तीन महिनाभित्रै ई–पासपोर्ट


काठमाडौँ । राहदानी विभागले आगामी तीन महिनाभित्र ई–पासपोर्ट जारी गर्ने तयारी गरिरहेको छ । ईपासपोर्टको डिजाइन यही महिनाको अन्तिम सातासम्ममा पूर्ण हुनेछ । विभागले सबै तयारी अघि बढाएको छ । कोभिडका कारण मेसिन आपूर्तिमा ढिलो नभए भदौको अन्तिम सातादेखि ई–पासपोर्ट जारी हुने विभागको दाबी छ ।

राहादानी विभागका अनुसार पासपोर्टको बुकलेट तयार भइसकेकाले यसलाई अन्तिम रूप दिने काम भइरहेको छ । पासपोर्टको डिजाइन तयार भएपछि मेसिन त्यहीँ अनुसार बनाइने विभागका प्रवक्ता राजेन्द्र पाण्डेले जानकारी दिए । पासपोर्टका लागि कम्पनीले काम गरिरहेको छ, हामी नियमित भर्चुअल छलफलमा छौ, उनले भने, सम्वभतः यही महिनाको अन्तिम सम्ममा पासपोर्टको सबै डिजाइन फाइनल गर्नेछौ ।

तत्काल सेवाग्राहीलाई तीन वर्षका लागि पुग्‍ने पासपोर्ट बनाएर वितरण गरिने पाण्डेले बताए । तीन वर्ष पछाडि नयाँ प्रक्रिया यही प्रकारको ई(पासपोर्ट बनाउन सकिने उनले बताए । अर्को कम्पनीबाट बनाउन होस या नेपाल भित्रै सुरक्षा प्रेस राखेर होस काम त्यो नयाँ ढाँचामा जान सकिन्छ । सरकारले आफ्नै प्रेस सेक्युरिटी बनाएर पनि निर्माण गर्न सक्छ वा अन्य गृहकार्य पनि गर्नुपर्ने हुन्छ, उनले भने ।

आइडेमिया आइडेन्टिटी एन्ड सेक्युरिटी फ्रान्सेली कम्पनीले २ करोड ११ लाख अमेरिकी डलर बराबरको ठेक्का पाएको थियो । करिब साढे २ अर्ब रुपैयाँ बराबर लागतमा निर्माण गर्न लागिएको ई–पासपोर्ट कुनै बाध्‍यकारी नियम भने होइन । अन्तर्राष्ट्रिय नागरिक उड्डयान संगठन (आईकाओ) ले २०३० सम्ममा संसारभर पर्यटकको संख्या वृद्धि हुने अनुमान गरेको र ई–पासपोर्ट सहज हुने बताएको थियो ।

ई–पासपोर्ट दुइ थरी हुने

प्रवक्ता पाण्डेले ई(पासपोर्ट दुई प्रकारको हुने बताए । उनका अनुसार एक खाले अहिलेको जस्तै ३४ पृष्ठकै हुने छ भने अर्को ६६ पृष्ठको हुनेछ । कम यात्रा गर्नेले अहिलेको जस्तै पातलो र बढी ट्राभल गर्नेले बढी पृष्ठको पासपोर्ट लिन सक्नेछ । ३४ पेजको पासपोर्टको अहिले कायम राजश्‍व लाग्‍नेछ भने ६६ पृष्ठको पासपोर्टको लागि झण्डै दोब्‍बर मूल्य तोक्ने तयारी विभागको रहेको उनले बताए ।

अहिले एमआरपी हुनेले तत्काल ई(पासपोर्ट बनाउन पर्दैन । पृष्ठ सकिएको र म्याद सकिएकाले अर्को लिँदा हुन्छ । वार्षिक साढे ६ लाख पासपोर्ट जारी हुने हुनाले त्यही आधारमा तीन वर्षका लागि २० लाख सेवाग्राहीलाई पुग्‍नेगरी पासपोर्ट बनाउन टेण्डर गरेको हो ।

