पूर्वी पहाडी जिल्ला खोटाङ, भोजपुर, सोलुखुम्बु र संखुवासभाको सीमा क्षेत्रमा रहेको पदमार्ग हो, मुन्धुम पदमार्ग। २०७५ कात्तिकमा नेपाल सरकारले घोषणा गरेको नेपालका घुम्नैपर्ने सय वटा पर्यटकीय गन्तव्यको सूचीमा यो पदमार्ग पनि परेको थियो। त्यसयता टेम्के–मैयुङ–साल्पा–सिलिचुङ शृङ्खलाको चर्चा हुनुका साथै यो पदमार्गलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने पहल भइरहेको छ। भोजपुर र खोटाङको सिमानामा अवस्थित टेम्के डाँडा ९३ हजार १६५ मिटर बाट शुरू हुने पदयात्रा मैयुङ डाँडा, सिलिचुङ डाँडा हुँदै साल्पा पोखरीमा टुङ्गिन्छ।
किराती सभ्यता, संस्कृति र जीवनदर्शनको समग्र रूप मुन्धुम हो।
किराती राई बहुल क्षेत्रमा पर्ने भएकाले पदमार्गको नाम मुन्धुम राखिएको हो। समुद्री सतहबाट २ हजार ३०० मिटरमा रहेको चखेवादेखि ४ हजार ११० मिटरको सिलिचुङ डाँडा प्राकृतिक सौन्दर्य, मौलिक जीवनशैली, मिथक, आस्था र किराती संस्कृतिको संगम हो। तल्लो भेगमा गाउँ, माथि बाक्लो जङ्गल र त्यसभन्दा माथि खर्क, पोखरीहरू र देवीदेवताका थान रहेको त्यो क्षेत्र सरकारी सूचीमा पर्नुभन्दा धेरै अगाडिदेखि नै स्थानीयको जीविकोपार्जन र संस्कृतिको अभिन्न अङ्ग रहँदै आएको छ।
फौदारी भूमि
हाल मुन्धुम मार्ग भनेर चिनिने क्षेत्र खासमा फौदारी भूमि हो। समूह–समूहबीचको झगडालाई फौदारी भन्ने चलन छ, त्यस भेगमा। यो कानूनी शब्द फौजदारीको स्थानीयकरण र अपभ्रंश दुवै हो। फौदारीको प्रसंगमा केही चर्चा गरौं।
मुन्धुम पदमार्ग क्षेत्रका विभिन्न स्थानमा विविध तिथि र दिनहरूमा धार्मिक–सांस्कृतिक तथा विशुद्ध मनोरञ्जनात्मक मेला लाग्छन्। जस्तो, टेम्के डाँडामा बालाचतुर्दशी र शिवरात्रि, साप्सुधाप र पखुवामा जनै पूर्णिमा, भुवनपोखरीमा कात्तिक पूर्णिमा, साल्पा पोखरीमा वैशाख पूर्णिमा, जनैपूर्णिमा र कात्तिक पूर्णिमामा। मैयुङमा साउन २ गते राँके बजार र भदौ पहिलो मंगलबार हरेला बजार लाग्छ। पात्रोको तिथिमा लाग्ने मेलाहरू धार्मिक–सांस्कृतिक मेलाहरू हुन् भने राँके बजार विशुद्ध मनोरञ्जन मेला हो। यस्तै, हरेला बजार जङ्गली च्याउ र जडीबुटी खोज्ने पर्व हो।
यी मेला र बजारहरूमा नजिकका गाउँबाट पूरै बस्ती नै उर्लिएर जाने अनि दिनभर खानपान, नाचगान गरी दिन ढल्किँदै गएपछि डाँडावारि र डाँडापारिका बासिन्दाबीच हुल नै लागेर अकारण निहुँ खोजेर फौदारी गरिन्थ्यो। धामीझाँक्रीसँगै उफ्रिँदै घुम्ने, धामीको शक्तिलाई लिएर समर्थकहरू अलि कमजोर समूहमाथि खनिने। समूह–समूह भएर जुहारी खेल्ने र हार्दै गएपछि निहुँ खोज्न थाल्ने।
