ब्यापारी र बिचौलियाले सरकारी अनुगमन टोलीलाई कालीमाटीभित्रै थुने


कालीमाटी तरकारी बजार अनुगमनमा ब्यापारी तथा बिचौलियाहरुले अवरोध गरेका छन् । अनुगमनको बिरोधमा घेरा हालिएपछि सरकारी अनुगमन टोली नै लामो समय कालिमाटी बजारभित्रै थुनिएको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोत्ता संरक्षण विभागको अनुगमन टोलीलाई बिचौलियाको समूहले आतंकित पार्न खाजेको थियो ।

आफूहरु घेराबन्दीमा परेको र असुरक्षा भएको भन्दै टोलीले अापूर्ति मन्त्री र प्रहरीलाई खबर गरेका थियो । त्यसपछि प्रहरी बाक्लो मात्रामा परिचालन भयो र टोलीले बजारबाट निस्कियो ।

अनुगमनको बिरोधमा ब्यापारीहरुले बादविवाद गर्न थालेपछि अनुगमन टोली कालिमाटी बजार विकास समितिको कार्यालयमा ढोका थुनेर बस्न बाध्य भएको अनुगमन टोलीका सदस्य माधव तिमल्सिनाले जानकारी दिए । उनले प्रहरीको थप टोली आएर बिचौलियाहरुलाई हटाएपछि टोली बाहिर निस्किएको जानकारी दिए ।

बिहान ३ बजे नै आनुगमनमा पुगेको टोलीले टोलीले बिलबिजक नभएका २ वटा ट्रक नियन्त्रणमा लिएको थियो । तरकारी उत्पादन हुने क्षेत्रमा अनुगमन गरेर फर्किएको टोलीले काठमाडौं आइपुग्दा त्यसको मूल्य तेब्बरभन्दा बढी भएको निश्कर्ष निकाले पछि अनुगमनको योजना बनाएको थियो ।

तर, तरकारी लिएर आउने ब्यापारीसँग बिलबिजक माग्दा टोली नै लखेटिनुपरेको छ । सरकारी अधिकारीले तरकारीमा बिचौलिया नियन्त्रणका लागि अनुगमन गर्दा असुरक्षा बेहोर्नुपरेको भन्दै जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका छन् ।

अहिले बजार अनुगमनमा अवराेध गर्ने भरत खतिवडालाई गिरफ्तार गरिएको छ ।

अहिले अापूर्ति मन्त्री मात्रिका यादव, वाणिज्य मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे, विभागका महानिर्देशक लगायतका उच्च सरकारी अधिकारीहरु तरकारी बजारमा पुगेका छन् । ब्यापारीहरुले बजारको गेट बन्द गरेर अनुगमनको बिरोध गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार