काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहका सबै प्रभावशाली नेताले १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने आकांक्षा व्यक्त गरेका छन् ।
सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनमा फेरि नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने भन्दै तयारी थालेको एक सातापछि शुक्रबार काठमाडौंमा आयोजित संस्थापन इतर पक्षको भेलामा नेता रामचन्द्र पौडेलसहित सबै प्रभावशाली नेताले नेतृत्वमा दाबी गरेका हुन् ।
भेलामा १३ औं महाधिवेशनमा देउवासँग सभापतिमा पराजित पौडेलले १४औं महाधिवेशनमा आफूलाई सभापतिको उम्मेदवार बन्ने अवसर दिनुपर्ने बताए। निकटहरूलाई गोलबद्ध गरेर नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रन पौडेललाई हम्मेहम्मे पर्ने विश्लेषण भइरहेका बेला आयोजित संस्थापन इतर भेलामा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्रीद्वय रामशरण महत र अर्जुननरसिंह केसी, शेखर कोइराला र सुजाता कोइरालाले पनि नेतृत्वका लागि दाबी पेस गरे ।
महत र केसीले नेतृत्वका लागि दाबी पेस गर्दै सहमतिका लागि भने बाधक नबन्ने बताए। संस्थापन इतर समूहबाट एकभन्दा बढी उम्मेदवार भए आफूहरू पनि उम्मेदवार बन्ने महत र केसीले बताएका थिए । पौडेलले आफू र सभापति देउवालाई एकै ठाउँमा राखेर नहेर्न भन्दै नेतृत्वमा पुग्न सहयोगका लागि आग्रह गरेको स्रोतको दाबी छ । पौडेलले सुरक्षित लोकतन्त्र र व्यवस्थित पार्टी आफ्नो चाहना रहेको बताएको जानकारी एक सहभागीले दिए ।
महामन्त्री शशांकले पार्टी नेतृत्वका लागि आफू स्वाभाविक दाबेदार रहेको बताउँदै तीन नेताबीच भइरहेको छलफलको जानकारी भेलालाई गराएका थिए । पूर्वमहामन्त्री सिंहले आफूले नेतृत्वको प्रतिस्पर्धामा रहेको जानकारी नेताहरूलाई धेरै पहिलादेखि गराउँदै आएको बताउँदै कार्यकर्ताले अब देउवाबाट मात्र होइन, पौडेलबाट पनि पार्टी चल्दैन भन्न थालेको धारणा राखेका थिए ।
नेपाल विद्यार्थी संघबाट राजनीतिमा आएका उनले पनि आफूलाई पार्टीको नेतृत्वमा पुग्न सहयोग गर्न आग्रह गरेका थिए । त्यस्तै, नेता शेखरले पनि नयाँ र पुरानो पुस्तालाई जोडेर सशक्त कांग्रेस बनाउन आफूले मात्र सक्ने भन्दै सहयोग गर्न आग्रह गरेका थिए । उनले आफू १५ औं महाधिवेशनमा सभापतिको दौडमा नहुने तर अहिले उम्मेदवार बन्ने बताउँदै सहयोग गर्न र पौडेलसहितका नेताहरूलाई संरक्षकको भूमिका निर्वाह गर्न आग्रह गरेको स्रोतको दाबी छ ।
भेलामा सहभागी केन्द्रीय सदस्यहरूले संस्थापन इतर समूहबाट एउटामात्र उम्मेदवार बनाउनुपर्नेमा जोड दिएका थिए । उनीहरूले नेताहरूलाई समझदारीमा एक जनाले मात्र उम्मेदवारी दिने वातावरण बनाउन सुझाएका थिए ।
जबाफमा सभापतिका आकांक्षी नेताहरूले सहमतिका लागि प्रयास जारी रहेको बताएका थिए । ‘नेताहरूले नेतृत्वका लागि दाबी पेस गर्नु भएको छ,’ भेलामा सहभागी केन्द्रीय सदस्य बद्री पाण्डेले भने, ‘तर उहाँहरूले सहमतिका लागि प्रयास गरिरहेको र मिलेर नै उम्मेदवारी दिन्छौं पनि भन्नुभएको छ ।’ भेलामा पार्टी क्रियाशील सदस्यता छानबिनलगायतका विषयमा पनि छलफल भएको थियो ।