आफ्ना चेलीबेटीलाई आँखा लगाएको भनेर अर्को समूहमाथि जाइलाग्ने। कति फौदारी बल र जाँड–रक्सीका उन्माद मात्रै हुन्थे, कति चाहिँ सुनियोजित पनि हुन्थे। त्यस्तो झगडा अघिल्लो वर्षको फौदारीले सिर्जना गर्थ्यो। जसले कुटे पनि वा कुटाइ खाए पनि अर्को वर्ष अझै तयारीका साथ लाठोमुङ्ग्रो लिएर बजार उक्लिने चलन थियो।
प्राकृतिक स्रोतमाथि हानाथापको कारण पनि फौदारीहरू हुन्थे। माथिल्लो भेगको खर्कलाई कब्जा गर्ने होडले फौदारी निम्त्याउँथ्यो। भोजपुर र खोटाङको सीमा क्षेत्रमा ठूल्ठूला खर्कहरू छन्। राणाकालमा ती दुई जिल्लाको सिमानालाई पानीढलो मानिएको थियो, अर्थात् खोटाङतिर पानी बग्ने क्षेत्र ३ नम्बर, भोजपुरतिर पानी बग्ने ४ नम्बर। गोठ राख्न लायकका ठाउँहरूमा दुवैतिरका बासिन्दाले आँखा लगाउँदा कब्जाको प्रयास हुन्थ्यो।
त्यस्ता राम्रा ठाउँहरूमा गाउँ नै उर्लेर गएर गोठ बनाउने, बार लगाउने गर्थे। त्यो खबर अर्कोतिर पुगेपछि गाउँ नै उठेर गई गोठ भत्काउने, पशुहरू लुट्ने, गोठालाहरू कुटाकुट र काटाकाट समेत गर्ने गर्थे। झगडाले उग्र रूप लिन थालेपछि दुवै पक्षका अगुवाहरूले मिलापत्र गर्थे, तर त्यसको इमानदारी साथ पालना हुँदैनथ्यो। अर्को वर्ष त्यस्तै घटना दोहोरिन्थ्यो।
खर्कको मामिला स्थानीय लडाइँमा सीमित भएन, अदालतसम्म पुग्यो। मैयुङको खर्कको विषयमा भोजपुरेको तर्फबाट खोटाङेविरुद्ध मुद्दा लड्न करीब दुई दशक धनकुटा धाएका बालाजित राई त्यस वेला डाँडातिर जहिल्यै झगडा हुने गरेको बताउँछन्।
बढ्दो चेतना र गाउँबाट युवा पलायनको दर बढेसँगै यस्ता फौदारी हट्यो। दुवैतिरका बासिन्दाबीच सौहार्दता स्थापित भयो। आपसमा कुटुमेरी र मितेरी सम्बन्धहरू स्थापित भए। साउने झरीमा लाग्ने राँके बजारको ठाउँ नयाँ वर्षको जमघटले लिन थाल्यो। फौदारी बजारहरू प्रेम र आत्मीयता साट्ने अवसर र थलो बने।
पदमार्गमा ‘गोठ बास’
मुन्धुम पदमार्ग करीब ८० किलोमिटर छ। पदमार्ग पूरै छिचोल्न दुई साताको कार्यक्रम बनाउनु राम्रो हुने मैयुङ–टेम्के–साल्पा–सिलिचुङ पर्यटन केन्द्रका अध्यक्ष रमेश राईको सुझाव छ। यति लामो पदयात्राका क्रममा ठाउँठाउँमा बासको व्यवस्था आवश्यक हुन्छ। तर, पदमार्गमा गाउँ र होटल छैनन्। खर्चिलो र झन्झट हुने भएकाले टेन्ट सबैका लागि सम्भव हुँदैन।
पदमार्गमा पर्ने खर्कमा मौसमी गोठहरू छन्। ती फागुनदेखि गाउँदेखि मास्तिर सर्दै जान्छन् र असोजसम्ममा गाउँ झरिसक्छन्। चैतदेखि भदौसम्म खर्कहरू पशुले भरिभराउ हुन्छन्। पदमार्ग क्षेत्रमा चौंरी, भेडा, बाख्रा र गाईभैंसीका सयभन्दा धेरै गोठ छन्। खर्क गोठ संरक्षण समिति भोजपुर–खोटाङका अध्यक्ष पाबिहाङ राईका अनुसार, धोत्रेदेखि ह्याकुलेसम्म मात्रै २५ गोठ छन्।
पदमार्गमा जाने पर्यटकहरू बास बस्न गोठ राम्रो विकल्प हो, तर ती बास बस्न लायक छैनन्। गोठहरू पर्यटकमैत्री बनेमा पर्यटक र स्थानीय किसान एवम् गोठाला दुवै पक्षले लाभ लिनसक्छन्। पर्यटन प्रवर्द्धन गर्न गोठको स्तरीकरण, व्यवस्थापन र व्यवसायीकरणको अवधारणा अगाडि सारिएको छ।
मुन्धुम पदमार्गमा रहेको चौंरीगोठ ।
पर्यटकको गोठ बसाइलाई खोटाङका पूर्वसांसद टंक राई ‘गोठ स्टे’ भन्छन् भने अध्यक्ष पाबीहाङ राई ‘गोठ बास’ भन्नुपर्ने बताउँछन्।
चौंरीगोठ र भेडीचोक यस भेकका खास विशेषता हुन्। पहिला यहाँ आउने भेडाहरू हिउँदमा तराईको कोशीटप्पु र वर्षामा मेरा उपत्यका (सोलुखुम्बु) पुग्ने गर्थे, हिमाल जाँदा र मधेश झर्दा वर्षको दुई पटक मैयुङ आसपासमा एक–दुई महीना जति बस्थे। तर, आजभोलि मैयुङ क्षेत्रमै लामो समय बस्ने गरेका भेडीचोकेहरू बताउँछन्।
गोठ बास पर्यटकका लागि बास मात्रै हैन, सिकाइ थलो पनि बन्नसक्छ। यस क्षेत्रमा घुम्न आउने विद्यार्थीले गोठ बासबाट पशुपालनका व्यावहारिक ज्ञान हासिल गर्नसक्छन्।
पछिल्लो समय गोठहरू हराउँदै गएका छन्। परम्परागत पशुपालनबाट मानिसहरू अरू पेशातिर लाग्दै गए। युवा जनशक्तिले शिक्षा र रोजगारीका लागि थातथलो छाड्ने क्रम बढ्यो। सामुदायिक वनहरू गोठ संस्कृतिको विरुद्धमा भए। सामुदायिक वनहरूले खर्कहरू कब्जा गरेर गोठालाहरूबाट चर्को कर र जरिवाना असुल्ने, संरक्षणको नाममा जलाशयहरूलाई तारबार गरी पशुहरूलाई पानी खानबाट वञ्चित गर्ने तथा गोठ र पशु सङ्ख्यामा कोटा लगाउने गर्दा गोठ संस्कृति घट्दै गएको छ।
ओझेलको पाटो
सामान्यतया पदमार्ग भनेपछि फुर्सदमा रमाइलो गर्दै रमिता हेर्दै हिँड्ने मार्ग हो। तर, मुन्धुम पदमार्ग क्षेत्र त्यति मात्र हैन। त्यो भेक प्राज्ञिक अध्ययन–अनुसन्धानका लागि पनि ‘भर्जिन’ क्षेत्र हो। त्यस भेकको जैविक तथा सांस्कृतिक विविधताको व्यवस्थित अध्ययन भएको छैन।
मुन्धुम पदमार्ग क्षेत्रमा खुला आँखाले पनि दुई दर्जनभन्दा बढी प्रजातिका गुराँस देखिन्छन्। कञ्चनजंघा र लाङटाङ क्षेत्रमा मात्रै पाइने भनेर बुझिँदै आएको रेड पान्डा त्यस क्षेत्रमा पनि छन्, जसको संरक्षण खोटाङ कोपिलासगढी गाउँपालिका–१ का समुदायले गरिरहेका छन्। यस्तै, हिमाली क्षेत्रमा मात्रै पाइने मानिने विखुमा, जटामसी, पाँचऔंले जस्ता जडीबुटी र पश्चिम हिमालका पाटनहरूमा मात्रै पाइने भनिएको यार्सागुम्बा त्यस भेगमा भेटिने गोठालाहरूको दाबी छ।
हिमाली भेगमा मात्रै रमाउने कस्तुरी, डाँफे र मुनालदेखि विशेषगरी तराईमा पाइने पाटे बाघ र मयूर पनि मुन्धुम पदमार्ग क्षेत्रमा पाइएको स्थानीयहरू बताउँछन्। तिनलाई आफूले मारेको दाबी गर्ने पुराना शिकारीहरू अझै छन्। केही महीनाअघि डडेल्धुराको महाभारत क्षेत्र र इलामको सन्दकपुरमा क्यामेरा ट्र्यापिङमा पाटे बाघ देखिएको कुराले मुन्धुम क्षेत्रमा पाटे बाघ पाइएको दाबीलाई पुष्टि गर्ने आधार दिन्छ।
हात्तीमारे भन्ने ठाउँमा आफ्ना पुर्खाले हात्ती मारेको कथाहरू पनि सुन्न पाइन्छ। यी कुराको पुस्ट्याइँ गर्ने अनुसन्धान भने भएको छैन। उत्तरमा सगरमाथा र दक्षिणमा कोशीटप्पुसम्म जोडिएको पहाडी शृङ्खला भएकाले ती दाबीहरूमा सत्यता हुनसक्छन्।
मुन्धुम पदमार्ग वरिपरि किरात राई समुदायको बाहुल्य छ। उनीहरू त्यहाँका सबैभन्दा पुराना रैथाने बासिन्दा हुन्। खोटाङतर्फ चाम्लिङ, दुमी, कोयू, साम्पाङस सोलुखम्बु, संखुवासभा र उत्तरी भोजपुरमा कुलुङहरू छन् भने भोजपुरतर्फ बान्तावाहरू छन्। तामाङ, शेर्पा, गुरुङ, क्षेत्री, बाहुन, सन्यासी र दलितहरू आआफ्नो सांस्कृतिक जीवनशैलीमा रमाइरहेका छन्।
उत्तर भारतका नागाहरू त्यही भेकबाट पूर्व लागेको मिथकहरू पनि छन्। राईहरू त धामीझाँक्रीवादी भइहाले, अरू समुदायमा पनि धामीझाँक्री परम्परा छ, जुन वैशाख पूर्णिमा, जनै पूर्णिमा र कात्तिक पूर्णिमा मेलाहरूमा देख्न सकिन्छ। तिनको वैज्ञानिक अनुसन्धान र अभिलेखीकरण भएको छैन।
विडम्बना के हो भने, मुन्धुम पदमार्ग प्रवर्द्धन गर्ने क्रममा अध्ययन–अनुसन्धानका यी विविध विषय र क्षेत्रहरूको चर्चा भइरहेको छैन। हिमाल हेर्ने, क्याम्प फायर गरी रमाइलो गर्ने र भविष्यमा डाँडाहरूमा ठूलाठूला होटल र रिसोर्टहरू ठड्याउने योजनाहरूको मात्रै प्रचार भइरहेको छ। यसले विशुद्ध प्राकृतिक पदमार्गमा साइकलमैत्री बाटो बनाउने कुरा बढ्दै मोटर साइकलमैत्री, जीपमैत्री, हुँँदै ट्रक–बसमैत्री बनाउनेसम्म पुग्नसक्ने जोखिम देखिएको छ। जसले त्यस भेगको प्राकृतिक सौन्दर्य र जैविक विविधतालाई ध्वस्त बनाउँछ।
गत नयाँ वर्षको दिन टेम्के डाँडामा भएको सवारी साधनको जामबाट त्यसैको पूर्वानुमान गर्न सकिन्छ। टेम्के आफैंमा प्राकृतिक टावर हो, त्यहाँ कृत्रिम टावर ठड्याउने चाँजोपाँजोका रूपमा चुचुरोमा खाडल खनिएको एक दशक हुँदै छ।
त्यस भेकमा खुला शिकार अझै जारी छ। विभिन्न प्रजातिका बोटबिरुवा र जनावरको चोरीतस्करी र शिकारले ती प्रजाति लोप भइरहेका छन्। बूढापाकाहरूले आफ्नो युवाकालमा देखेका धेरै किसिमका बोटबिरुवा, चराचुरुङ्गी र जनावरहरू अहिले पाइन छाडेका छन्।
नेपाली कागज बनाउने कच्चा पदार्थ लोक्ता संरक्षण गर्न सामुदायिक वनहरूले वन फँडानी गर्दा दर्जनौं अन्य बोटबिरुवा सखाप भयो। कुनै खास बिरुवाको मात्रै संरक्षण र अरूलाई सिध्याउने कार्यले प्राकृतिक पर्यावरण चक्र खलबलिनेतर्फ वैज्ञानिक अनुसन्धान गर्न अगुवाहरूको चासो छैन।
मुन्धुम पदमार्गमा खोटाङ र भोजपुरका ६ वटा पालिका, प्रदेश सरकार, संघीय सरकार र स्वीस सरकारको आर्थिक सहयोगमा स्थानीय समुदायहरूले धमाधम बाटो बनाइरहेका छन्। ती बाटाहरू भविष्यमा त्यो ठाउँको प्राकृतिकता र जैविक विविधताका लागि घातक साबित हुने सम्भावना उत्तिकै छ। साभारः हिमाल खबर