मुन्दुम पथ यात्राको सम्झना: ‘फाटेको फुर्लुङ को टाल्ने ! जिऊ बुढो भयो को पाल्ने !!’

  नरेश काङमाङ राई

तावा भन्ज्याङबाट शुरु भएको मुन्दुम पथ मार्गले रिमाचुङ ‘ट्याम्के’ डाँडा हुँदै चखियालाई छोएर गएको छ । चखिया ‘चाक्वाखुवा’ (डाँडामुनि पानीको मुहान भएको ठाउँ) बाट पश्चिममा उभिएको छ रिमाचुङ ‘ट्याम्के’ डाँडा । उत्तर पूर्वमा देखिन्छन्, ‘लहरै उभिएका हिमालहरू ।’ ‘सेन्मिखा’को थातथलो हो चखिया । ‘हेर्ने कथा’ले सेन्मिखालाई भेटेपछि चखिया र सेन्मिखाको नाम अझै व्यापक हुँदै गएको छ । सेन्मिखा मुन्दुम पथ निर्माणमा खटिएको छ । उनी अर्ग्यानिक युवा हुन । खाँटी नेपाली गीत गाउँछन् । त्यसैले त सेन्मिखालाई भेट्न युट्युबरहरु धुरनधार चखिया पुग्छन् । मुन्दुम पथ मार्ग पुग्छन् । सेन्मिखाको अन्तरवार्ता लिन्छन् । ‘हेर्ने कथा’ले सेन्मिखालाई चिनायो र सेन्मिखाले पनि हेर्ने कथालाई अझ धेरै चिनायो । यो पङ्तिकार उही चखियामा जन्मिएर हुर्किएकोले चखियाको नाम व्यापक हुँदै जाँदा खुशी नहुने कुरै भएन ।

बैंशाख ९ गते झिसमिस नहुँदै धरानबाट चखियाको हाम्रो यात्रा शुरु भयो । यात्रीहरू थियौ, आप्पा ‘बाउ’, राम गुरुजी, रुकमला भाउजु , रुमिश भतिज र मेरीसा भान्जी । हिले नपुग्दै हावापानी आउन थाल्यो । जाडोको महसुस निक्कै भयो । आपा ‘बाउ’ ले भात गाउँले टोपी मात्र लगाउनु भएछ । असीको उकालो उमेरले होला गलबन्दी भुल्नु भएछ । उमेरमा नै रहेछ मान्छेले भोग्ने र रोक्ने । उताव चढाव आउने र जाने । बुढेसकाल त रमिते हुँदो रहेछ ।
जब अरुण नदिको पुल तरेर जरायोटारको उकालो पार गरी प्याउली पुग्दासम्म पानी रोकिएको थिएन । एक बजे तिर भोजपुर देउराली पुग्यौँ । पसलमा आपाको लागि उनीको एउटा गम्छा किने । आपालाई दिँए । खोङटाङ पुग्यौ । रामचन्द्र मामा र मिना दिदीकोमा बिसायौँ । आपा र मामा शारदा प्रावि खोङटाङमासँगै शिक्षण गर्नु भएको स्टाप पनि हुनु हुन्थ्यो । आपाले नै मिना दिदी र मामाको विवाहको चाँजोपाँजो मिलाई दिनु भएको थियो । बजारबाट फर्कँदा मामाले दिदीलाई तानेर विवाह गर्नु भएको कथा सानैमा मैले सुनेको हुँ ।

चिया पिएर हाम्रो यात्रा अघि बढायौँ । अञ्चल डाँडामा पुग्यौँ । चरण दाजुको होटेलमा चिया पियौं । ४ बजे चखिया पुग्यौं । प्रकाश माइला (भतिज)को होटेलमा हाम्रो बास बस्ने टुङ्गो भइसकेको थियो । फोनमा संवाद भए अनुसार कवि भाइ र सेन्मिखा नाति मुन्दुम पदमार्गबाट आइसकेका रहेछन् ।

खानाखाई सकेपछि मक्कलमा कोइलाको आगो ताप्न थाल्यौं । कोइलाको रापसँगै तीनपानेको बोलतहरु रित्तिँदै थियो । आप्पा र सेन्मिखाले केही चरण गीत गाउनु भयो । गीतको बोल थियो ।

फाटेको फुर्लुङ को टाल्ने ?
जिऊ बुढो भयो को पाल्ने ?
…………….
बुढेसकालको जीवनलाई कसले पाल्छ होला रु प्रश्नलाई थाती राखेर हामी सुत्न आ–आफ्नो कोठा तिर लाग्यौ ।
बिहान ६ः०० बजेको हुनुपर्छ । झुल्किएको घामले चखियालाई छोई सकेको थियो । पार्किङमा राखिएको स्कोरपियो जिपमा घामको प्रकाश ठोकिएको दृश्य निकै समय हेरिरहें । आँखाबाट उक्त दृश्य बिस्तारै बिलाएर गयो । फलैँचामा बसेर कफी पिउँदै पश्चिममा उभिएको रिमाचुङ ‘ट्याम्के’ डाँडालाई नियालें । रिमाचुङको टाउकोमा घामको किरण पुगी सकेको थियो । प्रकाश माइलासँग मुन्दुम पथको ‘हाँस पोखरी’सम्म पुगेर फर्कने योजना बनायौं । नरराज भतिज, पाण्डव भतिज र मिलन भाइ बेलुकी आई पुग्ने टुङ्गो लाग्यो । भतिजहरू अधिराज, शिवराज, हाङखेन नाति, सुनिता बहिनी लगायत जम्मा १६ जनाको हाम्रो समूह बन्ने भयो ।
२०४७/२०४८ सालको तिरको कुरो हो । स्कुलको वर्षे बिदा थियो । आपाले भन्नु भयो, ‘हर्कटेमा वृक्ष रोपन हुँदै छ ।’ पैसा दिन्छ । तिमेरु पनि बिरुवा रोप्नु जाऊ । म पनि नानाहरूसँग बिरुवा रोप्न जान थालें । आलुदम र चाम्रे भातको खाजा खान्थ्यौ । दिनभरिको ज्याला १५–२० रुपैयाँ पाउँथ्यौ जस्तो लाग्छ । ती दिनहरूलाई झलझली सम्झँदै हामीले रोपेका सल्लाको रुखहरूलाई छिचोलेर जुरे पुग्यौं ।

मलुवा पोखरीलाई छिचोल्यौ । मुन्दुम पथ मार्गमा बनाएको ढुङ्गाको बेन्चमा बस्यौ । उसिनेको डिम्मा ९अण्डा० र पानी खायौं । बाटोभरी चौर खनेर बनाएको ढोल, झ्याम्टा, चिन्डो, धनु कार्ड आदिको सुन्दर नक्सा र दृश्यहरू हेर्दै अघि बढ्यौं । दलसिंगेलाई पार गरेपछि जङ्गलमा निर्माण भएको बाटोलाई पछ्यायौं । कुकुरहरू भुकिरहेको थियो । जति अधि बढ्यौ उति नै कुकुरहरू भुकेको आवाज ठुलो सुनिँदै थियो । भेडाहरू बाटो माथि र मुनी कराउँदै चरिरहेको थिए । बाटो माथि भेडी चोक राखेको रहेछ । तीन वटा भोटे कुकुरहरूले गोठको सेकुरीटी गरिरहेको थिए । जङ्गललाई छिचोलेपछि ‘तिन थुम्के’ डाँडामा पुग्यौं ।
टुप्पी नभएको एउटा खर्सुको रुख कालो झ्याउ ओडेर उभिएको थियो । रुख अगाडीसम्मा चौर । चौर खनेर बनाएको ढोल र झ्याम्टाको नक्सा । चौरको बिचमा राखिएको ‘ढुङ्गाको टेबल र बेन्चहरूमा बिसायौं ।’ सबैभन्दा अगाडिको समूहमा मिलन, नरराज, पाण्डव, मेरीसा र म भएछौं । पछाडिका दुई समूह करिब आधा घण्टापछि आई पुग्यो । केही समयपछि दुई जना दाजैहरु पनि आई पुग्नु भयो । साथीहरूले चिनेका रहेछन् । सुम्दे निवासी बिर्तामणि राई र उहाँको साथी रहेछन् । बिर्तामणि दाजै र सेन्मिखा उही खर्सुको रुख अगाडी बसेर गीत गाउन थाली हाल्यो ।

घुरुमा घुरु परेवा घुर्छ
हाँस पापी घुर्दैन
आज पो जाऊ जाऊ
भोलि पो जाऊ जाऊ
साइत कहिले जुर्दैन
साइत कहिले जुर्दैन नि लई लई, साइत कहिले जुर्दैन ।

आहा ! गीतको हरफहरू । जानु पर्ने कहाँ होला ? पापी हाँस घुरेको दिन कहाँ पुगिएला ? परेवाले घुर्न बिर्सेको दिन के होला ? आज पो जाऊ, भोलि पो जाऊ किन लाग्छ होला ? उदास मनमा उराठ लाग्दो तर न्वारान गर्न नपाएका दुःखको यस्ता गीतहरू कति जन्मिए होलान् ? नजुरेको साइत मृत्यु नै होला । भौतिक जीवनको अन्त्य मात्र मृत्यु नहोला । नयाँ निर्माण हुनु पनि होला । मृत्युअघिको जीवनमा आ–आफ्नै लय हुन्छ । हामी सबै भोगाईकन लयमा बाँधिएका हुन्छौ ।
पक्का नेपाली गीत सङ्गीत दूर दराजको गाउँहरूमा पनि हराउँदै गइरहेको छ । साँचो नेपाली गीत सङ्गीत अव कति रहला ? कसले जगेर्ना गर्ला ? नयाँ पुस्ताका सेन्मिखाहरु कति होलान् ? अब जन्मिन्छन् कि जन्मिँदैनन् ? हाम्रो गीत सङ्गीतको असली पहिचान कसरी र कसले बचाउला ? हामीले बहस गर्न पर्ने बेला आई सकेको छ । जब मूल्यसँग कला, गीत र सङ्गीतको लेखाजोखा हुन थाल्छ त्यसपछि असली चिज विस्थापित हुँदै जाने रहेछ ।

बिर्तामणि दाजै र उहाँको साथीसँग गोठाले जीवनको बारेमा संवाद गर्दै अघि बढ्यौं । गोठहरू सकिँदै गएको बताउनु भयो । करिब बिस मिनेट पछि हामी छुटियौं । करिब डेढ घण्टापछि मुन्दुम पथको अस्थायी क्याम्पमा पुग्यौ । धोद्रे भन्दा ५–६ समय मिटर माथि क्याम्प निर्माण गरेका रहेछन् । पथ निर्माण गर्नेहरू समुहरुमा बाँडिएका रहेछन् । कवि भाइ र सेन्मिखा नातिको समूहमा सबै भन्दा पाको हुनुहुँदो रहेछ, ‘खड्ग राना मगर (काका) ।’
हामी पुग्दा खाना तयार भइसकेको थियो । अघिल्लो दिन नै कवि भाइलाई खाना बनाई मागेका थियौं । निःशुल्क खाना खानु अगाडि हामीले लगेका कोसेलीहरू खड्ग ९काका०लाई दियौ । स्वादिलो दाल, भात र आलुको तरकारी खायौं । वरिपरि तम्बुहरू टाँगिएको थियो । एउटा तम्बु पाविहाङ सरको रहेछ । जाँचबुझ गर्न आउँदा त्यहाँ बस्नु हुँदो रहेछ । अर्को रहेछ, ‘इन्जिनियर’को । उनको तम्बु चाहिँ जनयुद्धमा सहिद भएको कामरेडहरुको चिहान छेउमा रहेछ । नयाँ ठाउँ, त्यसमाथि पनि महिला भएकोले उनलाई चिहानको बारेमा नभनेका रहेछन् । जम्मा ३–४ जना कामरेडहरुको त्यस ठाउँमा चिहान रहेछ ।