अनलाइनबाटै आवेदन

आइकाओको प्रावधान अनुसार एकै ठाउँबाट सुरक्षितसाथ वितरण गरिने व्यवस्था मिलाउन सरकारले ई-पासपोर्टको अवधारणा अघि बढाएको हो । ई–पासपोर्ट साथमा भए विमानस्थलको ई–गेटबाट सहजै प्रवेश पाउने छन् । तर सबै विमास्थलमा यस्ता गेट राखिएको छैन । पासपोर्टमा भएको डाटा, अनुहार र आँखा मिल्नासाथ विमानस्थलबाट पर्यटकले प्रवेश पाउन सक्नेछ।

पासपोर्टमा जीपीआरएस सेट गरिँदैन । नागरिकको स्वतन्त्र रूपमा हिँडडुल गर्न पाउने अधिकारलाई विभागले नियमन गर्दैन प्रवक्ता पाण्डे भन्छन, पासपोर्टमा भएको सानो चिप्समा नागरिकको सम्पूर्ण विवरण हुन्छ ।यसले गर्दा पासपोर्ट निकै जतन र सुरक्षित गरेर राख्‍नुपर्छ ।

राहदानीवाहकको नम्बर हान्‍नेवित्तिकै सम्पूर्ण विवरण प्राप्‍त गर्न सकिनेछ । ई–पासपोर्टको दुरुपयोग हुन नसक्ने उनको भनाइ छ । विगतमा एक व्यक्तिको पासपोर्ट अन्य व्यक्तिले प्रयोग गरी भ्रमण निस्कने गरेकोमा ई–पासपोर्टले त्यस्ता कार्यलाई निरुत्साहन गर्ने उनको विश्‍वास छ । हुनत, एमआरपीमा पनि त्यो सम्भव छैन् । तर पासपोर्टको बेसिक डकुमेन्ट नै फेक बनाएर ल्याउँदा त्यो सबै सुरक्षा यहाँ भनेजस्तो रहँदैन ।

विदेशस्थित विभिन्‍न कूटनीतिक नियोगबाट ई–पासपोर्टबाट अहिले जस्तै आवेदन दिन सकिने उनले जानकारी दिए । एमआरपी पासपोर्ट लिन कागजपत्र पेस गरेर पठाउनुपर्थ्यो भने यसका लागि सम्पूर्ण कागजपत्र इन्टरनेटबाट आउनेछ ।

के हो ई–पासपोर्ट ?
संसारका एक सय बढी मुलुकले यो पासपोर्ट प्रयोगमा ल्याइसकेका छन् । नेपालले हातले लेखेको पासपोर्टलाई नेपालले ११ वर्ष अघि मेसिन रिडेबल पासपोर्टले विस्थापित गरेको थियो । त्यतीबेलै सरकार ई(पासपोर्टमा जान सक्ने भए पनि चरणबद्ध रूपमा अघि बढेर राज्यलाई दोहोरो मारमा पार्ने काम भयो । एमआरपीको लाइभ इनरोलमेन्ट ९प्रत्यक्ष उपस्थित भएर विवरण दिने० नै राम्रो प्रयोगमा आउन सकेको छैन ।

यसका लागि अनिवार्य लाइभ इनरोलमेन्ट आवश्यक पर्छ । यो एमआरपी भन्दा एक तह माथी अर्थात यसमा चिप्स हुन्छ । चिप्समा नागरिकको सम्पूर्ण विवरण राखिएको हुन्छ । आँखा,फिंगर प्रिन्टको विवरण समावेश गरिएको हुन्छ । जुन कार्य एमआरपीमा पनि थियो । त्यो बारकोडमा थियो यसमा चिप्ससहित हुन्छ । अनलाइनबाट आवेदन दिए पनि भर्चुअल वा प्रत्‍यक्ष विवरण यसमा राख्‍न पर्ने हुन्छ । त्यसको प्रभावकारीताको आधारमा यो कति सुरक्षित छ स्पष्ट हुने एक अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार