भोजपुर । जिल्लाको उत्तरी क्षेत्र षडानन्द नगरपालिका–१० साङपाङका किसानले अकवरे खोर्सानीवाट राम्रो आम्दानी गर्न सफल भएका छन् । परिक्षणको रुपमा लगाईएको खोर्सानीवाट उनिहरुले मनग्गे आम्दानी गरेका हुन् ।
वडाको रिट्ठावोटेदेखि सत्तलसम्मका २५ घरपरिवारले ७० रोपनीमा लगाएको अकवरेवाट एक सिजनमै १८ लाख वढिको आम्दानी गर्न सफल भएकाहुन् । उनीहरुले उत्पादन गरेको खोर्सानी धरान हुँदै भुटान सम्म चाउचाउ फ्याक्ट्री र घरायसी उपभोगमा निर्यात हुने गरेको छ । हप्तामा ७ ८ क्वीण्टल खोर्सानी उत्पादन हुने गरेको अगुवा कृषक तथा कृषि अभियान्ता जितेन्द्र राईले बताए ।
राजधानी काठमाडौं लगायत ठाउँहरुवाट खुर्सानीको माग आएको राईले बताए ।
खोर्सानीवाट अन्य बालीनालीवाट भन्दा राम्रो आम्दानी भएपछि कृषकहरु अन्यवाली छोडेर खोर्सानीमा आकर्शित भएकाछन् । मकै, कोदो, आलु लगायतका बालीनाली लगाउँदै आएका कृषकले परम्परागत बालीनाली छोडेर अकबरे लगाउन थालेको स्थानिय विदुर राईले वताए । दुर्गम गाउँमा यातायातको समस्या भएकोले ढुवानीमा धेरै खर्च हुने हुँदा कृषकले अझै उचित मूल्य नपाएको गुनासो छ । धरान सम्म प्रति केजी ३० रुपैंया सम्म ढुवानी खर्च लाग्ने गरेको अगुवा कृषक राईले बताए ।
खोर्सानी अन्य बालीनाली भन्दा स्याहार सुसार गर्न सजिलो र बजार राम्रो भएकोले आम्दानीपनि राम्रो भएकोले भोजपुरमा पछिल्लो समय अकवरे खोर्सानी तर्फ आकर्षण वढेको छ । भोजपुरको षडानन्द, अरुण, भोजपुर, ट्रयाम्के मैयुंग लगायतका गाउँपालिकामा व्यावसायिक खोर्सानी खेती हुने गरेको छ ।