५–६ सय मिटर तल रहेको धोद्रेबाट पानी ल्याउनु पर्ने रहेछ । धोद्रेमा केही दोकान र गोठहरू रहेछ । हामी पुग्दा अधबैँसे दिदी र दुई जना केटीहरू एउटा घरमा थिए । सायद दिदीको छोरीहरू हुनु पर्छ । साथीहरूले त्यहाँ मही पिए । कसैले बोतलमा मही भर्दै थिए । चखियामा मही पाउँदैन कि के हो भने । नरराज भतिजले भन्यो, ‘कसैले बनाउँछ होला नत्र चियामा नै पो ठिक्क हुन्छ ‘बाङ ।’

अधबैँसे दिदी र केटीहरूसँग सेन्मिखा गीत गाउँदै जिस्किँदै थियो । म, नरराज, मेरिसा, पाण्डव, मिलनको समूह त्यहीबाट फर्कने भयौं । कोही साथीहरू हाँस पोखरीसम्म जाने भनिरहेका थिए । हाम्रो पछिपछि रुमिश पनि आयो । सबैलाई त्यही छाड्यौं । क्याम्पको तम्बुहरू र कामरेडहरुको चिहानहरूलाई हेर्दै फर्कियौ ।

मिलनको पिसले हामीलाई बाटो काटेको पत्तै भएन । मेरिसा भान्जी हाँसेर झन्डै विहोसै भइन् । धेरैले भुँडीको कसरत गर्न पाए । मेरिसा भान्जी त मिलनको अनुहार हेर्न साथ हाँस्ने भई सकेकी थिइन ।

भोलि पल्ट किस्सा सुन्यौ । अधबैँसे दिदीसँग भएको दुई बहिनीमा एक बहिनिलाई सेन्मिखाले झन्डै घर ल्याएको । सेन्मिखाको काका माइला प्रकाश नभएको भए सेन्मिखाले पक्कै बिहा गर्थ्यो ।

मुन्दुम पथलाई पछ्याउँर्दै जाँदा सुन्दर दृश्यहरूले जो कोहीलाई मजैले छुन्छ । मैले पटक–पटक जीवन साथी सीमालाई सम्झिए । मिलनले पनि रेणुकालाई सम्झियो । उसो त हुनेवाला बुहारीलाई पनि नरराज भतिजले सम्झियो नै । पाण्डवले पनि मनितालाई सम्झिएको हुनुपर्छ । मेरीसाले चाहिँ सम्झियो वा या सम्झिएन हुनेवाला ज्वाइँलाई रु पाँच–छ दिनको साथ सामल र तम्बुको व्यवस्था सहित पथ यात्रा गर्न सके गज्जब हुने रहेछ । पथ निर्माण अभियानमा लागेका सबैलाई सम्झियौं ।
पथ निर्माण गर्ने कर्मवीरहरूको कला र श्रमलाई सबैले सम्झने नै छन् । ट्याम्के मैयुङ गाउँपालिकाको अध्यक्ष ध्रुर्व (धुर्वे) राईलाई सम्झियौं । पावीहाङ राईलाई सम्झियौ । श्याम साङसोहाङ (हाल वेलायत) लाई पनि उति नै सम्झियौं । मुन्दुम पथ यात्रामा निस्केका सबै यात्रीहरूले सबैको योगदानलाई पक्कै सम्झने छन् । उक्त यात्रा गएकाहरू फेरी पनि जाने बाचा गर्ने छन् । यदि तपाई जानु भएको छैन भने जीवनमा एउटा भूल हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार