हजारौँ
सङ्घर्ष र रगतले रञ्जित
पसिना अनि आँसुले सिञ्चित
सम्भावनाहरूको अर्को नाम
सौन्दर्ययताको पर्याय
मेरो जन्मभूमि हो भोजपुर
वीर ,वीरङ्गना ,विभूति ,संस्कार
र संस्कृतिको महासागर
हजारौँ उल्झनहरू छिचोल्दै
गन्तव्य तय गर्न
मेरो कर्मभूमि हो भोजपुर ।
तिम्रै शरीरको अवयव हुँ म
अनि मेरो शरीरमा बगिरहने
रगतको पल्मोनरी तिमी
तिमीबाट अलग्गिएर म भित्र
पूर्णता खोज्नु ,आफ्नै अस्तित्व
बेच्नु हो ,आफैलाई सिद्ध्याउनु
अनि कसैको गुलाम बन्नु हो।
हरेक प्रहरहरूमा
समयको निरङ्कुश प्रहार द्वारा
कति प्रताडित थिएँ म र पनि
तिम्रै सौन्दर्यको माधुर्ययतामा
मोहित माहुरी बनी
समयले दिएको अनेकन्
थप्पडहरू पचाइ रहेँ ।
हो तिमीसँग त्यही प्रेम छ
त्यही अपनत्व अनि त्यही स्नेह छ
जो अरूसँग छैन
तिमी एक थोपा
पञ्चामृत जस्तै छौ
जसलाई
एक थोपा शिरमा दलेर
एक थोपा पिउँदा
अलौकिक आनन्द मिल्ने
साँच्चै स्वर्ग भूमि हो भोजपुर ।
तिम्रै वक्षस्थलमा नतमस्तक
निदाउन मन लाग्छ
तिम्रै सुन्तले , टेम्के
अनि चखेवा भन्ज्याङ
अङ्गालो हालेर
सुस्ताउन मन लाग्छ
तिम्रै बालुवामा सुन
फलाउन मन लाग्छ
तिम्रै माटोको टीका लगाएर
भोजपुरे भनाउन मन लाग्छ ।
भाेजपुर नगरपालिका,-४ दावा