गाउँपालिका १ स्थित भन्सार कार्यालय नजिकैबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए ।
लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीको संयुक्त टोलीले कार्कीलाई भारतबाट नेपाल फर्कँदै गर्दा शंका लागि जाँच गर्दा उनको साथबाट करिब २ ग्राम ब्राउन सुगर (खैरो हेरोइन) जस्तो देखिने पदार्थ फेला परेको हो ।
प्रारम्भिक सोधपुछमा कार्कीले प्रदेश १–०२–००२ च ५३४८ नम्बरको पिकअप गाडी नेपालतर्फ कोशी–१, लौकही बजार क्षेत्रमा पार्किङ गरेर भारत गएको बताएका थिए । प्रहरीको टोलीले उक्त गाडी समेत जाँच गर्दा ११ वटा बोरामा प्याक गरिएको ३२३ किलो २१० ग्राम गाँजा बरामद गरेको छ ।
पक्राउ परेका कार्कीविरुद्ध लागुऔषध ऐन अन्तर्गत मुद्दा दर्ता गरी म्याद थप गरिएको र थप अनुसन्धान जारी रहेको सुनसरी प्रहरीले जनाएको छ ।
सुनसरी प्रहरीले पछिल्लो समय लागुऔषध ओसारपसार तथा कारोवारविरुद्ध अभियान तीव्र बनाएको जनाएको छ ।
ब्राउन सुगर लिन भारत गएका भोजपुरका तेजेन्द्र पक्राउ, नेपालमा गाँजाले भरिएको पिकअप बरामद
२०८२ बैशाख १०, बुधबार ०६:४६ गते

प्रतिक्रिया