धनकुटा । काठमाडौबाट भोजपुर जादै गरेको बस धनकुटा नगरपालिका–१० स्थित पात्ले खोला नजिक आज बिहान रोकेर राखिएको ट्रकमा बस ठोक्किँदा ८ जना यात्रु घाइते भएका छन् । बा ५ ख ५६२४ नम्बरको बस सडकमा रोकेर राखिएको को १ ख ४२२८ नम्बरको ट्रकसँग बिहान करिब ५ बजे ठोक्किएको हो ।
दुर्घटनामा परी बसमा सवार भोजपुर बोखिम–५ का २९ बर्षीय राजन भण्डारी, भोजपुर–१ का ३४ बर्षीया देविमायाँ तामाङ, भोजपुरको तिवारी भञ्जयाङ–२ का २८ बर्षीय मन्तोष महत, भोजपुर–३ का ५४ बर्षीय पर्वत राई घाइते भएका छन् । त्यस्तै, भोजपुरको पौवादुम्वा–१ का २८ बर्षीया लक्ष्मी पाण्डे, काभ्रेपलान्चोक मन्नदेउपुर–१ का ३४ बर्षीय रमेश पौडेल, भोजपुरको टेम्केमयुङ–१ का २७ बर्षीय मिनेस बराइली र सप्तरीको सुरुङ्गा–४ कनकपुरका ३३ बर्षीय सुरेश कुमार चौधरी घाइते भएका छन् ।
घाइतेहरुलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको छ ।
सात जना घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको र एक जनालाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको धनकुटाका प्रहरी प्रवक्ता डिएस्पी दिपक कुमार रायले जानकारी दिए । गम्भीर अवस्थामा रहेका भोजपुर बोखिम–५ का भण्डारीलाई थप उपचारका लागि धरान पठाइएको हो ।
२० जना यात्रु वोकेर आउँदै गरेको रात्री बस ट्रकको पछाडिपट्टीको भागमा ठोकिएको छ । ठक्करबाट बसको अगाडिको भाग पूर्ण रुपमा क्षति पुगेको छ भने ट्रकमा पनि क्षति भएको छ । यात्रुहरुका अनुसार बिहान सो स्थानमा हुस्से लगेको थियो । हुस्सेका कारण सडक राम्रोसँग नदेखिँदा दुर्घटना भएको हुनसक्ने ट्राफिक प्रहरीको अनुमान छ ।
दुर्घटनापछि बस चालक र सह–चालक फरार भएका छन् । ट्रकका चालक धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ का २५ बर्षीय अभिलास भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।