काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । उनले शुक्रबार आफूनिकट केन्द्रीय सदस्यहरुको बैठकमा एकपटकका लागि सभापतिमा सहयोग गर्न आग्रह गरेका हुन् ।
‘एकपटकका लागि कांग्रेसको नेतृत्व गर्ने इच्छा छ, त्यसका लागि तपाईहरुले मलाई सहयोग गर्नुपर्यो,’ पौडेलले बैठकमा भने, ‘मलाई शेरबहादुरजीसँग दाँजेर हेर्नु भएन । मैले न पार्टीको नेतृत्व गर्न पाएको छु, न सरकारको ।’
कांग्रेसभित्र सभापति देउवा र वरिष्ठ नेता पौडेलले नेतृत्वबाट अवकास लिनुपर्ने कतिपय नेताहरुले धारणा राख्दै आएका छन् । पौडेलले आफूलाई देउवासँग नदाज्न आग्रह गर्दै आफू नेतृत्वका लागि टेष्ट नभइसकेका जीकिर गरे । ‘देउवाजीसँग मलाई दाजेर एउटै बास्केटमा नराख्नूस्,’ उनले भने ।
१४ औं महाधिवेशन नजिकिएसँग नेतृत्वका दौडधुप सुरु भएको हो । कांग्रेस सभापति देउवा र उपसभापति विमलेन्द्र निधिले तयारी तीव्र पारेपछि बरिष्ठ नेता पौडेलले भने सक्रियता बढाएका हुन् ।
उनले आफूनिकट केन्द्रीय सदस्यहरुसँग सभापतिमा सहयोग गर्न आग्रह गरेका हुन् । तर संस्थापनइतर समूहबाट आधा दर्जन बढिले नेतृत्वका लागि दावी गरे ।
कांग्रेस महामन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा। शेखर कोइराला, सुजाता कोइराला, अर्जुननर सिंह केसी, डा रामशरण महत र कल्याण गुरुङले नेतृत्वमा दावी गरे ।