भोजपुरकाे पौवादुङमा गाउँपालिकाको अरुणडाँडामा पर्यटन प्रवद्र्धनका लागि महोत्सव सुरु


भोजपुर । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पौवादुङमा गाउँपालिकाको अरुणडाँडामा बिहीबारदेखि महोत्सव सुरु भएको छ । आगामी २६ गतेसम्म चल्ने महोत्सवको नारा ‘पौवादुङमा गाउँपालिकाको उत्सव, हाम्रो पहिचान, संस्कृति सम्पदा आन्तरिक तथा बाह्य पर्यटन महोत्सव’ रहेको छ ।
महोत्सवमा विभिन्न जातजातिको खाना परिकार, कृषि प्रदर्शनी, विभिन्न रीतिरिवाज र संस्कृतिका प्रस्तुतीसँगै स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने अरुण प्रवद्र्धन समितिका अध्यक्ष सञ्जीव सुब्बाले बताए । गाउँपालिकाभित्रका पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको अध्यक्ष सुब्बाले बताए । महोत्सवमा पर्यटन प्रवद्र्धनका लागि विभिन्न खेलकुद, पिङ, स्थानीय कृषि उत्पादनका स्टल राखिएको छ ।
यहाँबाट विभिन्न हिमश्रृङ्खला समेत अवलोकन गर्न सकिने गाउँपालिका अध्यक्ष किरण राईले बताए । अध्यक्ष राईले भने, “आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा समेत बृद्धि हुने हाम्रो अपेक्षा छ, पर्यटन क्षेत्रको विकासमा गाउँपालिकाले योजना ढंगले काम गरिरहेको छ सोही अनुसार यो महोत्सव पनि आयोजना भएको हो ।”
महोत्सवमा गायक शम्भु राई, सुनिता बेगम, श्रीकृष्ण लुइटेल, बालचन्द्र बराल, सुमन थापा मगर, तेजेन्द्र गन्धर्वलगायत कलाकारको सहभागितामा सांगीतिक कार्यक्रम हुने आयोजकले जनाएको छ । महोत्सवमा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार