भोजपुर । भोजपुरको दुई स्थानीय तहमा रेडपाण्डा (हाब्रे) संरक्षण कार्यक्रम सुरु भएको छ । रेडपाण्डा नेटवर्कको सहयोगमा सामुहिक अभियान भोजपुरले टेम्केमैयुङ गाउँपालिकामा वडा नं. १, ३ र सल्पासिलिछो गाउँपालिका दोभानेमा समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सुरु गरेको हो ।
चालु आर्थिक वर्षमा उक्त क्षेत्रमा रहेका सामुदायिक बनहरुसंग समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालन गरिने सामुहिक अभियान भोजपुरका अध्यक्ष गणेश श्रेष्ठले बताए । रेडपाण्डा संरक्षणका लागि डिभिजन वन कार्यालय भोजपुर र तिम्मा र दोभानेका सामुदायिक वनहरुसंग सहकार्य गरिने अध्यक्ष श्रेष्ठले बताए ।
आर्थिक वर्ष २०७९/८० मा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालनका लागि रेडपाण्डा नेटवर्कले अनुमानित २० देखि २५ लाख बजेट उपलब्ध गराउने बताईएको छ ।
सुरुआती चरणमा रेडपाण्डाको अनुसन्धान तथा अनुगमन, शिक्षा तथा जनचेतना, वासस्थानको व्यवस्थापन तथा उक्त क्षेत्रको दिगो जीविकोपार्जन र निरन्तर अनुगमनका कार्यक्रम सञ्चालन गरिने रेड पाण्डा संरक्षण कार्यक्रमका कार्यक्रम अधिकृत कामना चौलागाइँले बताइन् । रेडपाण्डा संरक्षण सचेतना कार्यशाला, निजी नर्सरीलाई सहयोग, विद्यालयहरुमा इको कल्व गठन गरी सचेतना मुलक कार्यक्रम गर्ने, सीमान्तकृत समुदायका लागि पोली हाउस सहयोग लगायतका गतिविधि सञ्चालन गरिने अधिकृत चौलागाइँले छ ।
यस वर्षका लागि प्राप्त बजेटबाट रेडपाण्डा संरक्षणसम्बन्धी सञ्चालन गरिने गतिविधिका बारेमा जानकारी दिन बुधबार भोजपुरमा जिल्लास्तरीय सल्लाहकार समितिको गठन गरिएकाे छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति भाेजपुरका प्रमुख कमल थुलुङ, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, सुरक्षा प्रमुख लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीले लोपोन्मुख वन्यजन्तु रेडपाण्डा संरक्षण अभियानमा सबैको सहकार्य आवश्यक रहेको बताए ।
केहि वर्षको अघि मात्र किमालुङ्गको भालुखोप सामुदायिक वन क्षेत्रमा लोपोन्मुख रेडपाण्डा भेटिएको थियो । साल्पासिलिछो-५ दोभाने, षडानन्द नगरपालिकाको किमालुङ्ग, टेम्केमैयुङ गाउँपालिकाको तिम्मा लगायतको क्षेत्रमा लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको बसोबास छ । रेडपाण्डा नेटवर्कले गरेको अनुसन्धानबाट पनि तिम्मा, किमालुङ्ग लगायतको क्षेत्रमा रेडपाण्डाको बसोबास रहेको पुष्टि भएको थियो । गुराँस, खस्रु, निगालो र मालिङ्गो मिश्रित वनमा पाइने रेडपाण्डाको संरक्षणबाट हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने र जीविकोपार्जनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
मान्छे देख्दा नभाग्ने लजालु स्वभावको रेडपाण्डा स्थानीय बासिन्दाले मासुका लागि चोरी शिकार गर्ने गरेको बताइएको छ । घरपालुवा जनावर बिरालोजस्तो देखिने यसको शरीरको माथिल्लो भाग रातो र खैरो हुन्छ । भुँडीमा कालो तथा अनुहारमा सेतो र आँखा छेउछाउमा कालो हुन्छ ।
टाउकोदेखि पुच्छरसम्म लम्बाइ ९३ देखि ११० सेन्टीमिटरसम्म लामो हुने भाले रेडपाण्डाको तौल तीन दशमलव सात केजीदेखि छ दशमलव दुई केजीसम्म हुने जनाइएको छ । भालेभन्दा ठूलो हुने पोथी रेडपाण्डाको चारदेखि छ दशमलव दुई केजीसम्म तौल हुने गरेको छ । मासुका लागि शिकार गरिएको रेडपाण्डाको छाला बिक्री हुने बताइएको छ । दश स्थानीय तह रहेको जिल्लामा रेडपाण्डासँगै मृग, हरिन, थार, घोरल, खरायोलगायतका जङ्गली जनावरको चोरी शिकार हुने गरेको छ