रोकिएका सिरियल धमाधम प्रशारण हुने तयारीमा, तर सहज छैन छायांकन


कोभिड–१९ को दोश्रो लहर शुरु भएसँगै उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा लागू गरियो । निषेधाज्ञाले अन्य क्षेत्र जस्तै नेपाली मनोरञ्जन क्षेत्र पनि प्रभावित बन्न पुग्यो । नेपालका विभिन्न टेलिभिजनबाट प्रशारण हुँदै आएका टेलिसिरियलहरु पनि निषेधाज्ञाको मारमा परे ।

केही टेलिसिरियलले स्टक भाग खिचेका हुनाले निषेधाज्ञाको केही सातासम्म नियमित प्रशारण भए । कुनै टेलिसिरियल भने छायांकन सम्भव नहुँदा निषेधाज्ञासँगै प्रशारण रोक्नुपर्ने बाध्यतामा पुगे । कुनै टेलिसिरियल भने निषेधाज्ञाको समयमा पनि नियमित प्रशारणमा रहे ।

सरकारले डेढ महिनापछि मंगलबारदेखि निषेधाज्ञा खुकुलो बनाएको छ । निजी सवारी साधन जोर–विजोरमा चल्न दिइएको छ । योसँगै रोकिएका टेलिसिरियल नियमित प्रशारणमा आउने भएका छन् । टेलिसिरियललाई नियमित प्रशारणमा ल्याउने तयारीमा निर्माण टिम जुटेका छन् ।

हाँस्य टेलिसिरियल ‘सक्किगोनी’ निषेधाज्ञा सुरु भएको अर्को सातासम्म प्रशारण भयो । त्यसपछि भने छायांकन गर्न सम्भव नभएपछि एक महिनाभन्दा लामो समय टेलिसिरियलको प्रशारण रोकियो ।

अब भने टेलिसिरियल नियमित प्रशारणमा आउने भएको छ । आगामी सातादेखि ‘सक्किगोनी’लाई नियमित प्रशारणमा ल्याउने तयारी भएको टेलिसिरियलका लेखक, निर्देशक एवं कलाकारसमेत रहेका कुमार कट्टेलले जानकारी दिए । उनी अहिले नयाँ भागका लागि कथामा काम गरिरहेका छन् ।

‘अहिले कथामा काम गरिरहेका छौं । दुई–तीन दिनमा छायांकन गरेर आगामी सातादेखि नियमित प्रशारणमा ल्याउँछौं’– कट्टेलले अनलाइनखबरसँग भने ।

‘सक्किगोनी’लाई अर्जुन घिमिरे र कुमार कट्टेलले लेखन तथा निर्देशन गर्दै आएका छन् । हिमालय टेलिभिजनमा हरेक बिहीबार बेलुका ८ बजे प्रशारण हुँदै आएको टेलिसिरियलमा अर्जुन र कुमारका साथमा कमलमणि नेपाल, दीपक आचार्य, सागर लम्साल, हरि निरौला, गोविन्द कोईराला, मधुसुदन पाठक, प्रियाना आचार्य लगायतका कलाकारको अभिनय रहँदै आएको छ ।

हाँस्य टेलिसिरियल ‘हर्के हल्दार’को प्रशारण निषेधाज्ञा सुरु भएसँगै रोकिएको थियो । झण्डै डेढ महिना रोकिएको टेलिसिरियल आगामी आईतबारदेखि प्रशारणमा आउने भएको छ । टेलिसिरियलका निर्देशक एवं कलाकार ईन्द्र दोङ् लामाले आगामी आइतबारदेखि टेलिसिरियललाई नियमित प्रशारणमा ल्याउने बताए ।

‘अधिकांश कलाकार काठमाडौंमै हुनुहुन्थ्यो । घर जानुभएका कलाकारहरु पनि फर्किसक्नुभयो’ उनले भने, ‘हामीले छायांकन पनि गरिसकेका छौं । आगामी आईतबारदेखि टेलिसिरियल नियमित प्रशारणमा आउँछ ।’

शिव शर्माको लेखन, विष्णु सापकोटा र ईन्द्र दोङ लामाको निर्देशन रहेको टेलिसिरियलमा विष्णु सापकोटा शीर्ष भूमिकामा प्रस्तुत हुँदै आएका छन् । त्यस्तै शिवहरी बैरागी, रोशनी सापकोटा, सुरेन्द्र केसी, शिव शर्मा, ईन्द्र दोङ लामा, सरु दाहाल लगायतका कलाकारको अभिनय रहँदै आएको छ । टेलिसिरियल कान्तिपुर टेलिभिजनमा हरेक आईतबार बेलुका ९ बजे प्रशारण हुँदै आएको थियो ।

