भोजपुर । भोजपुर प्रदेशसभा (क) का लागि एमालेका उम्मेदवार बनेका हरिबहादुर राईले समृद्धिका १७ संकल्पसहितको घोषणापत्र सार्वजनिक गरेका छन् । उनले ९ बुँदे प्रतिबद्धता पनि जाहेर गरेका छन् ।
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईका प्रतिस्पर्धी एमालेका राईले समृद्धि, विकास र स्थिरताका लागि संकल्पसहितको घोषणापत्र सार्वजनिक गरेका हुन् । आफ्नो पक्षमा मत तान्न अहिले दुवै उम्मेदवार जनताको घरदैलोसहितको चुनावी कार्यक्रममा व्यस्त छन् ।
आफ्नो घोषणापत्रमा जिल्लाका सबै क्षेत्रलाई समेटेको एमाले उम्मेदवार राईले बताए । शासक नभई जनसेवकका रूपमा काम गर्ने, विकास र समृद्धिको अभियान्ता भएर जनतासँग सहयात्रा गर्ने, स्थानीय सरकार र संघबीच पुलको काम गर्ने, जनताको हरेक दुःख र संकटमा साथ रहने राई प्रतिबद्धतासमेत जनाएका छन् । ऊर्जा, सडक, स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि, पर्यटनलगायत क्षेत्रमा काम गर्ने राईको घोषणापत्रमा उल्लेख छ ।
प्रदेश (कका उम्मेदवार एमालेका राईले भने, ‘विकासका मेरा एजेन्डा नारामात्र नभएर रोडम्यापसहितको हो । मसँग जनतामाझ जाने स्पष्ट खाका र प्रतिबद्धता छ ।’ एमाले उम्मेदवार राईले भौतिक पूर्वाधार, भाषा–संस्कृति, सञ्चार, सामाजिक न्यायलगायत क्षेत्रमा समेत आफूले गर्ने कामको सूचीलाई चुनावी एजेन्डा बनाएका छन् ।
यस क्षेत्रमा एमाले उम्मेदवार राई र एकीकृत समाजवादीका केन्द्रीय सचिवसमेत रहेका गठबन्धनका उम्मेदवार राजेन्द्रका बीचमा नै कडा प्रतिस्पर्धा हुने देखिएको छ ।