सामाजिक विषयवस्तुमा निर्माण हुँदै आएको टेलिसिरियल ‘जुठे’ निषेधाज्ञाको लामो समयसम्म प्रशारणमा रह्यो । केही भाग ‘स्टक’ खिचेकाले टेलिसिरियललाई निषेधाज्ञाको एक महिनासम्म समस्या भएन । तर, निषेधाज्ञा लम्बिँदै जाँदा पछिल्लो दुई सातादेखि टेलिसिरियलको प्रशारण बन्द छ ।

यद्यपी, निषेधाज्ञा खुकुलो भएसँगै अब भने टेलिसिरियल प्रशारणमा आउने निर्माण टिमले जनाएको छ । टेलिसिरियलका लेखक तथा निर्देशकमध्येका एक मरिचमान श्रेष्ठ आगामी शुक्रबार आफूहरुले छायांकन सुरु गर्ने बताउँछन् । उनका अनुसार आगामी साताबाट ‘जुठे’ नियमित प्रशारणमा आउनेछ ।

टेलिसिरियलले उठाएको विषयवस्तुमा दलित समुदायका केही अभियन्ताले गुनासो समेत गरेका थिए । मरिचमान सो गुनासोलाई सम्बोधन गर्दै आगामी भागलाई परिस्कृत गर्दै लैजाने बताउँछन् ।

मरिचमान र राजु पौडेलको लेखन तथा निर्देशन रहेको ‘जुठे’ हिमालय टेलिभिजनमा बुधबार बेलुका ८ बजे प्रशारण हुँदै आएको छ । टेलिसिरियलमा मरिचमान र राजुका साथमा रवि गिरी, बिद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मीला शर्मा लगायतका कलाकारहरु देखिँदै आएका छन् ।

हाँस्य टेलिसिरियल ‘भद्रगोल’ पनि निषेधाज्ञाको मारमा पर्यो । निषेधाज्ञासँगै झण्डै एक महिना टेलिसिरियलको प्रशारण रोकियो । अब भने, टेलिसिरियल छायांकन गरेर प्रशारणमा ल्याउने तयारीमा निर्माणपक्ष छ ।

यसका निर्देशक एवं कलाकार शंकर आचार्यले आगामी शुक्रबारदेखि टेलिसिरियल नियमित प्रशारणमा आउने जानकारी दिए । ‘यो शुक्रबार प्रशारण हुँदैन । अर्को शुक्रबारदेखि नियमित प्रशारणमा ल्याउँछौं’ उनले भने ।

‘भद्रगोल’ नेपाल टेलिभिजनमा शुक्रबार साँझ ८ः४५ बजे प्रशारण हुँदै आएको छ । टेलिसिरियलमा शंकर आचार्यका साथमा मुकुन्द थापा, माधव आचार्य, यादव देवकोटा, राजु भूजेल, दीपिका थापा लगायतको अभिनय छ ।

निषेधाज्ञासँगै प्रशारण रोकिएको अर्को टेलिसिरियल ‘अति भो’ पनि अब नियमित प्रशारणमा आउने भएको छ । आगामी शनिबारदेखि टेलिसिरियल नियमित प्रशारणमा आउने यसका निर्देशक सुरज खनालले जानकारी दिए । ‘आगामी भाग छायांकन गरिसक्यौं । अब नियमित रुपमा नयाँ भाग प्रशारण हुन्छ’– उनले भने । एनटिभी प्लसमा शनिबार बेलुका ९ बजे प्रशारण हुँदै आएको टेलिसिरियलमा खड्ग बहादुर पुन, रियाशा दाहाल, तिलक कोइराला, सुरज खनाल लगायतको अभिनय रहँदै आएको छ ।
निषेधाज्ञासँगै रोकिएका अन्य टेलिसिरियल पनि नियमित प्रशारणको तयारीमा जुटेका छन् ।

निषेधाज्ञामा पनि रोकिएनन् ‘हल्का रमाईलो’ र ‘मेरी बास्सै’
मरिचमान श्रेष्ठ र राजु पौडलको लेखन, निर्देशन एवं अभिनय रहेको हाँस्य टेलिसिरियल ‘हल्का रमाईलो’ भने निषेधाज्ञामा पनि नियमित प्रशारण भयो । निषेधाज्ञाको समयमा पनि छायांकन सम्भव भएकाले टेलिसिरियलको प्रशारण रोक्नु नपरेको मरिचमानले बताए ।

उनका अनुसार कम बस्ती भएको स्थानमा सानो टिममा सावधानी अपनाउँदै टेलिसिरियलको छायांकन गरिएको हो । ‘हल्का रमाईलो’ नेपाल टेलिभिजनमा हरेक आईतबार प्रशारण हुँदै आएको छ । टेलिसिरियलमा मरिचमान र राजुका साथमा शारदा गिरी, कृष्ण सिवाकोटी, शम्भु थापा, अनिता बस्नेत लगायतको अभिनय छ । अनलाइनखबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार